तीर्थयात्रा डायरी २०७८
नेपालको चारघाम मध्येको एक धाम मानिने रिडी क्षेत्रमा श्राद्ध गर्ने तथा केही धार्मिक स्थानहरूको दर्शन गर्ने उद्देश्यले दशैंकाे त्रयोदशीका दिन २०७८ कार्तिक १ गतेका दिन बिहान सानाे गाडीमा ९ जनाकाे टाेली प्रस्थान गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थियोे । तर भ्रमणकाे केही घण्टा अघिमात्रै भ्रमण टाेलीका केही सदस्यहरुलाई छेकथुन परेको कारण अन्तिम समयमा आएर हाम्रो भ्रमण कार्यक्रम अकस्मात् स्थगित गर्नुपर्ने अवस्था आयो । जाने सबै तैयारी भईसकेपछि अन्तिम समयमा जान नमिल्दा ज्यादै खल्लो महसुुस भयाे । हामीलाई यात्रामा लैजान भाेलिपल्ट बिहान ५ बजे आउने तय भएको गाडीलाई फाेन गरेर भ्रमण राेकिएकाे जानकारी गरायौं । राति राम्ररी निन्द्रा लागेन । साँझदेखि गडबडीएकाे माैसमका कारण रातिबाट हुरी बतास र चट्याङ सहित मुसलधारे पानी पर्न थाल्याे । बिहानसम्म पनि पानी पर्न राेकिएकाे थिएन । साे बेमौसमी बर्षाका कारण देशभर बाढी पहिरो आउँदा व्यापक मात्रामा जनधनको क्षति भएकाे, सडक अवरुद्ध भएर सयाैं सवारीसाधन र यात्रुहरु बिचल्लीमा परेका खबरहरु सार्वजनिक भए । अनि लाग्याे, शायद यस्तै बिपत्तिबाट हामीलाई बचाउन नै भगवानले हाम्रो पूर्वनिर्धारित भ्रमण कार्यक्रम स्थगित गरिदिनु भएकाे पाे हाे कि !
भ्रमणको सबै तैयारी भईसकेकाले मन्दिर जाने भाकल पूरा गर्न पुन: अर्को समय तालिका निर्धारण गर्ने सल्लाह हुँदा, कार्तिक २४ गतेका लागि कार्यक्रम तय भयाे । हामी भ्रमणमा जाने कार्यक्रम थाहा पाउनुभएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले आफूहरु पनि जानका लागि ईच्छुक भएको बताउनु भएपछि नामावली संकलन गर्दै जाँदा ठूलै गाडी भरिने अबस्था देखियो । यसपछि, हामीलाई पटकपटक तीर्थयात्रामा लैजानु भएका श्री हरिशरणम् तीर्थयात्रा समितिका प्राेप्राइटर माेहनप्रसाद अधिकारीसंग बसेर छलफल गरि प्रसिद्ध तीर्थस्थलहरु रिडी (रुरु क्षेत्र), स्वर्गद्वारी, सुपादेउराली, छाब्दी बाराही र शाश्वत धाम लगायतका स्थानहरुमा ठूलै बस लिएर जाने प्याकेज तैयार गरियो । प्याकेजमा बिहान बेलुकीकाे खाना, रातिको बास र बसभाडा समावेश थियाे । भ्रमणकाे दिन नजिकिँदै गर्दा जान इच्छुकहरु बसकाे सिट क्षमताभन्दा बढी हुन पुगेकाले कतिपयलाई विनम्रतापूर्वक अस्विकार गर्नेुपर्ने अवस्था आयाे । जान नपाएको भनेर काेही काेही त रिसाउनु पनि भयाे । अन्ततः २९ जनाकाे नाम भ्रमण टाेलीमा समावेश भई कार्तिक २४ गते बुधबार बिहान ०४:१५ बजे कुमारीगालबाट यात्राका लागि बस प्रस्थान गर्ने पक्का भयाे ।
हाम्रो यात्रा टोली |
छठ पर्वका दिन अर्थात् कार्तिक २४ गते बिहान ०४:०० बजे गाडी लिएर माेहनदाइ आउनुभयो । हामी ८ जना चढेपछि मैतीदेवी, अनामनगर, तीनकुने, ग्वार्काे, सातदोबाटो, थसिखेल, एकान्तकुना, बागडाेल, कलंकी र थानकोटबाट निर्धारित तीर्थयात्री टिप्दै गाडी अघि बढ्याे । केही स्थानमा यात्री समयमै ननिस्केर कुर्नुपर्दा यात्राको सुरुवातमा थाेरै विलम्ब भयाे । कार्तिक नसकिएको भएतापनि उपत्यकाको माैसममा निकै चिसाेपना आईसकेकाे महसुुस भयाे । गाडीमा बजेकाे सुमधुर भजन सुन्दै हामी अघि बढ्यौं । खानीखाेला पुगेर चियापानका लागि बस राेकियाे । त्यहाँ चियापान र शाैचादी कार्य सकेर, पाल्पाको रिडी (रुरु क्षेत्र) मा रात्रि बसाइका लागि पुग्ने लक्ष्यका साथ हामी चढेको गाडी अगाडि हुँइकियाे । चितवनको नारायणगढ पुगेपछि बसमा पुनः २ जना यात्रु थपिनुभयाे । अब हाम्रो टाेली २९ जना तीर्थयात्री र ५ जना चालक तथा ब्यवस्थापक दल गरि ३४ सदस्यीय भयाे । गाडीको रफ्तारसंगै बिहान करिव ११:३० बजे हामी सीजी भवन अर्थात् शाश्वत धाम अघि पुगेर राेकियाैं । व्यवस्थापक टाेली सीजी भवन संगैकाे चाैरमा खाने पकाउने तरखरमा जुट्याे भने हामी शाश्वत धाम अवलोकन गर्न गयाैं ।
नवलपरासीको मुख्य आकर्षणकाे रुपमा रहेकाे शाश्वत धाम देवचुली र वरचुली पहाडको काखमा ७ विगाहा क्षेत्रफलमा फैलिएको छ ।यस धामको मध्य भागमा दक्षिण भारतीय शैलीमा अत्यन्तै मनमोहक बुट्टेदार मन्दिर ‘अम्केश्वर शिव मन्दिर‘ को स्थापना गरि मन्दिरलाई चारैतिरबाट सर्वतिर्थ सरोबर तालले घेरिएको छ । मन्दिरभित्र विभिन्न देवीदेवताको आकर्षक मुर्तिहरु राखिएका छन् । मन्दिरको तल धार्मिक संग्रहालय छ । मन्दिरसँगै जोडिएको तालको चारै कुनामा पानीको फोहोरा र विभिन्न रङ्गका बत्ती जोडिएका छन् । धाम परिसरमा विभिन्न धार्मिक र सांस्कृतिक झाँकीहरु पनि बनाइएको छ, जसले पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।
शाश्वत धाममा हामी |
करिब एकघण्टा शाश्वत धाम घुमेर फर्कंदा खाना तैयार भइसकेको थियोे । खाना खाएर १ बजे हाम्रो गाडी पुन: त्यहाँबाट आफ्नो गन्तव्य तर्फ अघि बढ्यो । दाउन्ने पुग्दा नपुग्दै हाम्रो सवारी जाममा पर्यो । धुलाम्मे बाटाे त्यसमाथि उखरमाउलाे गर्मी, बेलाबेलामा पञ्चमीकाे पाइला सारे जसरी गाडी अघि बढ्थ्याे । त्रिवेणी जाने क्रममा एकबर्ष अघि यता आउँदा भाेगेकाे लामो जाम अहिलेपनि उस्तै देख्दा, व्यस्त सडकमा बर्षाैं देखि भईरहेको समस्या समाधान गर्नमा उदासिन सरकारी संयन्त्र र देशमा विकासको लहर आएको भाषण ठाेक्ने नेतृत्वकर्ताहरु सम्झेर दिक्क लाग्याे । यहाँकाे पट्यारलाग्दाे जाममा करिब ४-५ घण्टा बितायाैं । यसै जामकाे कारण त्यसदिनकाे लक्ष्य रिडी क्षेत्र पुग्न नसकि हामीले बुटवलमै रात बिताउनु पर्यो । त्यहाँको सनराइज हाेटेलमा रातिको खाना खाईवरी सुत्दा १० बजिसकेकाे थियोे ।भाेलिपल्ट बिहान करिव ६ बजे हामी रिडीका लागि प्रस्थान गर्यौं । माैसम चिसाे थियोे । बाटोका हरियाली, नजिकै छर्लङ्ग देखिएका हिमश्रृङ्खलाहरु र बाक्लो कुहिराेले ढाकेकाे बस्तीका मनमाेहक दृश्यले मन आनन्दीत बनायाे । प्रकृतिको सुन्दरतामा रमाउँदै बिहान ०८-३० बजेतिर रिडी पुगियाे ।
रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, याे अर्घाखाँचीबाट आएको रिडी नदी र मुक्तिनाथबाट आएको कालीगण्डकी नदीको संगममा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो। यो स्थानको बारेमा बिभिन्न हिन्दु पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्ला संग जाेडिएको छ । रिडीकाे गुल्मी, पाल्पा र स्याङ्जा जिल्ला जाेड्ने पुल
यस स्थानलाई नेपालको बनारस भनेर पनि चिन्ने गरिन्छ । याे हिन्दुहरुको लागि पवित्र घाट हो। माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा 'रिडी मेला' आयोजना गरिन्छ। रुरु क्षेत्रमा ऋषिकेश भगवानकाे मन्दिर छ । यस ऋषिकेश परिसरलाई युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ। भगवान बिष्णुकाे प्रतीकको रूपमा मानिने शालिग्राम, यस क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको तटीय क्षेत्रमा पाउने गरिन्छ । यस क्षेत्रलाई नेपालको चारधाम (पशुपति क्षेत्र, मुक्ति क्षेत्र, बराह क्षेत्र र रुरु क्षेत्र) मध्येको एक धाम मानिन्छ ।
रुरुक्षेत्रमा श्राद्ध गर्दै |
भाेलिपल्ट बिहान नित्यकर्म सकेर स्वर्गद्वारी जाने तरखरमा लागियाे । २-३ दिनअघि गएको पहिरोले केही बाटाे छेकिएकाे र केही चर्किएकोले हाेटेल सञ्चालक भाइले हामीलाई बसमा नगई जिपमा जाने सल्लाह दिए । माेहन दाइले २ वटा जिप मगाउनु भयाे । बिहान ०६:३० बजे हामी जिपमा स्वर्गद्वारी तर्फ उकालो चढ्याैं । बाटाेकाे अवस्था देख्दा बसमा नआएर राम्रो गरेछाैं भन्ने लाग्यो । पहिलो जिप अलि अगाडि थियोे । पहिरो गएकाे बाटोमा पर्ने एउटा उकालोकाे घुमाउरो माेडमा हामी चढेको जिप केही चिप्लिएर पछाडि सर्न थाल्यो । तल ठाडो भिर थियाे । चालकले २-३ पटकको प्रयासमा जिपलाई बिस्तारै सकुशल अघि बढाए । संभावित दुर्घटनाको आशंकाले त्रसित भई मनमनै आत्तिएका हामीले ढुक्ककाे स्वास फेर्याैं । करिबकरिब एकघण्टाकाे जिप यात्रा पछि स्वर्गद्वारी आश्रमको प्रवेशद्वार पुगियाे । त्यहाँबाट एक किलोमिटर भन्दा बढी सिंढीहरू उक्लनु पर्ने रहेछ । हिंड्न नसक्नेलाई घाेडाकाे पनि ब्यवस्था थियो । ढुंगा छापेका सिंढी निकै सुबिधाजनक थिए । झण्डै आधा घण्टामा हामी स्वर्गद्वारी आश्रम पुग्यौं । अग्लो टुप्पोमा पारिलाे घाम, वरिपरि छर्लङ्गै देखिएका हिमश्रृङ्खला, हरियाली, वटुकहरुले वाचन गरेका वेद मन्त्रका ध्वनि र मनमाेहक बाताबरण देख्दा स्वर्गमै पुगेको अनुभूति भयाे ।
स्वर्गद्वारी प्रवेश द्वार |
हामीले स्वर्गद्वारी महाप्रभुकाे समाधिस्थलमा पूजाअर्चना, दर्शन र दीप प्रज्वलन गर्यौं । हवन सामाग्री र गाईका लागि पीठाे, नून, चामल आदि हस्तान्तरण गरियाे । गाेवर्धन पर्वत, स्नान कुण्ड, वेदाश्रम, हवन कुण्ड, गुफा, गाैशाला, खेती, हेलिप्याड आदिकाे अवलोकन भयाे । हामीले करिव ३ घण्टा समय बितायाैं । बाताबरण यस्तो थियोे कि, मनले फर्कन मानिरहेकाे थिएन । तर बाध्यता थियाे, हामी ओर्लियाैं । पहिलेकै जिपबाट राति बसेकाे हाेटेल पुग्दा खाना तयार थियाे । प्रफुल्लित मनले खाना खायौं । हाम्रो अबको लक्ष्य अर्घाखाँचीकाे सुपादेउराली मन्दिर पुग्नु थियोे । दिनकाे १ बजे हामीले त्यहाँबाट प्रस्थान गर्यौं ।
अर्घाखाँची तर्फकाे बाटो त्यति राम्रो थिएन । ५ घण्टाकाे निरन्तर यात्रा पछि बेलुकी ६ बजे सुपादेउराली पुगियो । साँझकाे आरती सकेर मन्दिर बन्द भईसकेकाे रहेछ । बिजुली बत्ती गएकाले मन्दिरक्षेत्र अन्धकार थियाे । हामीले बाहिरबाट दर्शन गर्यौं । मन्दिरभन्दा ५-७ मिनेट परको हाेटेलमा हाम्राे बसाइ भयाे । यहाँ भने चाँडै नै खानपिन सकियाे । ८ बजेतिर हामी आआफ्नो काेठामा पुगेर सुत्याैं । थकाइले हाेला मस्त निन्द्रा लाग्याे । भाेलि बिहान हाेटेलमै नुवाइधुवाइ गरि ०४:३० बजे मन्दिर गयाैं । ८-१० जना दर्शनार्थीहरु लाइनमा बसिसकेका थिए । हामी पनि लामबद्ध भयाैं । ०५ बजे मन्दिर खुलेर नित्यपूजा सकेपछि हामीले पूजाआजा र दर्शन गर्यौं । शनिवारकाे दिन भएकालेे बलि चढाउनेहरु पनि देखिन्थे ।
सुपादेउरालीको मूर्ति |
सुपादेउराली मन्दिर परिसर |
मन्दिर दर्शन पछि हामी हाेटेल फर्कियाैं । चिया र हल्का नास्ता गरेर बिहान ०७ बजे हाम्रो अबकाे अन्तिम गन्तव्य तनहुँकाे छाब्दीबाराही मन्दिरतर्फ गुड्याैं । बाटाे राम्रो थिएन । हामी बढ्दै गयाैं । दाउन्नेमा पुन: २ घण्टा जति जाममा परियाे । पटकपटक राेकिंदै यात्रा अघि बढ्दै थियाे । धुलाम्मे बाटाे र उखरमाउलाे गर्मिले बसभित्रकाे बसाइलाई पट्यारलाग्दाे पारेपनि आफू-आफूले लगेका खानेकुराहरु साटासाट गरेर खानुले यात्रालाई जीवन्त बनाएको थियाे । हाम्राे आजै फर्कने कार्यक्रम भएको र गन्तव्य निकै टाढा भएकाले बस रफ्तारमा थियो । छाब्दीबाराही पुगेर फर्कन नमिल्ने भएकाले आउँदा नारायणगढबाट हामीसँग मिसिनु भएका दुईजना तीर्थयात्री नारायणगढमै ओर्लिनु भयाे । समय घर्किंदै थियो । साँझ ६ बजे हामी छाब्दीबाराही मन्दिर पुग्यौं । मन्दिर बन्द भईसकेकाे थियाे । यति टाढाबाट धाएर आउँदा पनि दर्शन नपाएकोमा खिन्न मानेर मन्दिरकाे ढाेकामा नै पूजा गरेर फर्कनै लाग्दा देवी कृपाले अकस्मात् त्यहाँका पुजारी मन्दिरमा छुटेको सामान लिन आईपुगेकाले मन्दिरकाे ढाेका खुल्याे । केही साथीहरू त फर्किसक्नु भएकाे थियाे । बाँकी हामीले देवीकाे पूजाअर्चना, दर्शन र कुण्डकाे अवलोकन गर्यौं । दुई बर्ष अघि यहाँ आउन लाग्दा बाटाे बिग्रेकाले मन्दिर दर्शन गर्न नपाएको धाेकाे यसपटक पूरा भएकोमा मनमा सन्तोष लागिरहेको थियो ।
छाब्दी बाराही मन्दिर परिसरमा रहेको मूर्ति |
रात परेकाले माैसम चिसाे थियाे । खाना खाईवरी रातिको ८ बजे त्यहाँबाट काठमाडौं तर्फ हुँईकियाैं । यसपटकको यात्रामा जाने आधाजति तीर्थयात्रीसंग पहिलोपटक चिनजान भएकाे थियो । अधिकाशं सहृदयी हुनुहुन्थ्यो । बसकाे गति संगै मध्यरात पाैने ०१ बजे थानकोट पुगियो । बिहान चढेकै ठाउँमा यात्रीहरुलाई ओराल्दै घर (कुमारीगाल) पुग्दा बिहानकाे ०२ बज्नै लागेकाे थियाे । यसरी चारदिने हाम्रो तीर्थयात्राले भगवत्कृपाबाट पाँचौ दिन छाेएर पूर्णता पायाे । हामी आफू पुगेका देवी देवताकाे स्मरण र कुशल ब्यवस्थापनका लागि चालकदल र यात्रा ब्यवस्थापकहरुप्रति आभारी हुँदै घर फर्कियाैं ।
Comments
Post a Comment