चिन्तन/ देखिन्छ सब अचम्मै

देखिन्छ सब् अचम्मै, रत्तिभरै बुझिन्न !
म काे हुँ, के हुँ भन्ने, केही पनि चिनिन्न !!

घुम्छिन् कसरी पृथ्वी, बाँच्छन् कसरी जीव !
बन्छ कसरी वृक्ष, त्याे सुक्ष्म एक बिज !!
बग्छिन् नदी कसरी, बन्छ कहाँ त्यो पानी !
हेर्दा मनुष्य उस्तै, किन फरक् छ बानी !!

बिचार छन् अनेकौं, शिर् छ उही सबैको !
हात्-पाउ मात्र उस्तै, मिल्दैन मुख् कसैको !!
देखिन्छ बाेट याैटै, फूल्छन् अनेक रङ्ग !
चल्छन् कसरी हाम्रा, प्रत्येक अङ्ग अङ्ग !!

कान्‌ले कसरी सुन्छ, देख्छन् कसरी आँखा !
ओठले कसरी बाेल्छ, प्रीय अप्रीय भाखा !!
धड्किन्छ मुटु के ले, कस्ले चलाउँछ याे !
कसरी भन्छ जिब्रो, मीठो छ वा नमिठाे !!

हावा कसरी चल्छ, हुन्छ कसरी बर्षा !
याे मन कसरी बुझ्छ, सन्ताप हाे या हर्ष !!
दिन्-रात हुन्छ के ले, बन्छ कसरी मेघ !
मृत्यु पछि कसरी, माटोमै मिल्छ देह !!

आगाे कसरी बल्छ, ऋतु बदल्छ कस्ले !
भाेक्-प्यास लाग्छ किन, याे स्वास भर्छ कस्ले !!
ती चन्द्र सू्र्य तारा, आफैं कसरी अड्छन् !
उड्दैन किन मान्छे, पंक्षी कसरी उड्छन् !!                                                                                           
आमाकाे गर्भ भित्र, बाँच्छन् शिशु कसरी !
खानु र श्वास फेर्नु, केही पनि नगरी !!
सकिन्न राख्न किन, संधै जवानी साथ् मा !
याे जन्म मृत्युु किन, मान्छेको हुन्न हात् मा !!

कुन् भागमा रहन्छ, आत्मा शरीर भित्र !
कस्तो छ रुप रंग, देखिन्न आत्म-चित्र !!
देखिन्छ घाम-पानी, हावा किन अदृश्य !
कस्ले चलाउँछ खै, चालक बनेर विश्व !!                    
निन्द्रा कसरी लाग्छ, देखिन्छ किन स्वप्न !
छाेड्दैन किन मान्छे, 'मैं हु' भनेर जप्न !!
ईन्द्रेणी बन्छ के ले, भर्छन् कसरी रङ्ग !
यी सब् कुरा बिचार्दा, आफैं म हुन्छु दङ्ग !!

साह्रै अचम्म सृष्टि, बुझ्ने कसरी हाेला !
ईश्वर् कृपा नमिल्दा, ब्यर्थै हुने भाे चाेला !!
दृष्टि रहाेस् म माथि, केही मिलाेस ज्ञान !
लागाेस् याे मन् प्रभुमै, बैकुण्ठ पाऊँ जान !!
                                    ✍ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...