लघुकथा: बहाना

        ✍️ मुरारीराज मिश्र

`हजुर ! घरमा भ्यान आउँदैछ....´ उताबाट परिचित आवाजले हड्बडाउँदै रमेशलाई सूचना दियाे ।

सूचना पाए लगत्तै रमेशले कतै फाेन गरे ।
`नआत्तिनुस्, तैयार रहनु, म छिट्टै आइपुग्छु ।´ उताकाले भने  ।

पाँच मिनेटमा सुविधा सम्पन्न एम्बुलेन्स घरमा आइपुग्यो ।

घरबाट रमेशलाई लिएर साइरन बजाउँदै एम्बुलेन्स निस्कनु र प्रहरी भ्यान आइपुग्नु एकैपटक पर्‍यो । ढाेकामा दुबैकाे जम्काभेट भयाे ।
 
प्रहरी निरीक्षकले भ्यानबाट ओर्लेर एम्बुलेन्सकाे झ्यालभित्र नियाले, रमेश अक्सिजन मास्क लगाएर सुतेका देखिन्थे । संगै रहेका चिकित्सक उनको प्रेसर चेक गर्दै थिए । निरीक्षकले चिकित्सकतर्फ प्रश्नवाचक आँखाले हेरे ।

`गम्भीर हृदयाघात ...।´ चिकित्सकले हतारिंदै जवाफ दिए ।

याे सुनेर प्रहरी निरीक्षकले एम्बुलेन्सलाई अगाडि बढ्ने संकेत गरे । एम्बुलेन्स द्रुतगतिमा अघि बढ्यो । प्रहरी निरीक्षक सञ्चार सेटबाट माथिल्लो निकायलाई जानकारी गराउन व्यस्त भए ।

एम्बुलेन्स केही पर पुगेपछि रमेशले अक्सिजन मास्क झिके । चिकित्सक र बिरामी दुबै मुसुक्क हाँसे ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

prahari ma preshit

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...