हाम्रा धर्मशास्त्रमा पिताको महत्व

                      ✍️ मुरारीराज मिश्र 

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।  

पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।  

पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।  

तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।  

(अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।”  

माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  हामी  आमालाई पृथ्वीसंग तुलना गर्छाैं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने अर्थ नलगाईयोस, आमाको तुलना त कोहि कसैसंग पनि हुनै सक्दैन । छोराले रुन हुंदैन भन्ने सामाजिक मान्यता रहेको हाम्रो समाजमा दिनरात सन्तान खुशी र सुखका लागि आफ्ना दुःख भुलेर मेहेनत गर्ने र परिवारको मूली र भरोसाका केन्द्रको रुपमा रहेर आमाको समेत अभिभावक भई परिबारका लागि अबिचलित कर्तब्यपालन गर्ने पिताको महत्व देखाउन खोजिएको मात्र हो । सारमा भन्दा, आफू्ु हारेर जस्ले सन्तानलाई जिताउँछ त्यो पिता हो । 

सामान्यतया पिता भन्नाले हामी जन्मदातालाई सम्झन्छौं । तर पिता शब्दले ब्यापक अर्थ राख्छ । संस्कृतमा एउटा श्लोक छ – 

“बिद्यादाता, जन्मदाता, कन्यादाता तथैव च, 

अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृताः ।” 

(अर्थात्: बिद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालन पोषण गर्ने ब्यक्ति तथा डर र त्रासबाट रक्षा गर्ने पाँचथरी ब्यक्तिलाई पञ्चपिताको रुपमा लिईन्छ ।) यस्तै, हाम्रो धर्म, संस्कृति र परम्पराले बाबुका दाजु–भाई तथा हजुरबुबालाई पनि बाबु सरह नै पूज्य मानेका छन् । 

महाभारतको वनपर्व अन्तर्गत यक्ष–युधिष्ठिर संवादको क्रममा “...पिता चोच्चतरं च खात्” भनेर पितालाई आकाशभन्दा बिशाल भनिएको छ । अर्थात्  पिताको हृदय-आकाशमा आफ्ना सन्तानका लागि जुन असीम मायाँ हुन्छ त्यसको वर्णन गर्न सकिन्न । पिता र सन्तानका बिचमा कति प्रेम, स्नेह, मोह वा त्यागको भावना हुन्छ भन्ने कुरा आफ्ना आज्ञाकारी पुत्र श्रवण कुमार तथा राम–लक्ष्मणको बियोगमा उनीहरुका पिताले प्राण त्यागेका र पिताको सुखका खातिर आफू आजीवन अविवाहित रहने र राजगद्दिमा दावा नगर्ने भिष्म प्रतिज्ञा गरेका देवब्रत लगायतका ऐतिहासिक उदाहरणबाट पनि बुझ्न सकिन्छ । हामीले देवता देखेका छैनौ तापनि हामी आपद् विपत आईपर्दा रक्षार्थ र सहयोगार्थ देवतालाई नै पुकार्छाैं । तर हाम्रा हरेक बाधा ब्यवधान फुकाईदिने र हरेक आवश्यकता पुरा गर्ने पितालाई भने हरक्षण भुल्छौं । वास्तवमा पिता हाम्रा लागि साक्षात् देवता र देवतुल्य स्तुत्य हुन्छन् । अर्थात् “सर्वदेवमयः पिता” । पुराण-शास्त्रहरु भन्छन्, पिता आचार्यका पनि आचार्य हुन । “उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता” । दसजना उपाध्याय भन्दा ठूला 'आचार्य' र सय आचार्य भन्दा ठूला ‘पिता’ हुन्छन् । अर्थात् पिता महाचार्य हुन ।  

हाम्रो धार्मिक ग्रन्थहरु, वेद, पुराण, शास्त्र र परम्पराहरुले पितालाई यति उच्च स्थान दिंदा दिंदै पनि आजको भौतिकतावादतिर लम्किरहेको हाम्रो समाजमा माता–पिताहरु आफ्नै सन्तानहरुको अवहेलनामा परिरहेछन । समाज आधुनिक बन्दैछ, आमाबुबाहरु एक्लिँदै छन् । हिजो आजका सन्तानहरुमा पैतृक धनसम्पतिमा हक खोज्ने तर बुबा–आमाप्रतिको कर्तब्य भुल्ने, उचित सम्मान र रेखदेख नगर्ने, उनीहरुलाई मार्गदर्शक भन्दा पनि बोझ मान्ने प्रवृत्ति मौलाउँदै छ । संयुक्त परिवारको प्रचलन हट्दै गएको शहरी संस्कृतिले गर्दा आफ्नो पाखुरीमा बल र सम्पती सकिएपछि सन्तानले गर्ने हेंला तथा सन्तानमा पलाएको बिदेशमोह र बिदेश गएपछि नफर्कने प्रवृत्तीजस्ता कारणले पनि माता–पिताहरुको बृद्धावस्था कष्टकर हुंदै गएको छ । यो सबै सन्तानहरुलाई नैतिक  शिक्षा र सच्चरित्र दिन नसकेकोे कारणले हो ।  

बास्तवमा प्रत्येक सन्तानले आफूलाई आफ्ना माता–पिताले कस्ता कष्ट ब्यहोरेर हुर्काएछन् भन्ने महसूस आफू माता–पिता भएपछि गर्नुपर्ने हो, तर समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसूस गरेको देखिन्न । एउटा बाबुले आफ्ना जतिवटा सन्तान् भएपनि कसैगरी हुकाउँछन् तर सबै छोराहरु मिलेर एउटा बाबुलाई (अपवाद बाहेक) बुढेसकालमा राम्ररी राख्न सकेको देखिन्न । सन्तानहरु स्वार्थी भएजस्तै माता–पिता पनि स्वार्थी भईदिए भने समाजको हालत कस्तो हुन्छ ? यो कुरा सन्तानहरुलाई बुझाउनु र बुझ्न जरुरी छ । माता–पिताको सम्मानार्थ समाज र राज्यबाट पनि पहल हुनुपर्ने हो । तर राज्यले यसतर्फ नजरअन्दाज गरेको देखिन्छ । आमा र बुबाको मुखहेर्ने पर्वहरुका दिनमा दिंदै आएको बिदा कटाईएको अवस्था छ । हुन त, बिदाले आमा-बुबाप्रति सम्मान गर्न सन्तानलाई बाध्य पार्दैन तर माता-पिताको सम्मान गर्न नैतिक दवाव भने पक्कै पनि दिन्छ । तसर्थ यी दिनहरुमा शिक्षण संस्थाहरुमा मात्रै भएपनि सार्वजनिक बिदा र कम्तीमा माध्यमिक तहसम्मको पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्नु जरुरी छ । यस्तै, पैतृक सम्पत्तीमा सन्तानको हक लागे झैं सन्तानको आम्दानी/सम्पत्तीमा पनि आमा-बाबुको निश्चित प्रतिशत हक लाग्ने कानून बन्नु पर्छ । यसबाट उनीहरुलाई आफ्ना जन्मदाताहरुप्रतिको कर्तब्य बोध वा जिम्मेवारी स्मरण गराउँछ । 


भनिन्छ- “बाबु-आमाले दशौं सन्तानलाई हाँसी खुशी पाल्छन् तर दशौं सन्तानले एउटा बाबु-आमालाई बृद्धावस्थामा पाल्न सक्दैनन्”, हामीले यो भनाईलाई गलत सिद्ध गर्नु पर्छ । हामीले गरेका कर्म र ब्यवहारका सिको नै हाम्रा सन्तानहरुले गर्ने भएकाले पछि पछुताउन नपरोस् । त्यसैले समय छंदै बिचार पुर्‍याऊँ । माता-पिताको सम्मान उनीहरुको जीवनकालमै गरौं । जिउँदोमा लात, मरेपछि घिउ-भात भनेझैं मृत्युपछि गर्ने आडम्वरले केहि अर्थ राख्दैन । जिउँदो छंदा उनीहरुलाई संधै रुवाएर मृत्यु पश्चात् गोहीको आँसु चुहाउनु ब्यर्थै छ ।  

(कुमारीगाल, उमामहेश्वर मार्ग, का.म.पा.– ७)                                                                                  याे लेख २०७८-५-२२ काे नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...