कुहिएका खाना खुवाएर धर्म आर्जन हुँदैन

हुन त, धर्म भन्ने कुरा मानिसको ब्यक्तिगत आस्थाको बिषय हो । कसैलाई पूजापाठ र तीर्थस्थल भ्रमणबाट धर्म आर्जन हुन्छ भन्ने लाग्छ त कसैलाई दान र सेवाबाट । आफूलाई जे रुचिकर लाग्छ त्यै नै गर्ने मानवीय स्वभाव भएकाले अरुलाई अप्ठ्यारो नपरुन्जेल कसैको व्यक्तिगत रुचिप्रति अरुले अन्यथा मान्नुपर्ने कुरै छैन । हाम्रो समाज आडम्बरी पनि छ । अझै पनि दान गर्न तथा देवतालाई चढाउन दैनिक प्रयोगमा आउने भन्दा कमसल र सस्तो सामान किन्छन् मानिसहरु । जवकि, यस्तो कार्यमा राम्रो गुणस्तरको बस्तुको प्रयोग गर्नु पर्ने हो । ताकि दिनेलाई पनि आत्मसन्तुष्टि होस् र पाउनेले पनि राम्रोसँग प्रयोग गर्न पाओस् । 

प्रसंग, गौरीघाट, गुह्येश्वरी र पशुपति क्षेत्रतिर बाँदरलाई खाना खुवाएर धर्म आर्जन गर्न खोज्ने ब्यक्तिहरुको नैतिकता र प्रवृत्तिको हो । दैनिकरुपमा उक्त स्थानहरूमा बाँदरलाई खाना खुवाउने नाममा कुहिएर फाल्नुपर्ने अवस्थाका फलफुल, कालो निलो ढुसी परेका रोटी–पाउरोटी–पीठोका डल्ला र बिस्कुट आदि यत्रतत्र फालेको देखिन्छ । कसैकसैले त भरियालाई नै बोकाएर उक्त सामानहरु ल्याएर यत्रतत्र छर्ने गरेका छन् । मानौं, कुहिएका फलफूल र अखाद्य सामाग्री व्यवस्थापन गर्ने थलो हुन् यी धार्मिक स्थानहरु ! यस्ता अखाद्य बस्तु खुवाउँदा बाँदरको संरक्षण हुन्छ कि रोगाएर मर्छ ? गौरीघाटको सिँढीमा जथाभावी फालेका (कुहिएर बाँदरले पनि नखाएका) केरा लगायतका फलफूल र पीठोमा चिप्लिएर तथा खानाका लागि जम्मा भएका बाँदरले झम्टेर धेरै मान्छेहरु घाइते भएका छन् भने कतिका त हातखुट्टा समेत भाँचिएका छन् । यस्को जिम्मा कस्ले लिने ? घाइते मान्छे र रोगाएका बाँदरका आत्माबाट निस्केका पीडाले सम्बन्धितहरुलाई पोल्ला कि धर्मार्जन होला त्यो त उनीहरू नै जानुन, तर – जथाभावी फलफूल र अखाद्य सामाग्री नछर्न अनुरोध गर्ने भक्तजनहरुलाई ती ’दानवीर’ हरुले गालीगलौज गर्ने र पीट्न खोज्ने समेत गर्दा पनि नजिकै रहेका सुरक्षाकर्मीको मौनता र निष्क्रियता भने उदेकलाग्दो देखिएको छ ! यसबारेमा उनीहरुसंग गुनासो गर्दा, “हामीले भनेको पनि पटक्कै टेर्दैनन्” भनेर सुरक्षाकर्मीहरु पन्छिने गरेका छन् ।

बाँदरहरु भनेका यस क्षेत्रका सौन्दर्य/गहना हुन । यिनीहरूको संरक्षण हुनैपर्छ । तर, जथाभावी खुवाएर पशु संरक्षण पक्कै हुँदैन । यस्तो कार्य पशुपति क्षेत्र बिकास कोष र सम्बन्धित निकायहरुबाट ब्यवस्थित र संस्थागतरुपमा नै हुनुपर्छ । कसैलाई पनि ठाउँ–कुठाउँमा यसरी जथाभावी खुवाउने छुट दिनु हुँदैन । कि त, खाना खुवाउन चाहनेले ल्याएका खाद्यवस्तुको गुणस्तर परिक्षण अनिवार्य गरिनुपर्छ । ताकि धर्मको आडमा अखाद्यले रोगाएर बाँदरको मृत्यु नहोस् र मानव स्वास्थ्यमा समेत कुनै असर नपरोस् ! कि, उनीहरुबाट निश्चित रकम लिएर दाताको ईच्छा अनुसारको खाना उनीहरुको रोहवरमा तोकिएको स्थान र समयमा सम्बन्धित निकायले नै स्वस्थकर सामान ल्याएर खुवाउने ब्यवस्था मिलाईदिनुपर्छ । साथै, यस कार्यको निरन्तर अनुगमन हुनु पनि जरुरी छ । 

हाम्रा धर्मशास्त्रहरुले मानव लगायत सबैको आत्मा एकै हो भन्दै सबै प्राणीलाई समान नजरले हेर्न सिकाएका छन् । त्यसैले आफूले मीठो र स्वस्थकर खाना खाने र पशुलाई चाँही कुहिएको खुवाउने प्रवृत्तिलाई हामी सबैले त्याग्नु उपयुक्त हुन्छ । अन्त्यमा, श्रीमद्भागवत गीताको नेपालीभाषामा अनुवादित कोमल गीतामा उल्लेखित भगवान श्रीकृष्णका सबैप्रति समभाव दर्शाउने यी बचनलाई यहाँ उल्लेख गर्न चाहें – 

“गाई, हात्ती र चण्डाल, कुत्ता, सर्बज्ञ ब्राह्मण ।
ज्ञानीको दृष्टिमा एकै हुन्छन् है बुझ अर्जुन ।।
                                                                                                   ✍ मुरारीराज मिश्र
                                                                                                  ईमेलः mrmishra@live.com

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...