संस्मरण : मुक्तिनाथ यात्रा
✍️ मुरारीराज मिश्र
शायद साइत नजुरेर होला, मुक्तिनाथ जाने अवसर पटकपटक आउँदा पनि जाने अनुकूल मिलिरहेको थिएन । यसै क्रममा घरपरिवारमा सल्लाह भयो । केही बर्ष अघि माैलाकालिका गएको बेलामा गृहलक्ष्मीले त्यहाँ लाखबत्ती बाल्ने संकल्प गरेकी रहिछन् ! यसपटक छोरी पनि एकमहिने बिदामा नेपाल आउँदै थिइन् । उनले पनि घुम्नजाने ईच्छा गरिन् । त्यसैले यसपल्ट लाखबत्ती कार्यक्रम सहित देश दर्शनका लागि मुक्तिनाथसम्म जाने मनस्थिति बनाइयाे । साथीभाइ, इष्टमित्र र आफन्तजनहरु सँग कुराकानी हुँदा उहाँहरुले पनि भ्रमणमा सहभागी हुने इच्छा व्यक्त गर्नुभयो । एक-एक गर्दै ठूलै टोली बन्यो । जाने दिन तय गरेर चिरपरिचित यात्रा व्यवस्थापक सँग छलफल गरि यात्राको सातदिने प्याकेज तयार गरियो । देवघाटधाम, मौलाकालिका, विन्धवासिनी, गुप्तेश्वर महादेव, तालवाराही, छाब्दी बाराही, ब्यास गुफा, गलेश्वर महादेव, बाग्लुङ कालिका र मुक्तिनाथ जाने कार्यक्रम तय भयो । यात्राको प्याकेजमा सवारी भाडा, बिहानकाे चिया, दैनिक दुईछाक खाना र बासको व्यवस्था समावेश थियो । दिउसोको खाजा र साईट सीनको खर्च भने आफैंले ब्यहाेर्नु पर्थ्यो ।
यात्राको क्रममा बिश्रामको क्षण |
शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी र त्रिशुली नदीको संगम स्थलमा पर्ने देवघाटधामलाई हिन्दू धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल मानिने प्रयागहरुमध्येको आदिप्रयाग पनि भनिन्छ । यहाँ परापूर्वकालमा देवताहरुको बसोवास रहेकाले यस क्षेत्रको नाम देवघाट रहन गएको हो भनि धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । चारधाम तीर्थयात्रा सकेर आएपछि यस तीर्थमा स्नान् गरिएको छैन भने तीर्थफल प्राप्त नहुने शास्त्रीय मत छ । अन्यत्र तीर्थ जान नसके यस तीर्थमा मात्र स्नान् गरेपनि चारधाम तीर्थ गए बराबरको पूण्य प्राप्त हुन्छ भनि बिभिन्न पुराण शास्त्रमा उल्लेख गरिएको भेटिन्छ । साँच्चै नै, पवित्र तीर्थस्थल देवघाटधाममा बेग्लै अलौकिक शक्ति छ । त्यसैले त यहाँ जति पटक आएपनि कहिल्यै धीत मर्दैन ।
मौलाकालिकामा लाखबत्ती बाल्ने क्रममा |
नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित मौलाकालिका मन्दिर एक प्रसिद्ध हिन्दु मन्दिर हो। करिब दुई किलोमिटर लम्बाइको १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिने, रमणीय र शान्त डाँडाको टुप्पोमा रहेको यस मन्दिरबाट देखिने मनमोहक दृश्यले भक्तजनहरुलाई लोभ्याउँने गर्छ । मौलाकालिका माईको दर्शनबाट मनोकाङ्क्षा पूर्ण हुने विश्वास गरिन्छ । यस्ती साक्षात् देवीको मन्दिरमा परिवारजन तथा सबैको सहयोगमा लाखबत्ती बाल्ने आफ्नो संकल्प पुरा भएकाेमा गृहलक्ष्मी पनि प्रफुल्ल देखिन्थिन् । त्यहाँबाट अपरान्हतिर देवघाट पुगि खानपिन गरेर केही क्षण सुस्ताए पछि, दिउँसो गाडी चढेर झिसमिसे अँध्यारो हुंदै गर्दा हामी पोखरा पुग्यौं । अबेर भइसकेकोले कतै घुम्ने कुरो भएन, त्यसैले हतार-हतार खाना बनाएर खाई हामीले त्यो रात पोखराको हाेटेलमा बितायौं ।
भाेलिपल्ट बिहानको चिया खाएर हाम्रो घुमघाम शुरु भयो । हामी पहिले बिन्दबासिनी मन्दिरमा गयौं, पूजाआजा भयो ।
पोखराको प्रमुख मन्दिर मध्येको एक विन्ध्यवासिनी मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण एउटा प्रसिद्ध शक्तिपीठ हो। यो मन्दिरलाई पोखराका प्रख्यात पर्यटकिय स्थलको रूपमा मानिन्छ। यहाँबाट अन्नपुर्ण हिमश्रृङ्खलाको समेत राम्ररी दृश्यावलोकन गर्न सकिन्छ। हामी मन्दिर पुग्दा नेपाली र भारतीय दर्शनार्थीहरूको घुईचो लागेको थियो । बिन्दबासिनी दर्शन पछि हामी गुप्तेश्वर गुफा पुग्यौं । जमीनबाट करिव १५० मीटर तल अवस्थित गुप्तेश्वर गुफा पोखराको आकर्षक पर्यटकीय स्थलमध्ये एक हो । गुफामा सिंढी बनाईएको छ । गुफाभित्र पाताले छाँगोबाट खसेको झरना पनि देख्न सकिन्छ। दक्षिण एसियाका ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र गुप्तेश्वर महादेवको मन्दिर र ठूलो खुला ठाउँ पनि रहेका छन् ।
विन्ध्यवासिनी मन्दिर परिसरमा |
गुफाबाट निस्केर हामी पाताले छाँगो तर्फ बढ्यौं । पाताले छाँगोको नामले चिनिने र अन्य समयमा भन्दा वर्षायाममा हेर्न लायकको देखिने यस झरनामा डेभी नाम गरेकी एक स्विस पर्यटक खसेर बेपत्ता भएको हुनाले यस छाँगोलाई डेभिज फल्स पनि भनिन्छ । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट बग्ने यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल गुप्तेश्वर गुफा तर्फ झर्दछ । पोखराको आकर्षण मानिने यो छाँगोमा त्यहाँ जाने प्रायः पर्यटकहरु नछुटाई पुग्ने गर्दछन् । पाताले छाँगोको अवलोकन सक्दा हाम्रो खानाको समय पनि भईसकेको हुनाले हामी होटलमा फर्कियौं । बिहानको खानपिन पछि केही क्षण सुस्ताएर, होटलबाट बिदावारी भई तालबाराहीको दर्शनार्थ फेवातालतिर बढ्यौं । डुङ्गा चढेर तालवाराही पुगि दर्शन र फेवातालको दृश्यावलोकन गरियो । पोखरा जाने बाह्य तथा आन्तरिक पर्यटकका लागि फेवातालकाे बीचमा रहेको ताल बाराही मन्दिर विशेष आकर्षणको केन्द्र बनेको छ। डुङ्गा चढेर जानुपर्ने तालबाराही मन्दिर पोखरास्थित प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भएतापनि सबै धर्मका व्यक्तिहरुलाई यहाँ कुनै रोकटोक छैन । तालबाराही मन्दिरले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा निकै टेवा पुर्याएको देखिन्छ ।
गलेश्वरधाम |
मुक्तिनाथ जाने क्रममा बगरमा |
अगाडिको बाटो राम्रो थिएन । पहरा खाेपेर बनाईएकाे ढुंगैढुंगा युक्त भिरको बाटो हेर्दै डरलाग्दो थियो । गाडी ढिकिच्याउँ गरेजस्तै गुड्दै थियो । कतिपय ठाउँमा बस हल्लंदा मन कहालिन्थ्यो । तर, बाटोका दृश्यहरु भने रमणीय र हेर्न लायक थिए । हिमालहरू सफा र नजिकै देखिन्थे । हावा निकै चलिरहेको थियो । कतिपय ठाउँमा बाटो निर्माण हुँदै थिए । ठाउँठाउँमा रोकिनुपर्याे । यसरी रोकिँदै हिँड्दै हामी बेलुकीपख कागबेनी बजार पुग्यौं । बस्ने ठाउँ हाेटेलमा पहिले नै निर्धारित थियो । हामीले त्यहीं गएर विश्राम गर्याैं । त्यहाँ पिईने स्थानीय चियाको स्वाद लियौं । खाना पकाएर खाइवरी भोलिपल्ट बिहान कागबेनीमा श्राद्ध गर्ने तयारी गरेर सुत्यौं । खै किन हाे, यहाँ भने राती राम्ररी निद्रा परेन !
कागवेनीमा श्राद्ध गर्दै |
बास बसेको होटलमा फर्केर चियापान गरेपछि चीरप्रतीक्षित मुक्तिनाथ मन्दिरकाे दर्शनार्थ जानका लागि आ-आफ्नो सामान लिएर बसमा चढ्यौ । कागबेनीबाट मुक्तिनाथ बसपार्क सम्मको करीब १३ किलोमिटर बाटो मध्ये सुरुको १ कि.मी. जति कच्ची र १२ किमी सडक एकदमै राम्रो कालोपत्र गरिएको रहेछ । बसपार्कमा ओर्लिएर हामी हिड्न थाल्यौं । बसपार्कबाट करिब ३ कि.मी. दुरी पार गरेर मुक्तिनाथ मन्दिरमा पुगियो । मुक्तिनाथको कृपाले मन्दिर पुग्दासम्म कसैलाई खासै अप्ठ्यारो परेन । मन्दिर परिसरमा रहेको १०८ धारा तथा जलकुण्डमा स्नान गरेर मुक्तिनाथको पूजा अर्चना गरि वरिपरिका देव देवीहरु, अखण्ड दीप लगायतको दर्शन भयो । हिमालपारीको जिल्ला भनिने मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर नेपालका दुर्गम तिर्थस्थल मध्येको एक हो । यस मन्दिरलाई हिन्दू तथा बौद्धमार्गी दुबैकाे आस्थाको केन्द्रका साथै वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्ये एक मानिन्छ । जहाँ मुक्तिनाथ मन्दिर अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले पनि चिनिन्छ । जहाँ पुगेपछि मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । भारतको चारधामको दर्शन गरेपनि नेपालको मुक्तिनाथ दर्शन नगरे चारधामको दर्शन अपुरो हुने जनविश्वास छ ।
मुक्तिनाथ मन्दिर परिसरमा |
उचाइमा रहेको मुक्तिनाथ मन्दिरबाट हिमालहरू छर्लङ्ग देखिन्थे । वरिपरिका दृश्यहरु पनि निकै नै चित्ताकर्षक थिए । झलमल्ल घाम लागिरहेको थियो । तर अचम्म, नुहाउँदा चिसोले शरीर कठ्याङ्ग्रिएला जस्तो भएकाे भएतापनि त्यसपछि भने फिटिक्कै जाडाे महसूस भएन । हामी तल ओर्लियाैं । आश्रममा खाने ब्यवस्था मिलाईएकाे थियोे, खानपिन गरेर बजार हेर्दै बसपार्क पुगेर बस चढेर त्यहाँबाट प्रस्थान गर्यौं । बाटोमा देखिने हिमाल, पहाड, खाेलानाला, झरना, बगर, बन जङ्गल, पशुपक्षी लगायतका दृश्यले मन्त्रमुग्ध बनायो । बिच बाटोमा पुगेर चियाखाजा गरियाे । लगभग चार बजेतिर हामीलाई बसले गलेश्वर आश्रम पुर्यायाे । आजकाे रात्री बसाइ पनि यहीँ हुने तय थियाे । सामान राखेर गलेश्वरधाम दर्शन र आसपासकाे क्षेत्रमा घुमघाम गरियो । भाेलिपल्ट बिहान चियापान गरि त्यहाँबाट बिदा भयाैं । हामीलाई बाग्लुङ कालिका मन्दिर पुग्नु थियाे । करिव सवाघण्टामा हामीले त्यहाँ पुगेर पूजाअर्चना गर्यौं ।
पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा अवस्थित बागलुङ कालिका मन्दिर साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको जंगल भित्र रहेको छ । धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस शक्तिपीठमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने विश्वास रहिआएको छ । हिन्दू धर्ममा कालिका भगवतीको महत्वपूर्ण स्थान छ । मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका खोल्दा नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भएकोले यो ढोका कहिले पनि नखोलिने रहेछ । कालिका भगवती मन्दिरको गर्भगृहमा एउटा चौका उठाई त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसंग माटोको तीनओटा अर्ध गोलाकार थुम्का र त्यसदेखि माथि अर्को एक तह पेटी उठाएर त्यस्तै एउटा थुम्का बनाई यी चारै ओटा थुम्कालाई चाँदीको पाताले माेरिएको छ । यिनै थुम्काहरूलाई कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ ।
पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यसै ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको मानिन्छ । मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ । तत्कालीन राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ । मन्दिरको दर्शन पश्चात् हामीले त्यहीँकाे जंगलमा पकाएर बिहानको खाना खायौं र त्यहाँबाट छाब्दी वाराही जान भनि हिड्याैं ।
माछाको पुजा गरिने नेपालको संभवतः एकमात्र मन्दिर छाब्दी बाराही तनहुँ जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। तर, यहाँकाे दर्शन गर्न सायद यसपल्ट जुरेकाे रहेनछ हामीलाई । मन्दिर पुग्न बसलाई करिव एकाध घण्टा लाग्ने स्थान देखि त्यहाँ बाटाे निर्माणकार्य हुँदै रहेछ । बाटो खनेका खाल्डाखुल्डीका कारण सवारी आवतजावत बन्द थियाे । मुग्लिन पुगेर बास बस्ने हाम्रो पुर्वनिर्धारित कार्यक्रम भएकाे र हिंडेर मन्दिर पुगेर फर्कन समय नमिल्ने भएकोले हामी खिन्न मन लिएर बिच बाटाेबाटै फर्कियाैं । अनि लाग्यौं द्वैपायन व्यासकाे तपस्या स्थल व्यास गुफा तर्फ । प्राचीनकालिन व्यास गुफाकाे अवलोकन गरि त्यहाँको महत्त्व लगायतका जानकारी लियाैं । सेती र मादी नदीको सङ्गमस्थलमा रहेको यही व्यास गुफामा द्वैपायन ब्यासले चीरकालसम्म तपस्या गरी तपस्वीका रुपमा रहनुभएको जनविश्वास रहेछ । सुन्दर रमणीय स्थानमा रहेकाे व्यास गुफा परिसर ध्यान गर्नका लागि उपयुक्त स्थल लाग्याे । त्यहाँबाट बाहिर अाई बजारमा चियाखाजा खाई साझपख मुग्लिन बजारमा आई हामीले रातिको विश्राम लियाैं ।
अर्कोदिन बिहान स्नानादि कार्य सकि चियापान गरेर हामी मनाेकामना दर्शनका लागि हिंड्याैं । केवलकार स्टेशनमा पुगेर टिकट काटियाे । केवलकारले माथि पुर्यायो । लामबद्ध भई माता मनाेकामनाकाे दर्शन तथा पूजाआजा सम्पन्न गर्याैं ।
माता मनाेकामनाकाे दर्शन पछि |
मनले चिताएको इच्छा पूरा गर्ने देवी भन्ने अर्थमा मनकामना/मनोकामना नाम रहन गएको मनकामना भगवती गोरखाको एक महत्त्वपूर्ण देवीस्थान अर्थात् शक्तिपीठ हो। यहाँ प्रायः सधैं भक्तजनहरूको भीडभाड हुन्छ । नेपालका प्रमुख ठूला देवी मन्दिरहरुमा यस मन्दिरलाई लिईन्छ । यहाँ नेपालका मात्र नभई भारत लगायतका देशहरुबाट पनि धेरै भक्तजन र पर्यटकहरु आउने गर्छन् । देशको पर्यटन बिकाशमा यस मन्दिरले पनि विशिष्ट याेगदान पुर्याएकाे छ । मनाेकामना माईकाे दर्शन संगै हाम्रो एकसाताकाे धार्मिक यात्राकाे गन्तव्य पनि टुंगिएकाे थियोे । हामीले त्यसदिनकाे खाना केवलकार स्टेशनमा पकाएर खायौं ।
यसरी, विभिन्न अनुभवहरु संगाल्दै साताव्यापी भ्रमण सकाएर हाम्रो भ्रमण टाेली २०७६ साल जेठ २९ गते काठमाडौं फर्कियाे । छाेटाे अवधिकै भएपनि भ्रमण राेचक र अविस्मरणीय रह्यो । बर्षात् काे समय भएतापनि भगवानकाे कृपाले हामी जाँदा र आउँदै गर्दा कतै पनि पानी परेन । सकुशल भ्रमणका लागि हामीले पुगेर त्तएका सम्पूर्ण देवदेवीहरु प्रति कृतज्ञ भयाैं । भ्रमणलाई सुरक्षित र ब्यवस्थित गर्न ब्यवस्थापन टिमले निभाएकाे महत्त्वपूर्ण भूमिकाका लागि हामी आभारी छाैं । आशा छ, भगवद्कृपाले फेरि पनि यस्तै-यस्तै धार्मिक यात्राका सुअवसरहरु प्राप्त भई नै रहनेछन् ।
***अस्तु***
क) यात्रु २७ जना :
गोमा आचार्य, सती शिलवाल, शिवप्रसाद ढुंगाना, सबिता ढुंगाना, शिरोमणि रिसाल, सरस्वती रिसाल, नरेन्द्रराज मिश्र, रजनी मिश्र, लक्ष्मी धिताल, लक्ष्मी पाण्डे, गिता विष्ट, कल्पना कंडेल, श्रीराम पौडेल, परमेश्वरी पौडेल, प्रभा पौडेल, आकार शर्मा, ईन्दिरा खरेल, रमा खरेल, उमा पुडासैनी, बिष्णु बस्नेत, अनिता बस्नेत, बिष्णु कुँवर, सरस्वती कुँवर, कल्पना मिश्र, सम्पदा मिश्र, कौशलराज मिश्र र मुरारीराज मिश्र ।
ख) व्यवस्थापक टिम ७ जना :
हरिशरणं तीर्थयात्रा, प्रोप्राइटर- मोहनप्रसाद अधिकारी, चालक २ जना, भान्सा व्यवस्था २ जना, अन्य २ जना ।
जम्मा ३३ जना
ग) अवधि : २०७६ साल जेठ २३ देखि जेठ २९ गते सम्म ।
Comments
Post a Comment