नारी


✍️ मुरारीराज मिश्र

नारी हुन् प्रेमको बाली, उब्जने खेतका गरा ।

उब्जाई खुशीकाे बाली, पार्छिन् गृह हराभरा ।।

सहन्छिन् दुखका भारी, गुनासो गर्दिनन् उनी ।

निस्वार्थ भाव मात्रै छ, लाेभ देखिन्न क्यै पनि ।।


बसन्त ऋतु हुन् नारी, हरियाली सबैतिर ।

फूल्दछन् फूल मायाका, प्रेम सिंच्दा उनीतिर ।।

नारी हुन् काेकिलाकण्ठी, सुनाैं लाग्ने संधैभरी ।

राखाैं लाग्छ उनैलाई, यी आँखाकै वरिपरि ।।


स्नेहकाे मह घाेलेर, सबैलाई पिलाउँछिन् ।

म छु है दुखकाे साथी, भनी ढुक्क बनाउँछिन् ।।

सुखमा रम्दछिन् साह्रै, पीडामा हात थाम्दछिन् ।

बनेर बलियो खम्बा, नारी गृह सम्हाल्दछिन् ।।


घर बारी उज्यालिन्छ, नारीले मुस्कुराउँदा ।

आधा दु:ख त्यसै घट्छ, नारीले सुम्सुम्याउँदा ।।

नारीकै साथले चल्छ, जिन्दगी सहि ढंगले ।

नारी त्याे प्राणवायु हाे, खाेज्दछन् अङ्ग अङ्गले ।।


भालेकाे डाक देखि नै, फुर्सद् मिल्दैन तापनि ।

थाकेको छु म भन्दिनन्, नारीले कहिल्यै पनि ।।

जिन्दगी कसरी ज्यूने, नारीले त्यो बताउँछिन् ।

पिएर आँसुकाे प्याला, नारी हाँस्न सिकाउँछन् ।।


देवता बस्न सक्दैनन्, सबैका घरमा भनि ।

पठाए दैवले नारी, पृथ्वीमा जाऊ लाै भनि ।।

मायाकी खानी हुन् नारी, आमा र पत्नी रुपमा ।

भविष्य बन्छ नारीकै, स्नेहपूर्ण विवेकमा !!

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...