समाजको बिकासमा महिला शिक्षाको महत्व
समाजको बिकासमा महिला शिक्षाको महत्व
मुरारीराज मिश्र
शिक्षाको महत्व :हाम्रा प्राचिन धर्मशास्त्रहरुमा शिक्षाको महत्वलाई प्रष्ट्याउंदै शिक्षाका बारेमा बिभिन्न संस्कृत श्लोकहरु उल्लेख गरिएका पाईन्छन् । ति श्लोकहरु मध्येको यो एक श्लोकले शिक्षाको महत्वलाई अत्यन्तै गहनताका साथ उजागर गरेको छ –
“न चोरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारि ।
व्यये कृते वर्धत एव नित्यं विद्याधनं सर्वधनंप्रधानम् ।।”
(उपरोक्त संस्कृत श्लोकको यस पंक्तिकारद्वारा गरिएको नेपाली भावानुवाद् :)
‘न सक्छ चोरले चोर्न, न राजाले हर्न सक्दछन्,
न दाजु–भाईले आफ्नो, अंशैमा माग्न सक्दछन् ।।
न भारी हुन्छ बोक्दामा, खर्चेमा बढ्दछ संधैं,
ठूलो सम्पत्ती “विद्या” झैं, कुनै छैन् यो बिश्वमैं ।।’
शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । कुनै पनि सफल ब्यक्तिको पछाडि शिक्षाको महत्वपूर्ण योगदान हुन्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पु¥याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । शिक्षाले मानिसलाई पूर्ण मानव बनाउंछ । शिक्षा बिनाको ब्यक्ति प्रायः आफ्नो जीवनमा उचित निर्णय लिन असमर्थ हुन्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला हाम्रा पूर्वजहरुले परापूर्वकाल देखि नै बिद्याआर्जनको लागि यथोचित व्यवस्था गर्दै आएका थिए । शुरु शुरुमा गुरुकूल, गुरुआश्रम आदि स्थानहरुबाट शिक्षा लिने दिने गरिन्थ्यो । समयको परिवर्तनसंगै गुरुकूल र गुरुआश्रमहरु भाषा पाठशाला हुंदै आजको “विद्यालय” मा परिणत भएका हुन ।
प्राचिनकालमा महिला शिक्षा :
संस्कृतमा एउटा प्रशिद्ध उक्ति छ – “नास्ति विद्यासमं चक्षुर्नास्ति मातृ समोगुरुः” यो श्लोकले भन्छः यो संसारमा विद्या समान आँखा र आमा समान गुरु दोश्रो कोहि पनि हुन्न । यसै श्लोकलाई मात्रै हेर्ने हो भने पनि महिला शिक्षाको आवश्यकता र अनिवार्यताको महसूस प्राचिनकालिन समाजले उसैबेला गरिसकेको रहेछ भनि बुझ्न कठिन पर्दैन । यसैले होला प्राचिनकालमा महिला शिक्षाको पर्याप्त ब्यवस्था थियो । महिलाहरुलाई बिशेषगरि गृहकार्य, संगीत, ललितकला, नृत्य आदिको शिक्षा दिने गरिएतापनि शास्त्रार्थ र सैनिककला शिक्षाको अवसरबाट समेत उनीहरुलाई बञ्चित गरिएको थिएन भन्ने कुरा गार्गी र मैत्रेयी जस्ता बिदुषीहरुले पुष्टि गरेका छन । अझ त्यसबेला शिक्षा र चेतनाको दृष्टिले कैयन् महिलाहरु पुरुषको तुलनामा सक्षम, सुदृढ र उत्कृष्ट समेत रहेका थिए भन्ने बुझ्न महर्षि याज्ञवल्कलाई बिदूषि गार्गीले शास्त्रार्थमा हराएको प्रशङ्ग नै काफी हुन्छ ।
महिला शिक्षाको महत्व :
मानव जिज्ञाषु स्वभावको हुन्छ । शिशुले आमाको गर्भदेखि नै शिक्षा ग्रहण गर्न थाल्छ भन्ने मनोवैज्ञानिकहरुको समेत मान्यता छ । जन्मपश्चात बालकको पहिलो चिनारी आमासंग हुन्छ । उस्को सिक्ने क्रमको सुरुवातपनि आमाबाटै हुन्छ । यसरी बालकको बिकासमा पहिलो र सबैभन्दा बढि प्रभाव आमाको पर्ने र आमाबाट सिकेको ज्ञान ढुंगामा कु्रदिएको अक्षर जस्तै अमिट भएर बालकको जीवनको बिकासको स्थायी आधार बन्छ । त्यसैकारण, “वालकको पहिलो पाठशाला घर र पहिलो शिक्षिका आमा हुन्” भनेर भनिएको हो ।
पुरुषको तुलनामा महिलाहरुको शारीरिक संरचना बिशिष्ट प्रकारको छ । प्रकृतिले महिलालाई जीवन सृजनाको दायित्व प्रदान गरेको छ । शिशुको जन्म पश्चात पोषण, लालन–पालन र स्याहार–सुसार आदि समेत आमाबाटै हुने गर्छ । हाम्रा सामाजिक संरचना र परम्पराहरुपनि प्रायः महिलामैत्री छैनन् । त्यसैले आफ्ना कतिपय समस्याहरु पुरुषलाई भन्न महिलाहरुलाई कठिनाई हुन्छ । महिला स्वयं शिक्षित भएमा आफ्ना र घरका समस्याहरु आफैं समाधान गर्न सक्छिन् । आमा सुशिक्षित भए सन्तान पनि शिक्षित हुन्छन । शिक्षित गृहणीबाट घर, परिवार र समाजलाई बौद्धिक र आर्थिकरुपमा समेत मद्धत मिल्छ । शायद यिनै कुराहरुलाई मनन गरेर महात्मा गान्धीले भनेका होलान् – “एक पुरुषलाई शिक्षा दिएमा एकजनाले मात्र पढ्छ तर एक महिलालाई शिक्षा दिंदा उस्को एक घर र पुरै परिवारले पढ्छ ।” :
नेपालको सन्दर्भमा महिला शिक्षा :
देशका दुरदराजमा ब्याप्त अन्धबिश्वास, कुरीति, सामाजिक–सांस्कृतिक कारण र आर्थिक दुरावस्थाले पढ्ने–पढाउने बातावरण नमिल्नु, सबै स्थानमा शिक्षाको समुचित ब्यवस्था नहुनु तथा छोराछोरीमा हुने भेदभावले गर्दा महिलाहरु शैक्षिकदृष्टिले पछाडि परेका छन् । हाम्रा समाजका कतिपय अभिभावकहरुमा छोरीलाई पढाउनु हुन्न भन्ने रुढिवादी दृष्टिकोण कायमै रहेको अवस्था छ भने कतिमा छोरालाई चाहेजति पढाउने र छोरीलाई आधारभूत तहसम्मको शिक्षा काफी हुन्छ भन्ने सोचाई छ । छोरीहरु बिवाह गरि अरुको घरमा जाने भएकोले उनीहरुलाई पढाएर फाईदा नहुने भन्ने परम्परागत धारणा र पढाईहाले पनि छोरालाई महंगा निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने सामाजिक प्रचलनले पनि नेपालका महिलाहरु गुणस्तरीय शिक्षामा पुरुषको तुलनामा पछि परेका हुन । तर यति हुंदा हुंदै पनि, हालः सम्म भएका अध्ययन र तथ्याङ्कहरुले हाम्रो देशमा महिला शिक्षाको प्रतिशत क्रमिकरुपमा बढ्दै गएको देखिनु, देशका राष्ट्रप्रमुख, न्यायपालिका र कार्यपालिका प्रमुखजस्ता महत्वपूर्ण पदमा महिलाहरु पुग्नु आदि कुराहरुले समाजमा सकारात्मक लक्षण र आशाका किरण भने पक्कै जगाएका छन् ।
सन् २००१ मा भएको राष्ट्रिय जनगणनामा महिलाहरुको साक्षरता दर ४२.८ प्रतिशत देखिएको थियो । त्यसको एक दशक पछि अर्थात् सन् २०११ को राष्ट्रिय जनगणनाले महिला साक्षरता दर ६५.९ प्रतिशत र पुरूषहरुको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ । १० बर्षको अन्तरालमा प्रतिबर्ष २.३१ प्रतिशतका दरले महिला साक्षरता बृद्धि हुंदै कूल २३.१ प्रतिशत बढेको देखिन्छ । देशको जनसंख्यामा पुरुषहरुको तुलनामा महिलाहरुको संख्या बढि देखिएको सन्दर्भमा, यस तथ्याङ्कलाई हेर्दा महिलाहरुको साक्षरता दर भने, पुरुषहरुको भन्दा ५.२ प्रतिशतले अझै कम देखिन्छ । यो तथ्याङ्क आफैंमा धेरै निराशाजनक नभएतापनि संविधानले अंगिकार गरेको समानताको हकको सिद्धान्त अनुरुप यस्मा बढोत्तरी हुनु आवश्यक छ ।
अन्त्यमा,
शिक्षा बिकासको पूर्वाधार पनि हो । एउटा समुन्नत राष्ट्र निर्माणका लागि त्यस देशका नागरिकहरु शिक्षित हुनु जरुरी छ । महिला र पुरुष मिलेर समाज बन्छ । समाजलाई बिकसित बनाउन र समाजमा सन्तुलन कायम राख्न, दुवैको सहि बिचार, सहयोग र सहकार्यको आवश्यकता पर्छ । जबसम्म दुवैले समान शिक्षा र अवसर पाउंदैनन् समाजको सुदृढिकरण हुन सक्दैन । हाम्रो जस्तो देश जहाँ महिलाको जनसंख्या पुरुषको भन्दा धेरै र सामाजिक संरचना पुरुषप्रधान छ, महिलाहरु बोक्सी, दाईजो र छाउपडी जस्ता कुप्रथा बाट प्रताडित छन् त्यहाँ बिकास र सम्बृद्धिको लागि बहुसंख्यक महिला शिक्षित हुनु अझै अति आवश्यक छ । किनकि, शिक्षाले सहि–गलत छुट्याउन सक्ने चेतना दिन्छ । स्वावलम्वन बन्न प्रेरित गर्छ । तर शिक्षाको उद्धेश्य आदर्शमूखि मात्र नभई, एक्काइसौं शताव्दीको प्राविधिक चुनौतिको सामना गर्न सक्ने शीपमूलक, सक्षम र स्वावलम्वी नागरिक उत्पादन गर्ने खालको समेत हनुु पर्दछ । तसर्थ देशका सवै नागरिकको गुणस्तरिय शिक्षामा समान पहुंच पु¥याउन राज्यले सम्पूर्ण सामुदायिक विद्यालयको सुधार र सुदृढिकरण गरि शिक्षालाई निःशुल्क, अनिवार्य र सर्वसुलभ बनाउने तर्फ तत्कालै पहल गर्नु जरुरी छ । अस्तु ।
लेखक, २०४१ सालदेखि पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ । ईमेलःmrmishra@live.com
नोटः यो लेख तलको लिंकमा पनि पढ्न सकिन्छ
http://www.gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2018-01-18/0528c012849f4a07d8e5074c00d9bcd3.jpg
Comments
Post a Comment