काव्य आकाशमा नयाँ नक्षत्र : छेस्का


✍️ मुरारीराज मिश्र 

अहिलेको व्यस्त समयमा मानिसहरुसँग ठूला आकारका साहित्यहरु पढ्ने समय, अझ भनुं धैर्यता रहेको पाइन्न ।  मानिसहरु साहित्यका लघुतम विधातर्फ आकर्षित हुँदै आएका देखिन्छन् । यसैकाे फलस्वरूप साहित्यका विधाहरुमा समयसमयमा नयाँ-नयाँ प्रयोगहरु पनि हुँदै आइरहेका छन् । विशेषगरी कविताको क्षेत्रमा यस्तो प्रयोग बढी भएको देखिन्छ ।समयक्रमसँगै लामा-लामा र क्लिष्ट कविताहरु भन्दा छाेटा आकारका काव्य तर्फ मानिसहरुको अभिरुचि बढ्दै गइरहेको छ । यसैक्रममा मुक्तक, हाइकु, शीत, बुँद, उदक, झर, बाछिटा, डाली, सुसेली, साईनाे लगायतका नविनतम साहित्यिक विधाहरुकाे उदय हुँदै आएकाे मान्न सकिन्छ ।

पछिल्लो समय २०७६ सालकाे उत्तरार्धतिर कविताकाे लघु रुपमा, पन्ध्र अक्षरलाई पाँच-पाँच अक्षरकाे समान तीन लाइनमा पूर्ण आकार दिने गरि साहित्याकाशमा "छेस्का" काे उदय भयाे । कविताको उपविधा अन्तर्गत अक्षर गन्ने कविताकाे रुपमा याे सबैभन्दा कान्छाे विधा थियो । यस्काे प्रणेता साहित्यकार विनाेद नेपाल 'बैगुनी' ले, 'हाइकु लेख्ने क्रममा पन्ध्र अक्षरीय उक्त संरचनाले आफूलाई आकर्षित गरेपछि यस्काे च्वास्स बिझ्ने छाेटाे, राेचक र घाेचक शब्द समूहलाई "छेस्का" नामाकरण गरि सार्वजनिक गरेकाे' कुरा छेस्का  परिचय सम्बन्धि साहित्यपाेष्टमा प्रकाशित आफ्नो लेखमा उल्लेख गर्नुभएको छ । छेस्काकाे संरचनात्मक रुपमा उहाँद्वारा जन्मिएको पहिलाे छेस्का यस्तो छ -
मर्म नपरी
आँखाको झरी
झर्छ कसरी ! (विनोद नेपाल/२०७६-८-२४)

साहित्यमा एउटा भनाइ प्रचलित छ- जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि' । यसै भनाइमा प्रतिविम्बित भाव जस्तै, समाज भित्रका विकृति, विसंगति, प्रेम, याैन, जीवन, जगत, राजनीति, प्रकृति धर्म, संस्कृति लगायतका कुनै पनि बिषयमा प्रवेश गरि छेस्का रचना गर्न सकिन्छ । शाब्दिकरुपमा छेस्का भन्नाले सानाे आकारकाे च्वास्स घाेच्ने/बिझ्ने काठको रुपलाई जनाए जस्तै, साहित्यिक छेस्का पनि मानिसका मनमा त्यस्तै च्वास्स घाेच्चे र बिझ्ने खालकाे पन्ध्र अक्षरकाे सशक्त शब्द समूह हाे । यस्काे पन्ध अक्षरकाे रुपले सामुहिक भाव र विचार सम्प्रेषण गर्नुपर्छ । पहिलाे लाइनले बिषयबस्तुकाे उठान गरि दाेश्राे र तेश्राे लाइनले क्रमशः उत्कर्षता प्रदान गर्नु छेस्काकाे बिशेषता हाे ।

छेस्का रचना गर्दा पहिलाे-दाेश्राे, पहिलाे-तेश्राे, दाेश्राे-तेश्राे वा पहिलाे-दाेश्राे-तेश्राे तीनैवटा लाईनमा पनि अनुप्रास राख्न सकिन्छ । तर, तीनैवटा लाइन वा पहिलो र तेश्राे लाइनमा अनुप्रास भएका छेस्का बढी उपयुक्त मानिन्छन् । हुन त, स्वतन्त्र र अनुप्रासमुक्त छेस्का लेख्न नमिल्ने हाेईन, लेखिंदै आएका र सशक्त खालका पनि देखिन्छन् । तापनि लयात्मक र अनुप्रासयुक्त भएमा याे वाचन गर्दा सुमधुर र कर्णप्रीय हुन्छ भन्ने मान्यता हाे । यसमा खुट्टा काटिएका हलन्त अक्षर बाहेकका पूर्ण अक्षरकाे मात्रै गणना गरिन्छ । माथिबाट तलतिर वा तलबाट माथितिर गरि दुबैतिरबाट पढ्दा समभाव र अर्थ दिने खालका छेस्का उत्कृष्ट मानिन्छ । एउटा सरल वाक्यांशलाई टुक्र्याएर अक्षरीय संरचनामा ढाल्दैमा वा पन्ध्र अक्षर, अप्रासंगिक लाईन र जबर्जस्ती अनुप्रास मिलाउँदैमा त्याे छेस्का बन्दैन ।

स्रष्टाले सृजना गर्ने हाे । तर यस्काे रसास्वादन र मीठासकाे अनुभूति पाठकले  गर्ने भएकाले छेस्का प्रचुर भाव प्रधान हुनुपर्छ । साथै यसमा मीठास र मनमस्तिष्कमा चसक्क बिझ्ने बिशेषता हुनुपर्छ । थाेरै अक्षरमा धेरै कुरा बताउनुपर्ने भएकाले एउटा छेस्कामा एउटै शब्द दाेहाेर्‍याउनु र क्लिष्ट शब्दहरुकाे प्रयाेग गर्नु त्यति राम्रो मानिन्न । भाषागतरुपमा जति सरल भयाे याे उति नै मीठो हुन्छ । छेस्कामा उखान-टुक्काहरुलाई पनि आफ्नो ढाँचामा ढालेर प्रयोग गर्न सकिन्छ । स्थानीय भाषाकाे प्रयाेग गर्दा प्रसंग मिल्ने गरि समावेश गर्दा आपत्ति हुन्न तर त्यस्काे अर्थ स्पष्ट बुझिने हुनुपर्नेमा ध्यान पुर्‍याउनु उत्तिकै जरुरी हुन्छ । समसामयिक बिषयमा लेखिएका तलका केही प्रतिनिधि छेस्काहरुले यसकाे संरचना र स्वरुपकाे परिचय दिन्छन् ;
***
फेरिन्छ पात्र 
चरित्र उस्तै 
निराशा मात्र । (किशन पाैडेल)
***
पाण्डवसंग
काैरवहरु
देख्दै झसङ्ग ! (खगेन्द्र बस्याल)
***
मान्छेकाे जात
पायाे कि माैका
हान्दछ लात ! (एल.पी. पराजुली)
***
हरामी बल्छ
सुनामी चल्छ 
इमानी ढल्छ ! (टंक पन्थ)
***
अनाैठाे मेल
ताेरी र काेदाे
पानी र तेल ! (विनोद नेपाल)
***
सभ्यता नाश 
ढल र मल
नदीमा राश ! (ओम आचार्य)
***
देखियो यस्तै
देश नेताका
दाइजो जस्तै ! (मुरारीराज मिश्र)
***
बिग्रियाे मति
कुबाटाे हिँड्दा
आफ्नै दुर्गति ! (जयनारायण नेपाल)
***
असार पन्घ्र
सम्झायाे रीति
दही चिउरा ! (हृदय लेकाली)
***
बिझाए छेस्का
छर्लम्म ऐना
रक्ताम्ये हात ! (निरा सुब्बा)

माथिका छेस्काहरुमा वर्तमान राजनीति, नेताका ब्यक्तिवादी चिन्तन, मानिसका चरित्र, सामाजिक विकृति, प्रकृति र सभ्यतामाथिकाे अतिक्रमण, संस्कृति लगायतका बिषयबस्तुहरु सटीक र सरल ढंगबाट प्रतिविम्बित भएका छन् । जन्मेर अाैपचारिक संरचनात्मक स्वरुप धारण गरेको छाेटाे समयमा नै चर्चा परिचर्चा बटुलेर साहित्याकाशमा चम्कन सफल छेस्का, कविता साहित्यकाे क्षेत्रमा सशक्त प्रहार मार्फत समाजलाई आफ्नो अनुहार देखाउने दर्पण बन्दैछ । अत्यन्तै छाेटा भएकाले, लामा-लामा कविता भन्दा छेस्काहरु स्वाभाविकरुपमा नै सरल र मीठासपूर्ण हुन्छन् । छेस्का लेखनमा पुराना सिद्धहस्त देखि नयाँ-नयाँ स्रष्टाहरुका समेत कलम चलेको छ । यी सबै कुराहरुलाई दृष्टिगत गर्दा, 'छेस्काले साहित्य जगतमा आफ्नो बेग्लै पहिचान बनाइसकेकाे छ र कविताकाे उपविधाकाे रुपमा यस्काे साहित्यिक भविष्य उज्वल देखिन्छ' भन्नुमा शायद कुनै अत्युक्ति नहाेला । 
-अस्तु-

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...