दक्षिण ललितपुरकाे धार्मिक स्थल कालेश्वर महादेव
✍️ मुरारीराज मिश्र,
पटकपटक मिति सार्दा सार्दा अन्ततः २०७८ साल पाैष ३ गते शनिवारका दिन ललितपुरस्थित कालेश्वर महादेवकाे दर्शनका लागि जाने पक्का भयाे । पाैषकाे निकै चिसाे बिहानीमा राम्ररी उज्यालो समेत नहुँदै हामी चारजना साथीहरू बिहान ०६:३० बजेकाे निर्धारित समयमा चावहिल पिपलबाेटमा जम्मा भई सुकवीर थामीदाइकाे गाडी चढेर गन्तव्यतर्फ प्रस्थान गर्यौं । जाडाेकाे समय र साप्ताहिक बिदाकाे दिन समेत भएकाले राजधानी पुरै ब्युंझीनसकेकाे भान हुन्थ्यो । बाटाेमा सवारीकाे चहलपहल खासै थिएन । गाैशाला, काेटेश्वर, सातदोबाटो हुँदै हामी चापागाउँतर्फ लाग्यौं । बाटाेमा धुम्म कुहिराे र जमिनमा टम्म तुषाराे जमेका थिए । धेरै पछि यस्तो तुषाराे देख्दा बाल्यकालकाे याद आयाे । करिव ०८:३० बजेतिर काेन्ज्याेसाेम (तामाङ भाषामा काेन्ज्याेसाेमकाे अर्थ ब्रह्मा, बिष्णु, महेश्वर रहेछ) गाउँपालिकामा पर्ने भारदेउ भनिने स्थानमा पुगि तात्ताताे चिया खायौं । घाम मज्जाले लागिसक्दा पनि बाताबरण निकै चिसाे थियाे ।
अगाडिकाे बाटो त्यति राम्राे थिएन । घरहरु धेरै दुरीमा फाट्टफुट्ट मात्र देखिन्थे । पसलहरु थिएनन् भन्दा पनि हुन्छ । कतै-कतैमात्र मानिस हिंडेका भेटिन्थे । कुहिराेले छाेपेका दृश्य, स्वच्छ हरियाली, छर्लङ्ग देखिएका हिमालहरुले गर्दा बातावरण भने मनमाेहक थियोे । हामी यीनै दृश्यहरु नियाल्दै बिहान १० बजेतिर करिव ५९ किलोमिटर यात्रा पश्चात् ललितपुरकाे महाङ्काल गाउँपालिकामा पर्ने गाेटिखेल बजारमा पुग्यौं ।
गाेटिखेल एउटा सानाे बजार हाे । यहाँ इलाका प्रशासन कार्यालय लगायतका सरकारी निकायहरु छन् ।
कालेश्वर महादेव मन्दिर |
खानपिनका लागि हाेटेल, गेष्टहाउस आदिकाे सुविधा पनि उपलब्ध छ । खुवाकाे लागि पनि याे ठाउँ प्रख्यात रहेछ । प्राचीनकालमा यमराजले महादेवको तपस्या गर्दा, मूल खोला, धामीखोला र मसान खोलाकाे संगममा रहेको यहाँको त्रिवेणीमा नुहाएका थिए रे ! यमराज अर्थात् कालले नुहाएको भएर साे खोलालाई कालमोचन खोला समेत भनिन्छ ।
कालेश्वर पुग्नु पहिले यसैस्थानमा रहेकाे वैतरणीधाममा स्नान गर्ने परम्परा रहेछ । यहाँकाे मसान खोला दक्षिणबाट उत्तरतिर बग्ने गर्छ । हिन्दू धर्मशास्त्रमा यस्ता उत्तरबाहिनी नदीको ठूलो महत्व छ । त्रिवेणी अर्थात् वैतरणीधाम ब्यवस्थित रहेछ । जलाशय बनाएर यस्काे वरिपरि कलात्मक ढुङ्गेधाराबाट पानी झर्ने ब्यवस्था गरिएको रहेछ । यहाँ चाैंसठ्ठी शिवलिङ्ग, हनुमान, तारकेश्वर महादेवकाे मन्दिर, गाैशाला र धर्मशाला पनि छ । यहाँबाट कालेश्वर जान उकालो चढ्नुपर्ने रहेछ । हामीले खानपिनकाे ब्यवस्था बारे बुझ्याैं । अग्रिम अर्डर गर्नुपर्ने रहेछ । त्यसैले त्यहाँको एउटा हाेटेलकाे सम्पर्क नम्बर लिएर गोटिखेलबाट हामी कालेश्वरतर्फकाे उकालो लाग्यौं ।
भर्खर भर्खर बनाएको कच्ची ढुङ्गेबाटाे त्यति सहज थिएन । हाम्रो सानाे गाडीलाई कतिपय ठाउँमा निकै अप्ठ्यारो पर्यो । कति ठाउँमा हामी चारैजना ओर्लिएर गाडी मात्रै अगाडि बढाउने अवस्था पनि आयाे । यहाँको यात्राको लागि सानाे गाडीभन्दा जिप वा माेटरसाईकल उपयुक्त हुने रहेछ । पारिलाे घाम लागेकाे थियाे । बाटोमा पाईएला भनेर पानीको ब्यवस्था नगरी हिंडेका हामीलाई, बाटाेमा कतै पसल र घरहरु नभएकाले पानी खान समेत कठिनाइ पर्यो । यहाँ साग र ताेरी बाहेक अरु उब्जनी देखिएन । बरु धेरै ठाउँमा लाेठसल्ला राेपिएका थिए । स्थानीयका भनाइ अनुसार बाहिरका ब्यापारीले प्रतिकिलाे तीनसय पचासमा लाेठसल्लाकाे पात किनेर लग्दा रहेछन् । क्यान्सरको ओैषधी बनाउन प्रयोगमा आउने यी पातहरु पाकिस्तान निकासी हुने गरेकाे रहेछ ।यसबाट केही स्थानीयले राेजगारी त पाएका रहेछन् । तर, यी कच्चापदार्थ प्रयाेग गरेर स्वदेशमै ओैषधी उत्पादन हुन सके कति राम्रो हुन्थ्यो हाेला भन्ने बिचार पनि मनमा आए ।
यहाँकाे बाटोमाथि चनढुंगा भनिने सानाे ढुंगामा अडेकाे बिशाल चट्टान छ । उहिले कालदेवताले त्रिवेणीमा स्नान गरि यसै ढुंगामा चन्दन घाेटेर कालेश्वरलाई चढाउने गर्दथे रे । त्यै चन्दन ढुंगालाई नै अहिले चनढुंगा भन्ने गरेकाे किम्वदन्ती छ । हत्केलाजस्ताे सानाे ढुङ्गामाथि बिशाल चट्टान अडिएर रहेकाे याे दृश्य (चनढुङ्गा) वास्तवमै अचम्म लाग्दाे छ । पटकपटकका भुकम्प र प्राकृतिक प्रकाेपमा समेत याे ढुङ्गा यसैगरी अडिएर रहनु दैवी शक्तिकाे कारण हाे भन्ने स्थानीय बताउँछन् । अन्ततः गाेटिखेलबाट झण्डै ९ किलोमिटर यात्रा पछि अपरान्ह ११:५५ मा हामी कालेश्वर मन्दिर नजिकैको सवारी पुग्ने अन्तिम गन्तव्यमा पुग्यौं ।
कालेश्र्वर मन्दिरमा पंक्तिकार |
मन्दिर पुग्न त्यहाँबाट झण्डै दुईहात चाैडा सानो ढुंगेबाटाे हिंड्नु पर्ने रहेछ । समय खेर नफाली हामी गन्तव्यतर्फ अघि बढ्यौं । भिरमा ठाडै चढ्नु पर्ने घुमाउरो र साँघुरो करिव ३ किलोमिटर बाटाे बिस्तारै चढ्दै १५ मिनेटकाे हिंडाई पछि हामी महांकाल -३, गाेटिखेल सिसवनमा पर्ने कालेश्वर महादेवकाे मन्दिरमा पुग्यौं । मन्दिरकाे पूर्वतर्फ जमुन, नारानथान, पश्चिम भट्टेडाँडा, उत्तर कतवन र दक्षिणीमा गिम्दी भन्ने ठाँउहरु पर्दा रहेछन् । डाँडाकाे टुप्पोमा रहेको मन्दिर परिसर निकै आकर्षक थियोे । पारिलाे घाम, चारैतिर हाँसिरहेका हिमाल वरिपरिका हरियाली बाताबरण निकै मनमाेहक थियाे । हामी पुग्दा मन्दिरमा ६-७ जना दर्शनार्थीहरु थिए । दर्शन, पूजाअर्चना र अवलोकन गरेर हामीले झण्डै एकघण्टा मन्दिरमा बितायाैं ।
यहाँ चैत्र तथा बैशाख महिनाका पूर्णिमाहरु, साउनकाे साेमबार, माघ महिना र शिवरात्रीका दिनहरुमा भक्तजनहरुकाे बिशेष चहलपहल हुने रहेछ । मन्दिर संरक्षणमा लागि गठित श्री कालेश्वर महादेव क्षेत्र सुधार समितिद्वारा मन्दिरकाे रेखदेखदेका लागि बसेका कर्मचारी टेकबहादुर सिंतानले केही बर्ष अघिसम्म मन्दिर आउने दर्शनार्थीकाे साथ लागेर तल बाटोबाट कुकुर आउने र दर्शनार्थीहरू दर्शन गरेर फर्कंदा उनीहरूसंगै आएका ती कुकुर पनि साथै फर्केर पहिले आएका ठाउँसम्म जाने (अर्थात् भक्तजनलाई मन्दिरसम्म लाने र फर्काउने !) गर्थे भन्ने राेचक जानकारी पनि दिनुभयो ! तर, अहिले ती कुकुरमध्ये केही मरेका र केही विस्थापित भएका रहेछन् ।
यहाँ आउने भक्तजनहरुले मन्दिरमा त्रिशूल चढाउने परम्परा रहेछ ! मन्दिरमा भक्तजनहरुले चढाएका हजाराैं त्रिशूलहरु थुपारिएका देखिन्छन् । ढुंगा छापिएको मन्दिर परिसर ब्यवस्थित भएतापनि मन्दिरको वरिपरि छेकबार नहुँदा, अवलोकन वा तस्बिर खिच्ने क्रममा भिरबाट खसेर दुर्घटना हुनसक्ने भएकाले मन्दिर वरिपरिको छेउमा बलियो छेकबारकाे आवश्यकता महसुुस भयाे ।
कालेश्वरकाे उत्पत्ति कसरी भयाे भन्ने कुरामा एकमत पाईंदैन । काेही, परापूर्वकालमा जंगलमा बाँस काट्न जाँने क्रममा शंखुका एक गाउँलेले गिम्दीस्थित देउता खोलामा लहराबाट दुधजस्तो पदार्थ तपतप चुहिएको देखि लहराको टुप्पो खोज्दै जाँदा कालेश्वरको डाँडामा महादेवको शिवलिंग भेटेको जनश्रृति सुनेकाे बताउँछन् भने, काेही प्राचिन कालमा काल पुरुषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कालेश्वरमा कठोर तपस्या गर्दा महादेव प्रकट भई, कालपुरुषले स्थापना गरेको हुनाले साे शिवलिङ्ग कालेश्वरकाे नामबाट प्रख्यात हुने वरदान दिएको किम्वदन्ती सुनाउँछन् ।
यस्तै, सतिदेविको मृत्युपछि महादेवले उनको मृत शरिर बाेकेर संसार भ्रमणगर्दा कालेश्वरमा आई कण्ठ पतन भएको र त्यस ठाँउमा कालेश्वर महादेव उत्पती भएकाे हाे भनेर आफूहरूले सुन्दै आएको पनि केही स्थानीयहरु बताउँछन् ।
चन (चन्दन) ढुंगा |
किम्बदन्तीहरु चाहे जेसुकै किन नहाेस्, वर्तमानमा गाेटिखेलस्थित कालेश्वर महादेव मन्दिर दक्षिण ललितपुरको आर्कषक धार्मिक पर्यटकीय स्थल हो । कालेश्वर महादेवलाई ललितपुर, लेलेका प्याङ गाउँवासिहरू आफ्नाे कुलदेवताका रूपमा पुज्ने गर्दछन् । इन्द्रजात्राको समयमा हुने कालेश्वर महादेव जात्रा नै यहाँको आफ्नै माैलिक जात्रा हो। मन्दिरकाे करिव एकघण्टाकाे बसाइपछि हामी फर्कियाैं । माथि आउँदा जस्तो फर्किंदा गाडीलाई असजिलो महसुुस भएन । हामीले माथि मन्दिरबाटै फाेनमा खाना अर्डर गरेका थियौं, ओर्लंदा खाना तैयार थियाे । हामीले गाेटिखेलकाे हाेटेलमा दिउँसो २ बजे खाना खायौं । खाना खाएर एकछिनकाे विश्रामपछि ३ बजे काठमाडौंतर्फ लाग्यौं । चिसाे भएकाले भारदेउ भन्ने ठाउँमा आई पुगेर ५ बजेतिर चीया पिउनका लागि राेकियाैं भने साँझ ६:१५ बजे झमक्कै परेपछि, बिहान गाडी चढेके ठाउँमा उत्रिएर दिनभरकाे यात्रालाई पूर्णविराम लगायाैं ।
ललितपुर भन्नेबित्तिकै हामी सामान्यतया लगनखेल, जावलाखेल, पाटन र वरपरका बस्ती सम्झन्छौं । तर ललितपुरकाे त्यति भित्री भागमा आईपुग्दा, केही समय अघि बज्रवाराही तिर पुगेकाे बेला मलाई त्यहाँको एकजना साथीले 'यहाँसम्म त ललितपुर करीव १५ प्रतिशत मात्रै हाेला, बाँकी ८५ प्रतिशत ललितपुर त उता अझै बाँकी छ' भनेकाे सम्झना आयाे । पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मकाे पहाडी भू-भागमा ललितपुर फैलिएको छ ।
वैतरणीधाम |
यही पहाडी भेगमा अवस्थित दक्षिण ललितपुरबारे शायद कमैलाई मात्र थाहा छ । राजधानीसँग कुम जोडेर बसेको भएतापनि जति दक्षिणतिर लाग्याे ललितपुर उति दुर्गम देखिन्छ । तर दक्षिणी ललितपुर पर्यटकीय संभावना बोकेको सुन्दर भूगोल हो । यहाँको महत्त्वका बारेमा व्यापक प्रचारप्रसार र आकर्षक प्याकेज ल्याउने हाे भने, बाह्रै महिना सजिलै जान सकिने कालेश्वर मन्दिर र बैतरणीधामलाई एकदिने धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिन्छ । यस्का लागि सम्बन्धित सबैकाे समयमै ध्यानाकर्षण हुनसके आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्नसक्ने देखिन्छ । अस्तु
यात्राका सहभागीहरु- उपेन्द्रप्रसाद खनाल, बिष्णुबहादुर बस्नेत, धनप्रसाद घिमिरे र मुरारीराज मिश्र ।
mrmishra@live.com
Comments
Post a Comment