तीर्थयात्रा संस्मरण : गाेरखनाथ देखि हरिद्वारसम्म
✍️ मुरारीराज मिश्र,
दशैैंकाे समयमा माता वैष्णाेदेवीकाे दर्शन लगायत भारतका केही प्रसिद्ध तीर्थस्थलहरुकाे यात्रा गर्ने पूर्वनिर्धारित
कार्यक्रम अनुसार २०७५ असाेज २९ गते दुर्गा पक्षकाे षष्टी तिथिका दिन बिहान ७ बजे हाम्रो ११ दिने तीर्थयात्राकाे शुरुवात भयाे । दशैंकाे नाैरथाकाे समय हामी नाैजना नै तीर्थयात्री लिएर हामीले बुक गरेकाे ल्याण्डक्रुजर गाडी काठमाडौंबाट हुँईकियाे । याे गाडीको गन्तव्य हामीलाई सुनाैली नाकासम्म पुर्याउनु थियोे । बिहानीपखकाे काठमाडौंकाे माैसममा चिसाेपन आईसकेकाे महसूस भयाे । बिहानकाे चियापान नाैबिसेमा गरि करिव ११:३० बजे तिर चितवनको आँपटाडीमा पुगेर हामीले घरबाटै बनाएर लगेकाे खाना खायौं । त्यहाँबाट खाना खाएर हिंडेका हामी सांझ ४:३० बजे सुनाैली बजार पुग्यौं । एउटा हाेटेलमा हाम्रो रात्री बसाइकाे ब्यवस्थापन भयाे । हाेटेलमा कुराकानी गरेर भाेलिपल्ट बिहान गाेरखपुर जानका लागि याैटा भारतीय जिपकाे अग्रिम बुकिङ्ग गरेर खाना खाईवरी सुतियाे त्यसदिन ।
भारतीय रेलवेकाे टिकट हामीले काठमाडौंकाे ओरियण्ट प्याराडाइजबाट करिब चार महिना अघि नै बुकिङ्ग गरिसकेको हुनाले हामीले अबको यात्राको सुरुवात गाेरखपुर रेलवे स्टेशनबाट गर्नु थियाे । त्यसैले हामी बिहान चीयापान गरेर भारतीय जिपबाट गाेरखपुरतर्फ लाग्यौं । बिहान १० बजेतिर जीपले हामीलाई रेलवे स्टेसनमा ओराल्याे । रेलवेकाे लकरमा सामानहरु राखेर बाहिर आई खाना खाएर हामी प्रसिद्ध गाेरखनाथ मन्दिरतर्फ लाग्यौं । गाेरखनाथकाे मन्दिरमा सुरक्षा ब्यवस्था धेरै कडा देखिन्थ्यो । भित्र र बाहिर ठूलाे संख्यामा सशस्त्र सुरक्षाकर्मीहरु तैनाथ थिए । हाम्रो बेलुका ५ बजेकाे टिकट भएकाले हामीलाई खासै हतार थिएन, त्यसैले निकै समय लगाएर गाेरखनाथकाे दर्शन र विशाल मन्दिर परिसरकाे अवलोकन गरियाे ।
गोरखनाथ मन्दिर |
हिन्दुहरुका पूज्य सिद्ध तेजस्वी याेगी बाबा गाेरखनाथकाे गाेरखपुरस्थित मन्दिरलाई सबै नाथ (गाेरक्ष) पीठहरुकाे प्रमुख मानिन्छ । यहाँ मकर संक्रान्तिकाे दिनबाट माघ महिनाभर खिचडी मेला लाग्ने गर्छ । गाेरखनाथलाई पहिलो खिचडी पीठाधीश्वर (पीठका प्रमुख) ले चढाउँछन भने त्यसपछि नेपालका राजाकाे तर्फबाट पठाएको खिचडी चढाईएपछि मात्र अन्य भक्तजनहरुले चढाउन पाउने परम्परा रहेको छ । सयौं बर्ष अघिदेखि चलिआएकाे याे खिचडी मेलामा नेपालीहरुकाे समेत उल्लेखनीय सहभागिता हुने गर्दछ । यिनै कुराहरूकाे जानकारी बटुल्दै हामी बाहिर निस्क्याैं र गाेरखपुर बजारकाे भ्रमण तथा खाजानास्ता गरेर रेलवे स्टेसन पुग्यौं ।
यहाँबाट हाम्राे रेलयात्रा दिल्लीसम्मकाे थियो । निर्धारित समयभन्दा करिब एकघण्टा ढिलो बैशाली रेल आयाे, हामीले आफ्नाे सिट समायाैं । रेलमा रातभर मजाले निदाईयाे । बिहान ०८ बजे दिल्ली स्टेसनमा उत्रियाैं हामी । त्यो दिन हामीले, सहरभरी व्यापक सञ्जाल भएकाे अण्डरग्राउण्ड मेट्राे रेलकाे सवारी, दिल्ली परिवहन निगमकाे बस यात्रा गर्दै बजार अवलोकन र केही खरिदारी गर्दैमा बितायाैं । दिल्लीकाे अण्डरग्राउण्ड मेट्राे रेल सेवा सस्ताे, भरपर्दो, सुबिधासम्पन्न र अत्यन्तै प्रशंसा याेग्य लाग्यो । खै, हामीले आफ्नै देशमा यस्तो सुबिधा पाउने कैले हाे कुन्नि ! अबको हाम्रो रेल राति ९ बजेकाे थियाे । हामी स्टेसनमा पुग्यौं । निर्धारित समयभन्दा ५ मिनेट अघिनै राजधानी एक्सप्रेस आयाे । समयकाे मामलामा भारतभर याे रेल अब्बल मानिदाे रहेछ, तर हामीलाई सेवासुविधाका दृष्टिले पनि अब्बल लाग्याे । पिउने पानी देखि राेजाई अनुसारको खाना, मिठाइ, चीया लगायतका कुराहरु रेलवे बाटै उपलब्ध भयाे । रातिको यात्रा सकेर बिहान ०५:३० बजे जम्मु स्टेसनमा ओर्लेर लगत्तै अर्काे रेलमा चढि ०८:३० बजेतिर हामी कटरा स्टेशनमा उत्रियाैं ।
कटरा स्टेसनबाट बाहिर निस्कनु अघि त्यहाँको सुरक्षा निकायबाट भएकाे ब्यक्तिगत बिवरण दर्ता, फाेटाे खिचाई र सुरक्षा जाँचहरु पुरा गरेर पास लिएपछि हामी जिप बुक गरेर कटरा बजारतिर लाग्यौं । बजारको याैटा हाेटेलमा लकर लियाैं र आफूलाई अति जरुरी पर्ने सामानहरु मात्रै लिई बाँकी सामानहरु लकरमा राखेर हामी माता वैष्णाेदेवीकाे मन्दिरतर्फ जाने तरखरमा लाग्यौं । यसै क्रममा हाम्राे तीर्थयात्रा टाेलीका अग्रज श्री रघुवीर चन्द्रज्यूकाे सम्पर्कद्वारा त्यहाँको बीएसएफ क्याम्पबाट भारतीय सिमा रक्षक बलका परिवारहरुलाई सहुलियत स्वरूप उपलब्ध हुने वैष्णाेदेवी मन्दिर प्रवेश गर्ने बिशेष पास उपलब्ध भयाे । हामी त्यहाँबाट दुईवटा टेम्पाे लिएर मन्दिर जाने बाटाेकाे सुरक्षा चेक नाका पुग्यौं । त्यहाँ लाईन बसेर सामान लगायतका सुरक्षा जाँच गरायौं । अलि अगाडि जाँदा वाणगंगा नदी आयाे । परापूर्वकालमा बालिका रुपमा रहेकी वैष्णाेदेवीले पृथ्वीमा चलाएको बाणले जमिन फुटेर निस्केकाे पानी बगेकाे नदी भएकालेे यस नदीलाई बाणगङ्गा भनिएकाे रहेछ । नदीकाे किनारमा देवीकाे पाउकाे निसान पनि रहेकाे छ, जसलाई चरण पादुका भनिन्छ । यहाँ स्नान गर्नाले सबै पाप नाश हुने जनबिश्वास भएकाले वैष्णाेदेवी जाने दर्शनार्थीहरुले त्यहाँ स्नान गर्ने चलन रहेछ, हामीले पनि नुहायाैं । त्यसपछि चिया नास्ता गरेर बिहान १० बजे हामीले मन्दिरकाे उकालो चढ्न सुरु गर्यौं ।
बाटोमा कतै ढुगा छापिएका र कतै ढलान गरेका थियाे । सिंढी र बाटाहरु फराकिलो तथा ब्यवस्थित थिए । दायाँबायाँ विभिन्न सरसामानहरुका पसलहरु खाेलिएकाे थियाे । मानिसहरुको बाक्लै आउजाउ देखिन्थ्यो । हिंड्न नसक्नेहरु घाेडा र उलिनकाठ चढेका तथा मानिसका पिठ्युँमा समेत बाेकिएका थिए । खर्च गर्न सक्नेहरुका लागि हेलिकप्टरबाट जाने आउने ब्यवस्था पनि रहेछ यहाँ । मन्दिरबाट फर्केकाहरुका अनुहारमा सन्तुष्टि र उक्लनेहरुमा जतिसक्दो चाँडो दर्शनकाे हतारो देखिन्थ्यो । दर्शनार्थीहरु 'जय माता दि' उच्चारण गर्दै हिडेका थिए, याे एकप्रकारकाे आपसी अभिवादन पनि थियाे तीर्थयात्रीहरुकाे । सम्पूर्ण बाटाेमा जस्ताकाे छाना लगाईएकाेले घाम पानीको कुनै पीर थिएन । बाटाेका दुबैतिर करिव ५०० मिटरको फरकमा ताताे, मनताताे र चिसाे पानीको नि:शुल्क ब्यवस्था थियाे । चिया, कफी, फलफूल लगायतका खाजा नास्ताका पसलहरु बाटाेभरी थिए । बिश्रामस्थल र शाैचालयहरुकाे पनि सुविधाजनक नि:शुल्क प्रवन्ध थियाे । समग्रमा मन्दिरसम्मको बाटाे तीर्थयात्रीहरुका लागि सहज, सुरक्षित र ब्यवस्थित थियाे ।
करिव १४ किलोमिटर बाटाे पुरा गरि साँझ पर्नु अघि नै हामी मन्दिर छेउ पुग्यौं । मन्दिरद्वारा सञ्चालित प्रसाद बिक्री काउण्टरबाट चढाउने प्रसाद किन्याैं । यहाँ फरकफरक मूल्यका नभई एकै मूल्यका प्रसाद मात्रै किन्न पाईने रहेछ, समानताकाे याे ब्यवस्थाले मन छाेयाे, हुन पनि, भगवानका सामु काे धनी काे गरीब ! सायद नवरात्रीकाे नवमी तिथि भएर पनि हाे कि, मन्दिर नजिक धेरै भीड थियोे । भक्तजनहरुकाे करिव एक डेढ किलोमिटर दाेहाेराे लाइन देखिन्थ्यो । मन्दिर जाँदा माेवाईल लगायतका कुनै पनि सामान लैजान मनाही रहेछ । त्यसैले, हामी स्नान गरेर सामानहरु राख्नका लागि लकर हाउसतिर गयौं । लकरकाे संख्या सिमित रहेकाेले मन्दिरबाट फर्कने तीर्थयात्रीले आफ्नाे सामान लगेर खाली भएपछि मात्रै लकरमा सामान राख्न पाईने भएकोले यहाँ सामान राख्न झण्डै दुई घण्टाभन्दा बढि लाईन लाग्नु पर्यो । आफ्नाे पालाे आएपछि चढाउने सामाग्रीहरु बाहेकका सम्पूर्ण सामानहरु त्यहीँ नि:शुल्क उपलब्ध भएको लकरमा राखेर हामी मन्दिर परिसरतिर लाग्यौं ।
वैष्णोदेवीको दर्शन पछि हाम्रो तीर्थयात्रा टोली |
उत्तर भारतकाे सबैभन्दा पूज्य शक्तिपीठ मध्येको एक वैष्णाेदेवी मन्दिर प्रसिद्ध धार्मिक तीर्थस्थल हाे । माता रानी, वैष्णवी, माता दी, वैष्णाेदेवी आदि नामले चिनिने यस मन्दिरमा दायाँतर्फ देवी कालीकाे, बायाँतर्फ सरस्वतीकाे र बिचमा लक्ष्मीकाे गरि देवीकाे तीनवटा चट्टानी आकृति रहेका छन् । जसलाई पिण्डि पनि भनिन्छ । माता वैष्णाेदेवीकाे दर्शनबाट मनाेकामना पुरा हुने बिश्वास गरिन्छ । श्रीरामकाे अवतारमा रहेका विष्णुले कलियुगमा आफूले कल्कि अवतार लिने र वैष्णवीसंग बिवाह गर्ने वचन दिएकाले माता त्यहाँ आई तपस्यारत रहेकाे भन्ने धार्मिक मान्यता छ । मन्दिरबाट ओर्लंदै गर्दा टाेकन दिएर प्रसाद लियाैं । दिनभरकाे हिंडाईले थाकेको शरीर माताकाे दर्शन पश्चात् चङ्गा भएकाे अनुभव भयाे । आधारात भैसकेको भएतापनि मन्दिर प्राङ्गणमा निकै नै भिडभाड थियो । हामीले लकररुममा आएर सामानहरु लियाैं । चीया खाना खायाैं । वैष्णाेदेवी मन्दिरबाट करिव ३ किलोमिटरकाे दुरीमा रहेकाे भैरवनाथ अर्थात् भैराेनाथ मन्दिर दर्शन गरेपछि मात्रै वैष्णाेदेवी तीर्थयात्रा पूर्ण भएको मानिने रहेछ । अनि, हामीले राति नै फर्कने सल्लाह गरेर भैराेनाथ मन्दिरतर्फ अघि बढ्यौं । यसरी अनेक अनुभव बटुल्दै आधारातमा भैराेनाथकाे दर्शन गरि रातभर हिंडेर बिहान साँढेआठ बजेतिर हामी बाणगङ्गा हुँदै कटरा फर्कियाैं ।
सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएतापनि सुरुकाे चेकपोस्ट र वैष्णाेदेवीकाे मूर्ति रहेको स्थानमा एकाध बाहेक बाटाेमा सेना प्रहरी कतै देखिएनन् । रातभर हिंडदा पनि सुरक्षाको दृष्टिकोणले कतै सामान्य असजिलो पनि भएन । आफ्नाे स्थानमा कुनै नेताकाे भाषण हुदाँ पनि संकटकाल र युद्धको झझल्को दिने गरि बाटाे र चाेकचाेकमा सयाैँ हतियारधारी सेना-प्रहरी देख्ने बानी परेका हामीलाई संवेदनशील क्षेत्रमा देखिएको वर्दि र हतियारधारी सुरक्षाकर्मी बिहिनताकाे याे दृश्य अलि अनाैठाे लागेता पनि तीर्थयात्रीहरुमा असुरक्षाको मानसिक त्रास नपराेस् भनी आफू नदेखिएरै पर्याप्त सुरक्षा दिने भारतीय सुरक्षा संयन्त्रको याे रणनीति भने ज्यादै सह्राहनीय लाग्याे । त्यहाँबाट फर्कँदै गर्दा, आफूलाई वैष्णाेदेवीकाे दर्शन गरिसकेका ब्यक्तिहरुले 'यहाँ जान निकै गाह्रो हुने, बडाे मुस्किलले मात्रै गएर आइन्छ... ' भनेका कुराहरू स्मरणमा आए । हुन त हामीलाई कुनै गाह्राे अप्ठ्यारो नपरेको भएर पनि हाे कि, मानिसले आफू पुगेको ठाउँमा अरु पनि पुगे भने आफ्नाे महत्त्व रहन्न भनेर यस्ता डर देखाउँदा रहेछन् कि भने जस्तो लाग्याे !
कटरा बजारमा पुगेर सामान राखेकाे लकर रुम रहेकाे गेष्ट हाउसमा बस्याैं । नुहाई धुवाई गरेर खाना खाईयाे । बिजया दशमीकाे दिन थियाे । टीका बनाएर आपसमा दशैंकाे टीका लगायाैं, वैष्णाेदेवीकाे फूलप्रसादले जमराकाे काम गर्याे । शुभकामना साटासाट गरेर विश्राम गर्यौं ।
हाम्रो अबको गन्तव्य पंजावकाे अमृतसरमा रहेको प्रसिद्ध स्वर्ण मन्दिर थियो । त्यसैले, समय खेर नफाल्ने मनसुवाले हामीले अमृतसरसम्मकाे रातिको बसको टिकट लियाैं । खाना खाएर बस चढ्याैं । बसकाे केही सीट स्लिपर सिट थियो । बसकाे माथिल्लो भागमा बस्न र सुत्न मिल्ने स्लिपर सिटकाे अनुभव रमाईलै भयाे । बिहानै अमृतसर पुगेर बस्ने हाेटेलकाे ब्यवस्थापन र चियापान पश्चात् स्वर्णमन्दिर तिर लागियाे । सफा बाटाे, कलात्मक परिसर र सुन्दर पाेखरीकाे बिचमा रहेकाे स्वर्ण मन्दिर वास्तवमै भब्य देखिन्थ्यो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीका पाउ धाेई पुण्यार्जन गर्न आतुर ब्यक्तिहरु ढाेकाभरी थिए, हामीलाई अलिक अप्ठ्यारो लाग्याे । तर याे यहाँको आम चलन रहेछ । मन्दिरमा मानिसको निकै लाईन र भीडभाड भएपनि, भीड पूर्ण शान्त र संयमित थियाे । हामीले धेरै समय लगाएर दर्शन गर्यौं । यहाँ दर्शनार्थीका लागि चाैबिसै घण्टा नि:शुल्क प्रसाद (खाना) खुवाईने रहेछ, जस्लाई लंगर भन्दा रहेछन् । हामीले पनि लंगर खायौं । अत्यन्तै ठूलाठूला दुई हलमा एकैपटक हजारौं जनालाई खाना खुवाउने, भाँडाकुँडा माझ्ने र खाएकाे ठाउँ सफा गरेर पुन: लगत्तै खाना खुवाईंदाे रहेछ । दैनिक करीब चालिसहजार जनालाई खाना खुवाईने अनुमान रहेको यहाँकाे खाना ब्यवस्थापन अचम्म लाग्दाे छ । तर, गरे के नसकिने रहेछ र ! यहाँ पनि पुण्य आर्जनका लागि दर्शनार्थीले खाएको जुठो थाल कचाैरा उठाएर भाँडा माझ्ने ठाउँसम्म पुर्याउनका लागि आउने मानिसहरु धेरै हुँदा रहेछन् । उनीहरुको सेवाभाव प्रति हामी नतमस्तक भयाैं ।
स्वर्णमन्दिर, अमृतसर, पञ्जाव |
यहाँ प्रकाशकाे सुन्दर ब्यवस्थापन गरिएको छ ।सराेवरकाे बिचमा बनाईएकाे याे मन्दिरकाे चारै दिशामा ढाेकाहरु छन् । मन्दिर परिसरमा कलात्मक स्मारक र शिलालेखहरु छन् । मन्दिरमा संधै गुरुवाणी गुञ्जिरहेकाे हुन्छ । सिखहरुकाे गुरुद्वार भएतापनि यस्काे नाममा मन्दिर शब्द जाेडिनुकाे अर्थ धार्मिक समानता जनाउनु हाे भन्न सकिन्छ । त्यसैले नै हाेला, यहाँ सबै धर्म र सम्प्रदायका मानिसहरु आउने गरेका छन् । मन्दिरमा कुनै भेदभावजन्य ब्यवहार देखिंदैन थियाे ।
हाम्रो यसपछिकाे पूर्वनिर्धारित गन्तव्य हरिद्वार भएकाले अबको याेजना अमृतसरबाट रेलमा हरिद्वार जाने थियो । तर विडम्बना के भईदियाे भने, हामी अमृतसर पुग्नु अघिल्लो रात दशहराकाे कार्यक्रम भैरहेको बेला रेलले किचिएर त्यहाँ निकै मानिसकाे मृत्यु भएकाले रेल सेवा अवरुद्ध थियाे । राजनीतिक दलहरूले हडताल आव्हान गर्न लागेका थिए । यस्तोमा रेल खुल्ने समय कुर्नु ठीक नदेखि हामीले बसबाटै दिल्ली हुँदै हरिद्वार जाने बिचार गरेर त्यसै दिन रातिकाे बसकाे टिकट लियाैं । अनि, दिनभरि घुमघाम गरेर पुनः मन्दिरमा बेलुकीकाे भजन आरती हेर्न आयाैं । दिउसाे देखेको र रातिकाे मन्दिरकाे दृश्यमा आकाश जमिनकाे फरक झैं देखियाे । बत्तीको प्रकाशमा स्वर्णमन्दिर धपधप बलिरहेकाे जस्तो चम्किलो देखिन्थ्यो भने, पाेखरीमा यस्काे छायाँ पनि उस्तै चम्मिरहेकाे थियाे, फेवातालमा माछापुच्छ्रे हिमाल टल्किए जस्तै । हामी मन्त्रमुग्ध भएर हेरिरह्याैं निकैबेर सम्म । अनि, मनले नमान्दा नमान्दै पनि समयकाे बाध्यताले गर्दा हाेटेलमा आई सामान लिएर रातिकाे बसबाट दिल्लीतर्फ प्रस्थान गर्यौं ।
बिहान दिल्लीमा ओर्लिएर नित्यकर्म र चियापान पछि आफूलाई अत्यावश्यक बाहेक अन्य सबै सामानहरु बसपार्ककाे लकर रुममा राखेर बिहान ९ बजेतिर हामी त्यहाँबाट हरिद्वार जाने दिल्ली नगर निगमकाे बसमा चढ्याैं । दिउसाे निकै गर्मी महसूस भयाे । करिब साँढेचार बजे बसले हामीलाई हरिद्वार पुर्यायाे । हाेटेलकाे ब्यवस्थापन र चीयाखाजा पछि टेम्पो लिएर साँझ हरिद्वार गयाैं । गङ्गा नदीमा हातखुट्टा धाेएर मन्दिर दर्शन र अवलोकन गर्ने काम गरियाे । भाेली बिहान पितृमुक्ति हेतु गर्ने तीर्थश्राद्धका लागि नेपाली पण्डितकाे ब्यवस्था गरि हामी हरिद्वारकाे प्रसिद्ध गङ्गा आरतीमा सहभागी भयाैं । रात्रि विश्राम पछि भाेलिपल्ट सबेरै हरिद्वार पुगेर स्नान, दर्शन र श्राद्धादि कार्य सम्पन्न गरियाे । बिहानको चियापान सकेर दिनभरकाे घुमघामका लागि बुकिङ गरिएको जीप लिई हामी त्यहांबाट ऋषिकेश क्षेत्र तर्फ लाग्यौं । ऋृषिकेश धाम, राम-लक्ष्मण झुला लगायतका विभिन्न मठ मन्दिर र स्थानहरु घुम्दै बेलुकीपख केवुलकार चढेर चण्डी माताकाे मन्दिर पुगी हामीले पुनः हरिद्वारमा साँझकाे गङ्गा आरती हेर्याैं । साँझकाे आरतीकाे समयमा यहाँ निकै भिडभाड हुने रहेछ । नेपालीहरुकाे संख्या पनि धेरै नै देखियाे यतातिर ।
हरिद्वार |
भारतीय राज्य उत्तराखण्डमा पर्ने हरिद्वार निकै पुरानो हिन्दु तीर्थस्थल हाे । महाभारत तथा अन्य पुराण शास्त्रहरुमा गङ्गाद्वार, मायातीर्थ, मायाक्षेत्र, सप्तस्राेत आदि नामले समेत बर्णन गरिएको यस क्षेत्रलाई हिन्दुहरुकाे पापमाेचन गर्ने प्रमुख सात पवित्र स्थान मध्येको एक मानिन्छ । गंगाेत्री हिमनदी बाट निस्केकी गङ्गा नदी नै हरिद्वारकाे मुख्य आकर्षण हाे । पाैराणिक कथा अनुसार, धन्वन्तरी ऋषिले समुद्र मंथनबाट निस्केको अमृत घडालाई स्वर्ग लैजाने क्रममा याे क्षेत्रमा घडाबाट केही थाेपा अमृत खसेकाे थियो । जुन स्थानलाई हर कि पाैडी र ब्रह्म कुण्ड भनिन्छ र याे नै यहाँको सबैभन्दा पवित्र घाट हाे । हरिद्वार क्षेत्रमा कनखल, बिल्वकेश्वर, नील पर्वत, कुशावर्त, अञ्जना देवी, मनसा देवी, माया देवी, चण्डी देवी, सप्तर्षि आश्रम, पारद शिवलिङ्ग, ऋषिकेश, राम झूला, लक्ष्मण झूला, गीता भवन, वशिष्ठ गुफा, त्रिवेणी घाट लगायतका अनेकौं देवस्थल र मन्दिरहरु रहेका छन् ।
हरिद्वार, चार धाम यात्राकाे प्रवेशद्वार पनि हाे । यहाँ प्रत्येक ६ बर्षमा अर्धकुम्भ र १२ बर्षमा कुभ्भ मेला लाग्ने गर्छ । यहाँका पवित्र पाँचस्थानहरूमा मात्रै पुग्नाले पनि जन्ममृत्युकाे बन्धनबाट मुक्ति पाईन्छ भन्ने धार्मिक मान्यता छ । भनिन्छ ;
हरिद्वारे कुशावर्ते बिल्वके नीलपर्वते ।
तस्मात् कनखले तीर्थाे पुनर्जन्माे न बिद्यते ।।
शायद यसैले हाेला, प्रत्येक हिन्दुहरु आफ्नाे जीवनकालमा कम्तीमा एकपटक हरिद्वार पुग्ने अपेक्षा गर्दछन् । समग्रमा हरिद्वार क्षेत्र धार्मिक, साँस्कृतिक र प्राकृतिक साैन्दर्यका दृष्टिकोणले पनि महत्त्वपूर्ण स्थान भएको र यही बिशेषताले गर्दा नै यहाँ धार्मिक पर्यटन फष्टाएकाे देखिन्छ । यी सबै देख्दा, प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदाको धनी हाम्रो देशमा पनि यसैगरी आन्तरिक र बाह्य पर्यटनकाे प्रवर्द्धन गर्न सके जनताको जीवनस्तरमा सुधार आउनुका साथै देशले छिटै आर्थिक सम्बृद्धि हासिल गर्ने थियो भन्ने जस्ता बिचारहरु पनि पटकपटक हाम्रा मनमा खेलिरहे ।
दिल्ली–काठमाडौं चल्ने बस |
भाेलिपल्ट बिहान हाेटेलबाट बिदावारी भई हामी बस स्टेसन पुग्यौं । त्यहाँ सामान चेकजाँच र मेसिनबाट स्क्यानिङ्ग गरि सामानका ब्यागमा सुरक्षा स्टिकर टाँस्ने काम भयाे । सामानहरु बसमा राखेर टिकट अनुसारको सिटमा बस्याैं । बिहान १० बजे बस गुड्याे । दुईजना ड्राइभर र एकजना सहयाेगी सहितको बस पूर्णतः वातानुकूलित थियाे । दिल्ली प्रहरीकाे भ्यानले साईरन बजाएर आफ्नाे एरिया नकाटुन्जेल याे बसलाई स्कटिङ्ग सुरक्षा दिंदाे रहेछ । आपतकालिन राताे बत्ती जडित याे बसलाई भारतभर एम्बुलेन्स जस्तै राताे बत्ती बालेर ईमर्जेन्सी साईरन बजाउँदै हिंड्न पाउने बिशेष सुबिधा रहेछ । जस्ले गर्दा भारतीय सिमानाभरी यस्ले सडक जाम र अवराेध खेप्नु परेन । तर नेपाल भित्र भने यस्तो कुनै सुबिधा रहेनछ याे बसलाई । कहिलेकाहीँ टिकट नबिकेर जतिसुकै सिट खालि भएपनि ताेकिएकाे समयमा खालि सिट नै राखेर भएपनि गुड्नु पर्ने र बिचबिचमा मानिसहरु चढाउन नपाउने याे बसकाे नियम रहेछ । बसकाे यात्रा सामान्यतया आरामदायी नै थियोे ।
अन्ततः एकरात र दुईदिनकाे लामाे दिल्ली-काठमाडौं बसयात्रा पछि हामी कार्तिक ८ गते साँझ ६ बजे कलंकी चक्रपथमा ओर्लियाैं । त्यहाँबाट टैक्सी समातेर, आफूले घुमेर आएका सम्पूर्ण तीर्थका देव देवीहरुकाे स्मरण गर्दै ११ दिने तीर्थयात्रा समापन गरेर हामी घर फर्कियाैं ।
तीर्थयात्रा टाेलीका सदस्यहरु, श्री रघुवीर चन्द्र, सती सिलवाल, भवानी अधिकारी, सविता ढुङ्गाना, शिराेमणि रिसाल, सरस्वती रिसाल, कल्पना मिश्र, काैशलराज मिश्र र मुरारीराज मिश्र
(समाप्त)
उमामहेश्वर मार्ग, का.म.पा. ७, कुमारीगाल ।
Comments
Post a Comment