कर्मकाे फल :

भीष्म पितामह रणभूमिमा शरशैयामा लडिरहेका थिए । अलिकति यताउती सर्दा शरीरभित्र पसेका तीरहरूका कारण ठूलो पीडा हुनुका साथै रगतको धारा बग्थ्याे ।

यस्तो अवस्थामा सबैजना उनलाई भेट्न आएका थिए । श्रीकृष्ण पनि दर्शन गर्न आएका थिए ।

कृष्णलाई देखेर भीष्मले मुसुक्क हाँस्दै भने ‘हे जगन्नाथ आउनुस् ! मलाई भन्नुहोस्, मैले त्यस्तो के पाप गरेछु, जसको लागि मलाई यति भयानक सजाय प्राप्त भयो ?´

कृष्णले भन्नुभयो `पितामह ! तपाईंसँग आफ्नो पूर्वजन्म हेर्न सक्ने शक्ति छँदैछ ! त्याे त, तपाईँ आफैले पनि देख्न सकिहाल्नु हुन्छ नि !´

भीष्म : `देवकी नन्दन ! मैले अहिलेसम्म आफ्ना १०० जन्म हेरिसकेको छु, ती १०० जन्महरूमा एउटा पनि कर्म त्यस्तो गरेको छैन, जसको फलस्वरूप मैले याे अवस्थामा रहनुपर्ने हाेस् !´

कृष्ण : `हे कुरुश्रेष्ठ ! यदि तपाईं अझै एक जन्म पछाडि जानुभयो भने, तपाईंले आफ्नो जवाफ पाउनुहुनेछ ।´

भीष्मले ध्यानदृष्टिले हेरे । देखे कि, १०१ ओैं वर्ष पहिले उनी एक नगरको राजा थिए ।
एकदिन आफ्ना सिपाहीहरूको समूहसँग बाटोमा कतै जाँदै गरेको बेला, एक सिपाही दौडिएर आयो र  भन्यो, "महाराज ! बाटोमा एउटा सर्प पुरै बाटो ढाकेर लमतन्न सुतिरहेको छ, हाम्रो फौज त्यसमाथिबाट गयो भने त्याे मर्छ हजुर !´

राजाले भने- "एउटा काम गर, त्यसलाई काठले बेरेर उठाउ र झाडीमा फालिदेऊ।´ सिपाहीले राजाज्ञाकाे पालना गरे । सर्पलाई लट्ठीमा बेरेर झाडीमा फालियो ।

दुर्भाग्यवश, झाडी काँडेदार थियो। त्यसमा सर्प अड्कियो । काँडाबाट बाहिर निस्कने जति कोसिस गर्‍याे, सर्प त्यति नै फस्दै गयाे । उसको शरीरमा काँडाहरु अड्किएर रगत बग्न थाल्यो ।  पाँच-छ दिनको कठाेर पीडापछि उनको जीवन समाप्त भयो ।

भीष्मः `हे त्रिलोकी नाथ ! तपाईंलाई थाहा छ कि, मैले उसलाई जानाजानी मार्न खाेजेकाे होइन । मेरो उद्देश्य त त्यो सर्पलाई बचाउनु थियो ! म बाट अन्जानमा भएको त्यस घटनाको किन यस्ताे भयङ्कर परिणाम ?´

कृष्ण : `तातश्री ! चाहे जानाजानी वा नजानेर गरेपनि, कर्म त भयो नै ! सर्पले आफ्नो ज्यान गुमायाे । हामीले जुनसुकै काम गरे पनि त्यसको परिणाम ढिलाेचाँडाे भोग्नैपर्छ भन्ने विधिको विधान छ । तर, तपाईको पुण्य यति बलियो थियो कि त्यो पापको परिणाम देखिनका लागि यसले १०१ जन्मकाे समय लियो तापनि अन्ततः त्यो त भाेग्नै पर्‍यो !´

शिक्षा : हामीले पनि हाम्रो कर्मको फल अवश्य भोग्नुपर्छ । त्यसैले, हरेक दिनको गतिविधि सावधानीपूर्वक गराैं । जय श्री कृष्ण 🙏

प्रस्तुति : मुरामि

sarathi ma prakashit

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...