लघुकथा: बहाना
✍️ मुरारीराज मिश्र `हजुर ! घरमा भ्यान आउँदैछ....´ उताबाट परिचित आवाजले हड्बडाउँदै रमेशलाई सूचना दियाे । सूचना पाए लगत्तै रमेशले कतै फाेन गरे । `नआत्तिनुस्, तैयार रहनु, म छिट्टै आइपुग्छु ।´ उताकाले भने । पाँच मिनेटमा सुविधा सम्पन्न एम्बुलेन्स घरमा आइपुग्यो । घरबाट रमेशलाई लिएर साइरन बजाउँदै एम्बुलेन्स निस्कनु र प्रहरी भ्यान आइपुग्नु एकैपटक पर्यो । ढाेकामा दुबैकाे जम्काभेट भयाे । प्रहरी निरीक्षकले भ्यानबाट ओर्लेर एम्बुलेन्सकाे झ्यालभित्र नियाले, रमेश अक्सिजन मास्क लगाएर सुतेका देखिन्थे । संगै रहेका चिकित्सक उनको प्रेसर चेक गर्दै थिए । निरीक्षकले चिकित्सकतर्फ प्रश्नवाचक आँखाले हेरे । `गम्भीर हृदयाघात ...।´ चिकित्सकले हतारिंदै जवाफ दिए । याे सुनेर प्रहरी निरीक्षकले एम्बुलेन्सलाई अगाडि बढ्ने संकेत गरे । एम्बुलेन्स द्रुतगतिमा अघि बढ्यो । प्रहरी निरीक्षक सञ्चार सेटबाट माथिल्लो निकायलाई जानकारी गराउन व्यस्त भए । एम्बुलेन्स केही पर पुगेपछि रमेशले अक्सिजन मास्क झिके । चिकित्सक र बिरामी दुबै मुसुक्क हाँसे । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) prahari ma prakashit