चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …

नियात्रा :
                       ✍️ मुरारीराज मिश्र

अयाेध्या, नैमिषारण्य र वृन्दावनकाे तेह्रदिने  भ्रमणबाट फर्केकाे दुई साता पनि भएको थिएन एकरातकाे लागि चित्लाङ घुम्न जाने जाने प्रस्ताव आयाे । शरीरले साथ दिएसम्म र अनुकूल मिलेसम्म घुम्न जानुपर्छ भन्ने मेरो धारणा रहेकोले साे प्रस्ताव नकार्ने कुरै भएन । पहिले पटकपटक गइसकेको ठाउँ भएतापनि सबैसँग जाँदा रमाइलो हुने भएकाले मैले जाने सहमति जनाएँ ।

चित्लाङका पुराना बासिन्दा पारिवारिक नाताभित्रका भाइ सुदर्शन लामिछानेले साझेदारीमा हालै नयाँ हाेमस्टे सञ्चालनमा ल्याएका रहेछन् । उनकाे हाेमस्टेकाे आतिथ्यता र आन्तरिक पर्यटन प्रवर्द्धन अन्तर्गत चित्लाङका स्थानहरूकाे अवलोकन गर्ने हाम्रो भ्रमणको मुख्य उद्देश्य थियोे । त्यहाँ जाने सवारीसाधनकाे व्यवस्था र सुदर्शन भाइसंगकाे समन्वयको काम कल्पना मिश्रबाट भएको थियोे । हामी १४ र चालकदलका २ गरि जम्मा १६ जना चित्लाङ भ्रमणमा जाने भएका थियौं । 

भ्रमणकाे निर्धारित दिन २०८१ साल पाैष ६ गते बिहानको खाना खाइवरी १० बजे सबैजना जम्मा भयाैं । चालक अरुण पाैडेलभाइ १०:१५ मा बस लिएर टुसाल मार्गस्थित पिपलबाेट रहेकाे तीनदाेबाटाेमा आइपुगे । हाम्रो टाेली तैयारी अवस्थामा थियोे । यहाँबाट सती सिलवाल, नारायणराज मिश्र, शर्मिला मिश्र, सरस्वती कट्टेल, कल्पना मिश्र, प्रमिला न्याैपाने, कल्पना कँडेल, सीताराम कँडेल, दिवाकर न्याैपाने, सराेज न्याैपाने, विजया न्याैपाने, मीना अर्याल र मुरारीराज मिश्र गरि १३ जना बसमा चढ्याैं । अब बाँकी एकजना सरस्वती रिसाल भाउजुलाई ललितपुरकाे बागडोलमा लिन जानुपर्ने थियोे । त्यसैले हामी गाैशाला, एयरपोर्ट, काेटेश्वर हुँदै सातदोबाटो तर्फ लाग्यौं । बाटोमा सवारीकाे चाप थियो । हामी पुग्न अगाडि नै भाउजु आएर हामीलाई कुरिरहनु भएकाे रहेछ । 

हामीले फर्पिङतिरकाे बाटोबाट चित्लाङ जाने साेच बनाएका थियाैं । तर हाम्रो सवारीसाधन भाडाकाे नम्बर प्लेटवाला भएकोले चित्लाङ जान  यातायात कार्यालयबाट पटके अनुमति लिनुपर्ने कुरा चालक अरुणभाइले बताए । त्यसको लागि ढुंगेअड्डा पुग्नु पर्ने रहेछ । बाध्यात्मक कारण भएकोले हामीले थानकोटकाे निर्माणाधीन बाटो नै प्रयोग गर्नुपर्ने देखियाे । ढुंगेअड्डामा पुगेर गाडीको पटके भ्रमण अनुमति लियाैं । 

सवारीसाधनकाे नविकरण गरेका सवारीलाई एउटा जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्न पनि चर्काे दस्तुर तिरेर पटकपटक अनुमति लिइरहनुपर्ने अवस्था देख्दा नमीठो लाग्यो । `सके देशभर र नसके कम्तीमा पनि एउटा प्रदेशभर त यस्तो पटके अनुमतिकाे प्रथा बन्द हुनु पर्छ´ भन्ने मनमा लाग्याे । फेरि, पर्यटन प्रवर्द्धनकाे चर्को नारा दिने तर काम भने फिटिक्कै नगर्ने राज्यका अङ्गलाई यस्ता ससाना समस्या उपर ध्यान दिने फुर्सद कहाँ हुन्छ हाेला भन्ने साेचेर चित्त बुझाएँ ।

यहाँकाे पसलमा खानेपानी किन्ने क्रममा ट्रान्सपाेर्ट कंपनीमा कार्यरत भाइ दीपेश काेइराला यातायात कार्यालय अगाडि भेटिए । धेरै समयपछिकाे भेट भएकाले केही समय आपसी पारिवारिक भलाकुसारी भए । अब हामी थानकोट तर्फ अघि बढ्यौं । पाैष महिना भएपनि बाताबरण तातिएकाे थियोे । बसभित्र दाेहाेरी गीत बजिरहेको थियोे । तर बसका मानिसहरु भने आआफ्नै धूनमा गफमा ब्यस्त थिए । खड्याङ् मड्याङ् बाटोमा धूवाँ र धूलो छिचोल्दै बस थानकोट पुगेर त्यहाँबाट वायाँतिरकाे उकालो लाग्याे । सुरुमा पक्की सडक र अधिकांश कच्ची निर्माणाधीन बाटो पार गरेपछि २५ मिनेटमा काठमाडौं र मकवानपुरकाे सीमा देउराली भञ्ज्याङमा पुगियो ।

बाटो खराब भएपनि वरिपरिका दृश्य भने चित्ताकर्षक देखिन्थे । हरियालीयुक्त डाँडाकाँडाका लहर, हिमाल, विभिन्न प्रजातिका रुखहरु रहेका वनजङ्गल र चराचुुरुङ्गीका आवाजले वातावरणमा राेमाञ्चकता प्रदान गर्दै थियोे । घाम छेकिएकाे र मन्दमन्द चलेको सिरेटाेले चिसाेकाे अनुभव गरायाे । बाटोमा फाट्टफुट्ट सवारी र पैदलयात्री भेटिन्थे ।

यहाँबाट करिव १२ किमि काे उकाली ओराली कच्ची बाटाे छिचाेलेर पाैवा भन्ने स्थानमा पुगियो । पहिला तराइबाट काठमाडौं आउने र काठमाडौंबाट तराई जाने यात्रुहरु, चन्द्रागिरीकाे डाँडो पार गरेर चित्लाङकाे बाटो हुँदै यसै पाैवा (पाटी) मा बास बस्ने गर्थे रे ! कलात्मक ढंगले जिर्णेद्वार भएकोले पाैवाकाे स्वरुप आकर्षक देखिन्थ्यो । पाैवा पछाडि पुरानो त्रिगजुर शिवालय रहेकाे छ । याे जीर्ण शिवालयले भने यहाँ आउने-जाने हरेक मानिससंग आफ्नो संरक्षणकाे लागि माैन गुहार मागिरहेको आभास भयाे । 

पाैवा रहेको स्थानबाट अलि अगाडि, द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने गरेको सप्तर्षि धारा रहेको छ । जहाँ गणेश, सरस्वती, शिव लगायतका देवताका मूर्ति स्थापित छन् । नजिकै एउटा पाेखरी छ । धाराबाट मूलकाे स्वच्छ र कलकल झरेको पानी त्यत्तिकै खेर गइरहेकाे देख्दा काकाकुलकाे बस्तीमा बसेकाे मेरो मनमा मेलम्ची झलझली नाच्याे । घाटमा मलामी जाँदा आउने केहीछिनकाे मसान बैराग्यजस्तै, मनभरी पानी संरक्षण र सदुपयोगकाे खाका काेरियाे !

सप्तर्षि धाराकाे अवलोकन पछि प्राचीन भीमसेनकाे दर्शन गरियो । त्यसपछि सम्राट् अशाेकद्वारा स्थापित चैत्य पुग्यौं । यसै चैत्यकाे नामबाट अपभ्रशं हुँदै गएर चित्लाङ भएको हाे भन्ने पनि भनाइ रहेछ । मकवानपुरकाे रमणीय ऐतिहासिक गाउँ चित्लाङलाई प्राचीनकालमा चित्रापुरकाे नामले चिनिन्थ्याे । सम्राट अशोकले वि.सं. ३१६ मा अशोक चैत्य बनाएपछि चैत्य रहेको बाटोमा परेकाे कारण यसलाई चैतलोङ भनिन थाल्यो । यहि चैतलाेङ नै पछि अपभ्रंश भएर चित्लाङ हुन गएको भन्ने कुरा आफूले सानैदेखि सुन्दै आएकाे स्थानीय सुदर्शन लामिछानेले सुनाए । 

समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको, उत्तरतर्फ चन्द्रागिरी तथा दक्षिणतिर महाभारत श्रृङखला पर्ने र काठमाडौंबाट २ घण्टामै पुग्न सकिने रमणीय चित्लाङलाई लिच्छविकालीन राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिने कुरा स्थानीयहरुमा प्रचलित रहेछ । यहाँको डाँडालाई शिवकाे रुपमा पुजिन्छ । याे गाउँमा नेवार, बाहुन, क्षत्री र तामाङ लगायतको बसोबास छ ।

अशोक चैत्य पछि महाकविसंग नाम जाेडिएकाे ढुंगामा पुग्यौं । भारतबाट मानिसको काँधमा बाेकिएर पशुपतिनाथकाे दर्शनकाे लागि आएका भारतीय तीर्थयात्रीलाई देखेर, १९९८ सालताका यहाँको गुर्जुधारा नजिकै बसिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटाले -
"कुन मन्दिरमा जान्छाै यात्री
कुन मन्दिरमा जाने हाे ।
कुन सामाग्री पूजा गर्ने
साथ कसाेरी लाने हाे !"
भन्ने कालजयी कविता लेखेका रहेछन् । 

यहाँपछि नजिकै रहेकाे चियापसलमा बसेर चियापान गर्ने काम भए । हामीलाई खासै हतार नभएकोले यहाँका अन्य दर्शनीय स्थलमा पनि आजै पुग्ने साेच बनाएर खर्ककाे फेदीमा पर्ने खाेंचमा रहेको सुर चन्द्र (स्वच्छन्द) भैरव मन्दिर तर्फ लाग्यौं । आकर्षक स्थानमा रहेको स्वच्छन्द भैरबलाई यहाँका वासिन्दाहरुले साक्षात् देवताका रुपमा श्रद्धापूर्वक मान्ने गरेेकाे पाइयो ।


भैरवको दर्शनपछि यहाँबाट ४ किमि माथि खर्कमा रहेको चित्लाङ अतिथिगृह पुग्नु थियोे हामीलाई । निर्माणकाे क्रममा रहेको कच्चीबाटो उक्लेर केही मिनेटमै बसले खर्ककाे नजिकै पुर्‍यायाे । आजको लागि बसको यात्रा यहीँसम्मको थियोे । भाेलि बिहानसम्मका लागि बसलाई त्यहीँ पार्किङमा राखि आफ्ना झिटिझाम्टा बाेकेर खर्क जाने सिंढी उक्लियाैं । करिव ५ मिनेटमा माथि पुग्दा सुदर्शन भाइ लगायत चित्लाङ अतिथिगृहका साथीहरूबाट आत्मीय स्वागत पाएर उकालो चढेको थकान स्वाट्टै मेटिए झैं भयाे । 

"तपाईंहरुलाई भाेक लागेको हाेला, अहिले ब्यागहरु यहीँ टेबुलमाथि राखेर हात मुख धुनुहाेस्, चिया खाजा तयार छ । पहिले खाजा खाऊँ अनि मात्रै काेठामा जानुहाेला" सुदर्शन भाइले भने । यस्तो स्वादिलो प्रस्ताव आएपछि ढिलो गर्ने कुरै थिएन । हामी फटाफट हातमुख धाेएर आयाैं । साँझ अबेरसम्म घाम आउने डाँडामाथि रहेकाे खर्क, सम्म परेकाे बारीका डिल र चारैतिरबाट रमणीय दृश्य र चित्लाङ नियाल्न सकिने ठाँउमा बसेर, भाेककाे झाेकमा स्थानीय स्वादकाे भुटेको मकै, साँधेकाे गुन्द्रुक भटमास, चिउरा, प्राउन र चिया निकै मीठो मानेर खाइयाे ।

खाजा सकेर आआफ्नो काेठामा सामान राखेपछि काेही घुम्न निस्किए, काेही फाेटाे खिच्न थाले, काेही स्थानीय उत्पादन किन्न हिंडे त काेही घाम ताप्दै गफिन थाले । बस्ती धेरै नभएको खर्कमा धेरै प्रकारका कृषिजन्य उत्पादन नहुने रहेछ । घुम्न गएकाहरू केही बेरपछि पाकेको फर्सी, लप्सी लगायतका सामान बाेकेर आइपुगे । 

साँझ पर्न लागेकाले माैसम चिसो चिसो हुँदै थियो । सहभागीहरु नाचगानमा रम्न थाले । नाचगान चल्दै गर्दा खाना तयार भएको खबर आयो । तात्ताताे दालभात, साग, काउली, स्थानीय जातकाे च्याउ, गेडागुडी, गुन्द्रुक र गाेलभेडाकाे अचार, पापड तथा कालिजकाे मासु सहितकाे खाना भरपेट खाइयाे । खानापछि क्याम्प फायरकाे व्यवस्था थियाे । आगाेकाे वरिपरि बसेर जिउ तताउँदै गफगाफ चल्याे । चिसो बढ्दै गएको र निन्द्रा देवीले समेत निम्ता गरेकाले राति करिव १० बजे सुत्नका लागि आआफ्नो काेठातिर लागियाे ।

राति मस्त निन्द्रा पर्‍यो । बिहान ६ बजे उठ्दा आँगन र चाैरलाई तुषाराेले ढपक्कै छाेपेकाे दृश्य देखियो । धेरै पछि देखिएको यस्तो दृश्यले बाल्यकालमा घरकाे बाहिर राखिएको अटल (माटोले बनेको बाटा) काे पानी जम्ने गरेको सम्झना ताजा भए झैं लाग्यो । तुषाराेका कारणले माैसम निकै चिसो लाग्थ्यो । झण्डै साँढेसात बजे खर्ककाे डाँडामा झलमल्ल घामले स्पर्श गरेपछि भने केही ताताेपनाकाे महसुस हुनथाल्याे । यतिबेलासम्ममा चियानास्ता तयार भयो । नास्तामा चिया, अण्डा, बटर, पाउरोटी, आलु र गेडागुडीकाे तरकारी थियोे । नास्ता पछि सबैजना घुमघाम गर्न निस्कियाैं । बाटो कान्लाहरूमा झपक्कै तुषाराे, तातो चढ्दै गएको घाम, वरिपरिको हरियाली र चराचुरुङ्गीकाे चिरबिर आवाजले बाताबरणलाई मनमाेहक बनाइरहेको थियोे । 

यतातिर बस्ती भने फाट्टफुट्ट देखिन्थे । साधारण स्वास्थ्य समस्यामा समेत उपचार खाेज्न काठमाडौं पुग्नुपर्ने बाध्यता, शिक्षामा पर्याप्त अवसरकाे अभाव र राेजगारीका कारण यहाँबाट शहरी क्षेत्रमा पलायन हुने क्रम बढेको चिया खाने क्रममा भेटिएका स्थानीयकाे भनाइ पाइयो । यसै कुरालाई बल पुर्‍याउँदै सुदर्शन लामिछानेले यसरी पीडा पाेखे “यहाँका सबै काठमाडौं झर्न थाले । अहिले त अवस्था यस्तो छ कि, यता मान्छे मर्दा मलामी पाउन गाह्रो छ भने उता काठमाडौंतिर मलामी चित्लाङेहरुका भीडले जुलुसकाे झझल्को दिन्छ ।” यी कुराहरू सुन्दा, राज्यले स्थानीयकाे न्यूनतम आवश्यकताकाे परिपूर्तिकाे लागि समयमै ध्यान नदिने हाे भने यताका बस्तीहरू भविष्यमा निर्जन हुने कुराकाे सहजै आकलन गर्न सकिन्छ ।


करिव दुई घण्टाकाे हिंडाइ र अवलोकन पछि हामी हाेमस्टे फर्कियाैं । खाना तयार भइसकेको रहेछ । यताबाट कुलेखानी ईन्द्र सराेवर र भेडा फार्मतिर पनि जाने कार्यक्रम रहेकोले खाना खाने तरखरमा लाग्यौं । अघिल्लो दिन बेलुकाकाे जस्तै मीठो खाना थपिथपि खाइयाे । यतिबेलासम्म घामकाे पाराे निकै चढिसकेकाेले बाताबरण तातिएकाे थियो । एकैछिनकाे विश्रामपछि सुदर्शन भाइसंग धन्यवाद सहित बिदा लियाैं । अरुणभाइले गाडी अगाडि बढाए । हामी भेडा फार्म हुँदै ईन्द्र सराेवर तर्फ लाग्यौं ।

जलाशययुक्त नेपालकाे पहिलो विद्युत उत्पादन केन्द्र कुलेखानीकाे जलाशय पहिलोपल्ट यसपालि भरिएर ओभरफ्लाे भएको रहेछ । हामीले त्यहाँको निरीक्षण र माेटरबाेट चढेर जलयात्रा पनि गर्‍यौं । जलस्रोतको धनी भनिने देशमा यस्ता जलाशययुक्त जलविद्युत केन्द्रहरु धेरै वटा बनाउन सकिएको भए विगतमा अठार घण्टासम्मको लाेडशेडिङ्ग व्यहोर्नु नपर्ने रहेछ भन्ने कुरा जलयात्रा गर्दै गर्दा मनमा आए । साथै, विगतमा विदेशी सहयोगमा बन्न लागेकाे अरुण आयोजना बन्द गराउन राजनीतिक तहमा देखिएको चलखेल र क्रियाकलाप पनि स्मरणमा आउँदा मन नराम्ररी अमिलियाे ।

जलयात्रा सकेर फर्पिङ हुँदै फर्कन लाग्दा स्थानीयबाट त्यताकाे बाटो बिग्रेकाले गाडी नजाने जानकारी पाइयो । हामी पुन: बिहान आएकै बाटोबाट फर्कियाैं । पाैवा नजिकै पुग्दा गाडीहरु राेकिएका देखिए । ड्युटीमा रहेका  प्रहरीले `बाटो निर्माणका कारण अबको दुई घण्टापछि मात्र गाडी जान मिल्ने´ बताए । चर्काे घाममा यताउता गर्दै समय बिताउनुकाे विकल्प रहेन हामीसँग ।

अन्तत: बाटो खुल्यो । निर्माणाधीन बाटोमा धूलो उडाउँदै गाडी अघि बढ्दै गयाे । ठाउँ ठाउँमा निर्माणका कारण अवरोध कायमै थियोे ।  थानकोट नजिकै पुगेर चियापानकाे लागि गाडी राेकियाे । काेही नजिकै रहेका आफन्त भेट्न गए भने काेही चिया पसलमा छिरे । आधाघण्टाकाे विश्रामपछि हामी फर्कियाैं । सहभागीहरुलाई छाेड्दै घर पुग्दा साँझकाे ६ बजिसकेकाे थियोे । 

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौ महानगरपालिका -७)
https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-travelog/163341/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम