लघुकथा: ब्यापार
✍️ मुरारीराज मिश्र,
अहिले काँक्रा कति छन् हँ तेराे बारीमा ? प्रकाशले फाेनमा रमेशलाई साेध्याे ।
सय डेढसय किलो जति हाेलान् दाइ !
मलाई सबै पठा न त, अस्तिकै माेल दिन्छु !!
अस्तिकाे मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक !
हेर रमेश, मैैले पनि हाेला कि भनेर लगानी गर्ने हाे ! ढुवानी भाडा तिर्नै पर्यो । कति नै बच्छ र ? पच्चीस रुपैयाँ किलो भन्दा दिन सक्दिन । दिने भए रुटकाे त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु !
तपाईंले नलिएको भनेपछि अरुले पनि किन्दैनन्, यहाँ बजार छैन, बिक्दैन ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु ।
रमेशकाे कुरा सुनेपछि प्रकाशले तरकारीको थाेक ब्यापारीलाई फाेन गर्याे - ल भाइ, काँक्राे आउने भाे । बसवालालाई दुईहजार भाडा दिनु र किलोकाे सयकाे दरले मेरो खातामा पठाउनु ।
उ फाेन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्फताउँदै काेठामा छिरिन् - हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी ब्यापारीले ! नाथे काँक्राेकाे माेल पनि दुईसय रुपैयाँ किलाे रे बजारमा !!
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment