लघुकथा: समर्पण

 ✍️ मुरारीराज मिश्र

"कृपया, मलाई स्वीकार" पानीले याचना गर्‍यो ।

"जब मलाई तताउँछन्, तिमी त्याे ताप सहन सक्दैनाै । आफ्नो स्वार्थका लागि तिमीलाई संकटमा पार्न चाहन्न म" दूधकाे जवाफ थियोे ।

"मलाई अंगाल, म कुनै पनि कठिन अवस्थाका लागि तैयार छु" पानीले जिद्दी छाेडेन ।

"एकपटक गहिरिएर साेच, मलाई तताउँदा उत्पन्न हुने तापले प्रतिक्षण घट्नु (सुक्नु) पर्छ" दूधले सचेत गरायाे ।

"सबै स्वीकार छ, मेराे अस्तित्व रहुन्जेल हरेक आपतमा तिम्राे रक्षा गर्नेछु" पानी वचनबद्ध भयाे ।

दुबै मिसिन्छन् । दूधले पानीलाई आफ्नो रंग र रुप दिएर आफूभित्र समाहित गर्छ । 

त्यही वचन पूरा गर्न, दूध तताउँदा आफू सुकेर पनि दुधकाे रक्षा गर्दैछ पानीले । 

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

प्रदीप सापकोटाजीकाे अनलाइन ई-खबरनेट डटकम् मा प्रकाशित

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...