हाइकुहरु


१.
ठेकी चर्केछ

अंगेनोको रापले
घिउ पोखियो !

२.
बिस्तारै तात्यो
चिसिएको अंगेनो
सल्क्यो दाउरा !

३.
कुँडेको दूध
पोखियो भुइँभरी
बिरालो मख्ख !

४.
गोलो अँगेनो
भर्भराउँदो आगो
चिसो मौसम !

५.
खेती चटारो
उफ्रिंदैछ बाउसे
हिलाम्मे खेत !

६.
यौटाको धन
र्‍याल काट्दैछ अर्को
भ्रमको चास्नी !

७.
मौन आकाश
पृथ्वीमा निहार्दैछ
जून बालेर !

८.
लफक्कै धर्ती
आकाशको आँसुले
मोती टल्कियो !

९.
बेचैन मन
अनिदा आँखाहरु
छर्लङ्ग रात !

१०.
लक्ष्य शिखर
चिप्लेकिराको चाल
हिउँ पग्लियो !

११.
लुछियो मासु
मन्दिरभित्र लाश
मौन देवता !

१२.
साथी शकुनी
सत्तामा धृतराष्ट्र
विचरा भीष्म !

१३.
मुस्कायो फूल
मग्मगायो बगैंचा
माली रमायो !

१४.
बुद्ध छातीमा
अग्रसर युद्धमा
बुद्धं शरणं !

१५.
च्वास्स घोच्दैछ
प्यूरीको डस्ना पनि
अनिँदो रात !

१६.
पूर्ण चन्द्रमा
कोठामै उदाउँछ
हाँसिदेऊ त !

१७.
टुपीमा पुग्दा
धोतीका जुम्राहरु
रवाफै बेग्लै !

१८.
जुनेली रात
जुनकीरीको दम्भ
उज्यालो मेरै !

१९.
अँध्यारो रात
सल्काउँदैछु दीयो
मन बालेर !

२०.
पूरा अपूरा
केही थान सपना
जीवन यात्रा !

२१.
बगैंचा हैन
उनको हाँसोभरि
फूल फक्रेछ !

मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ

नाेट: साहित्यपाेष्ट अनलाइनमा प्रकाशित याे हाइकुलाई यस लिंक
https://www.sahityapost.com/2020/11/21655/ मा पनि पढ्न सकिन्छ ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...