भगवान श्रीकृष्णकाे तुलादान
जब सत्यभामाकाे अहंकार हट्याे ....
श्रीकृष्णका आठ पत्नीहरु (रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा) मध्येकी एक सत्यभामालाई उनको पुण्यक व्रतकाे समापनकाे क्रममा पुरोहितकाे रूपमा रहेका नारदजीले आफ्नाे सबैभन्दा प्रिय वस्तु दानका लागि संकल्प गर्न भन्नुभयो । सत्यभामाले भूलवश श्रीकृष्णलाई नै आफ्नो प्रिय वस्तुको रुपमा दान संकल्प गर्न पुग्नुहुन्छ । याे दानका कारण भगवान श्रीकृष्ण नारदजीकाे अधिनमा (दास) हुनुभयो ।
दानपछि आफ्नोे गल्ती महसुस गरेर नारदजीसंग सत्यभामा श्रीकृष्ण आफूलाई फर्काईदिन अनुराेध गर्नुहुन्छ ।
याे सुनेर नारदजीले “दानमा दिएको वस्तु फिर्ता गर्न नमिल्ने तर यस्काे बदलामा आफूलाई अरु नै केही दिन तयार भएमा फर्काउन सक्छु” भन्नुभयो ।
नारदजीबाट यस्तो मुरा सुनेपछि सत्यभामा खुशी भएर भन्नुहुन्छ “साँच्चै फिर्ता गर्नुहुन्छ त मुनिवर ?”
नारद भन्नुहुन्छ “हाे देवी, आफ्नो पतिमाथि तपाईंको यति गहिराे प्रेम भावना देखेर मेरो मन पग्लियाे र मैले श्रीकृष्णलाई मुक्त गर्ने निश्चय गरें । तर यस्काे बदलामा केही मूल्य मलाई दिनुहाेस्।”
सत्यभामा भन्नुहुन्छ “केही काे के कुरा भयाे र मुनिवर ! म उहाँकाे साटाे यति धेरै धन दिन्छु कि त्यति धन आजसम्म कसैले कसैलाई दिएकाे छैन् । म संग यति धेरै मणि-माणिक्य, पन्ना, रत्न, हीरा, जवारात, सुन, चाँदी, असर्फीहरु छन् कि, तपाईं जम्मा गर्दागर्दै थाक्नुहुनेछ तर ती सकिंदैनन् !”
सत्यभामाकाे कुरा सुनेर नारदजी भन्नुहुन्छ- “नारायण नारायण ! मैले यति धेरै धन लिएर के गर्नु ? फेरि शास्त्रले पनि भन्छ कि, ब्राह्मणले लोभी बन्नु हुँदैन । त्यसमाथि म त झन् सन्यासी, म त्यतिमात्रै लिन्छु जति शास्त्रले ताेकेकाे छ !”
सत्यभामा साेध्नुहुन्छ “शास्त्रले ताेकेकाे मर्यादा कति हाे त मुनिश्रेष्ठ ?”
नारदजी भन्नुहुन्छ “शास्त्र भन्छ, यस्ताे परिस्थितिमा उहाँ (श्रीकृष्ण) काे ताैल बराबर कुनैपनि वस्तु प्रायश्चितकाे रुपमा स्वीकार गर्न मिल्छ ।”
सत्यभामा साेध्नुहुन्छ “कुनै पनि वस्तु अर्थात ?”
नारदजी भन्नुहुन्छ “नारायण नारायण ! जे भएपनि हुन्छ । अर्थात् फल, फूल, अन्न, पात आदि जेसुकै पनि तपाईँ श्रद्धाले उहाँको ताैल बराबर दिनुस् मलाई त्याे स्वीकार हुनेछ ।”
सत्यभामा भन्नुहुन्छ “धन्यवाद देवर्षि ! जब म सत्यभामा स्वयंले श्रीकृष्णकाे तुलादान गर्दैछु भने के म फूल-पात आदिले गराैंला त ? म त, मणि-माणिक्य, पन्ना, रत्न, सुन, चाँदी आदि बहुमूल्य बस्तुहरुले नै उहाँको तुलादान गर्नेछु !”
याे गर्वयुक्त कुरा सुनेर नारदजीले हाँस्दै भन्नुभयो “नारायण नारायण ! जस्तो तपाईंको ईच्छा देवी ! ल त अब तुलादानकाे प्रबन्ध गर्नुहाेस् ।”
उता सत्यभामा तुलादानकाे तयारीमा लाग्नुभयाे । यता श्रीकृष्ण नारदमुनीलाई हेरेर मुसुक्क हाँस्नुभयाे ।
उपस्थित सबैकाे सामु तुलादान प्रारम्भ भयाे । तराजुकाे एकतर्फ श्रीकृष्ण बस्नुभयाे । अर्कोतर्फ सत्यभामाले मणि-माणिक्य, पन्ना, रत्न, सुन, चाँदी आदि बहुमूल्य बस्तु हालेर ल्याएका सुवर्णकाे थाल राख्दै जानुभयो । सयाैं थाल राखिसक्दा पनि तराजु माथिका माथि नै देखियो । श्रीकृष्ण बसेकाे भाग एकरत्ति हल्लिएन ।
सत्यभामाले तराजुमा पुनः भरिएका थालहरु थप्दै जानुभयाे । अन्ततः सत्यभामाकाे सबै खजाना सकियो तर तराजु रत्तिभर हल्लिएन ! सत्यभामाले फेरि आफ्नाे शरीरको सबै गहना फुकालेर तराजुमा राख्नुभयाे तर पनि जस्ताको तस्तै, क्यै परिणाम आएन !
याे सबै हेरिरहनु भएकी रुक्मिणी बिस्तारै निराश भएकी सत्यभामा सामु पुग्नुभयाे । रुक्मिणीलाई देखेर सत्यभामा भन्नुहुन्छ “दीदी ! म संग जे जति थियो सबै यिनलाई अर्पण गरिसकें तैपनि किन केही भएन ?”
रुक्मिणी भन्नुहुन्छ “बहिनी सत्यभामा, तिमीले सबै कहाँ अर्पण गर्यौ र ! अझैपनि तिमीसंग ओैंलामा एउटा ओैंठी त बाँकीनै छ नि !”
सत्यभामा हतास स्वरमा भन्नुहुन्छ “त्यत्तिका मणि-माणिक्य, पन्ना, रत्न, हीरा, जवारात, सुन, चाँदी, असर्फीहरूले त केही नभएको याे जावाे ओैैंठीले के हुन्छ र !!!”
रुक्मिणीले सत्यभामाकाे ओैंलाबाट ओैंठी फुकाल्दिंदै स्नेहवश भन्नुभयो “आभूषण भनेका त शरीरको बाहिरी आडम्बर हुन् लाटी ! के यीनैका सहारामा तिमीले श्रीकृष्णलाई जाेख्न खाेजेकी ! आखिर देख्याै नि त्यस्काे परिणाम ! श्रीकृष्णलाई धनले हैन मनले, आफ्नो आत्माकाे अनुरागले र पत्नीकाे भावनाले जाेख ! यी धनसम्पती, गहना आदि तिम्रो अहंकारका प्रतीक थिए, राम्रै भयाे जाे यी सबै तिमीले श्रीकृष्णलाई अर्पण गर्यौ ! अब एक भक्तकाे रुपमा उनको पुकारा गर ! भक्ति र प्रेम श्रीकृष्णकाे कमजोरी हाे, यसबाट मात्रै उहाँ हार्नुहुन्छ, धन र अहंकारकाे शक्तिले हाेईन !”
(तराजुमा बस्नुभएका श्रीकृष्ण भने सत्यभामालाई हेर्दै मुस्कुराईरहनु भएको थियाे) ।
रुक्मिणीले फेरि सत्यभामालाई भन्नुभयो “जाऊ, अब याे अन्तिम आभूषण पुरै श्रद्धाले आफ्नाे आत्मै देखि समर्पण गरिदेऊ तराजुमा ! निश्चय नै जीत तिम्रै हुनेछ सत्यभामा ! अब, धनकाे अहंकार छोड, श्रीकृष्ण त तुलसीकाे एउटै पातबाट पनि रिझिनु हुन्छ ।” यति भनेर रुक्मिणीले तुलसीकाे एउटा पात ओैंठीमा घुसारेर सत्यभामालाई दिनुभयो ।
सत्यभामाले त्यस ओैैंठीलाई हातमा लिएर आफ्नाे शिरमा छुवाई पूर्ण श्रद्धा र भक्तिभावले जब तराजुमा राखिदिनुभयो तब चमत्कार देखियो ! श्रीकृष्णकाे तराजु एकाएक माथि पुग्याे ।
याे देखेर अचम्म मान्दै सत्यभामाले प्रसन्न र आँसु भरिएको आँखाले भक्तिपूर्वक श्रीकृष्णलाई हेर्नुभयाे । श्रीकृष्ण पनि सत्यभामाकाे अहंकार हटेको देखेर मुसुक्क मुस्कुराउनुभयो ।
***
Comments
Post a Comment