मेरी आमा र ईश्वर
देवता कस्ता हुन्छन् ?
खै, मैले देवता देखेको छैन आजसम्म !
तर लाग्छ मलाई
उनी मेरी आमा जस्तै होलान्
मलाई चोट लाग्दा रुने,
म रुँदा फकाउने ,
नराम्रै भएतापनि मेरा अनुहारलाई
संसारकै सुन्दर ठान्ने,
चुहिने झुपडीमा बस्ने मलाई
राजा भनेर बोलाउने !
देवता त सर्वज्ञानी हुन्छन् रे
शायद मेरी आमा जस्तै होलान् !
मैले बोल्न नजान्दा पनि
मेरा मनका कुरा बुझ्ने
मलाई भोक लागेको,
पीडा भएको,
र, मेरा हरेक आवश्यकता
मैले नभन्दा पनि बुझ्ने !!
ईश्वरले पालनपोषण गर्छन् रे
मेरी आमाले पनि गर्थिन्
आफ्ना छाती चुसाएर !
ईश्वरले प्रेम सिकाउँछन् रे
मेरी आमाले पनि सिकाउँथिन्
पशुपंक्षी र बोट बिरुवालाई समेत
मायां गर्नुपर्छ भन्थिन् !
ईश्वरले सुरक्षा गर्छ रे
मेरी आमाले पनि गर्थिन्
पाइला पाइलामा कवच बनेर !
अनि, के फरक होला त
ईश्वर र मेरी आमाका बिचमा ?
पक्कै पनि मेरी आमा र ईश्वर
उस्तै–उस्तै होलान् !
त्यसैले त होला,
आमा बित्नुभएको आज बर्षाैं पछि पनि
कतै ठेस लाग्दा
म उहाँलाई नै सम्झेर 'आमा...' भन्छु !!
✍ मुरारीराज मिश्र
(कुमारीगाल, कामपा– ७)
Comments
Post a Comment