छेस्काहरु
✍️ मुरारीराज मिश्र
तात्नु तातियाे
माया साटेरै
रात काटियाे !
जाडोकाे याम
काँप्दैछिन् धरा
सेलाए घाम ।
आँसु मिसिए
उखुका लाँक्रा
नुनिला भए !
नठान घाँडाे
याैटै माघले
जाँदैन जाडो
वीपीको फाेटाे,
काे भनी साेध्छ
काँग्रेसी केटाे !
यी आँखाभरी
जमेका झरी
झरे बेसरी !
लाेभी बनेर
पानीमै दूध
मिसाए हेर !
देख्दा छ दामी
क्यै छैन भाउ
गर्दा लिलामी
जस्काे थ्याे आश
पारे निराश
रहेछन् दास !
छैन क्यै ईख
दास बनेर
माग्दैछन् भिख !
पराई धन
नताक् है मन
पुगिन्छ वन !
जाेगिए छट्टु
झरेछ तल
न्यायकाे कट्टु !
निथ्रुक्क धरा
पाैषे झरीले
भिजेका गह्रा !
पाैषकाे याम
सेलाए रवि
मधुराे घाम !
बित्यो जवानी,
आयाे बुढ्याैली
जाँदै नजानी !
लेखाैं यसरी
विकृति माथि
घाेचाेस् बेसरी !
फेरेर रङ्ग
छेपाराे बनी
मान्छे छ दङ्ग !!
देखियो यस्तो
मान्छेकाे जिब्रो
सर्पकै जस्तो !
खुलेन चेत
उम्रिए घर
मासिए खेत !
गनायाे अति
टुकुचा जस्तै
भाे वागमती !
बढेछ दम्भ
बेलुन जस्तै
फुले अचम्म !
नभए क्लेश
जीवन शेष
बन्छ बिशेष !
कस्तो बिचित्र
देख्दैनन् आँखा
भित्री चरित्र !
ज्यूँदाेमा भाेकाे
मरेर गए
पिण्डकाे पाेकाे
पिजडा फाेरी
उडेकी चरी
फर्कन्न फेरि
गरेर आश
रहन्छ पास
बिचराे दाश ।
मकलभरी
रापिलाे आगाे
पाेल्याे बेसरी
देख्दा पत्थर,
नमाने ढुङ्गा
माने ईश्वर !
देखियो जात
भन्दै'थे आफ्नो
हानेछन् लात !
परेछ टाँड
अगेनाे भित्रै
पाेखियाे माड !
नपार स्वाङ
पर्लाऊ फेरि
उत्तानो टाङ !
नमानाैं धक
खाेसियाे भन्न
न्यायकाे हक !
कुराे छ खास
मालिक एक
हजारौं दास !
जति छन् जाेगी
देखिए उस्तै
कुर्सीकै लाेभी !
बजार्छ लाठी
कसरी भन्नु
प्रहरी साथी !
पार्टीका झण्डा
ओढेर बस्दा
संधै वितण्डा !
बनेर छट्टु
फुकाली छाडे
न्यायकाे कट्टु !
जाडाेकाे याम
तिमी झैं लाग्छ
पारिलाे घाम !
काेही नमाने,
के गर्थे हाेलान्
चाकडी खाने ?
जनता जिल्ल,
बढेको बढ्यै
इन्धन मूल्य !
महानगर
छैन सुविधा
मात्रै फाेहाेर !
जे छ धनैमा
भन्नू कस्लाई
राखाैं मनैमा !
रेट्ने चाहना,
मुखले भने
शुभकामना !
एकहातकाे
फुटपाथ भाे
हिड्ने कता हाे !
थन्किए मुद्दा
शून्य छ पेशी
काे हाे त दाेषी !
सडक बढ्यो
पार्किङ ठिक्क
देख्दैमा दिक्क !
फाटेकाे मन
सिउन खाेज्दा
च्यातियाे झन् झन् !!
पुगेन ढङ्ग
राज्यका अङ्ग
छन् लथालिङ्ग !
खै मानवता,
दुर्लभ भयाे
दया-ममता !
फरक मात्रा,
जताततै नै
छ गाईजात्रा !
*****
पानीको साटाे
'पाेखरी' भित्र
ढुङ्गा र माटो !
जात जनाए
फाेहाेरजस्तै
सबै गनाए !
माैका नछाडि,
मान्छेले हान्छन्
छुरा पछाडि !
राताम्मे ओठ
छुरा झैँ रैछन्
लागि गाे चाेट !
मात्तिंदैछ झन्
किन हाे कुन्नि
बुढ्याैली मन !
अड्केला हाड
हेरेर घाँटी
मनाओैं चाड !
हरेक राति
बिदेश उड्ने
युवाको ताँती !
सखाप बाली
बचेन केही
आँसु छ खाली !
के बस्थ्याे पाले ?
कात्तिक मैना
मात्तियाे काले !
घाँटीमा कस्दै,
आफन्त रेट्छन्
सारङ्गी जस्तै !
छेड्दैन भाला,
गैंडाकै जस्ता
नेताका छाला !
नघटाेस् जाेश,
प्राणी मात्रको
संधै शुभ हाेस् !
आत्मिय जन,
रहाेस् सबैको
प्रसन्न मन
साना वा ठूला
देखिए उस्तै
ड्याङका मुला !
ऋणको बाेझ
शिरमा बाेकी
नगराैं माेज !
नगराैं अति
क्षमता जति
रमाओैं त्यति !
लाएरै वस्त्र
नाङ्गियाे मान्छे
फाट्दा चरित्र !
बाेल्दैछन् सबै
कार्यकर्ता झैँ,
नेपाली खाेई !
हे पशुपति
त्रिनेत्र खाेल,
भयाे है अति !
खै के-के गरे,
टाउकाबाट
खुट्टैमा झरे !
कस्तो अचम्म,
आएन बुद्धि
उस्तै छ दम्भ !
गीताकाे ज्ञान,
लगाऊँ भन्छ
कर्ममै ध्यान !
सीताजी संग
सुवर्ण मृग,
राम झसङ्ग !
याे कस्तो व्यथा,
राख्नु कि झिक्नु
भाे संघीयता !
सतीकाे श्राप,
थुनियाे साेझाे
हत्या भाे माफ !
मृत्युको जाल,
बल्छीकाे मासु
माछाकाे काल !
माकुरी जाल,
यौटाको मस्ती
अर्काको काल !
देखिन्छ मित्र,
करौंती रेट्छ
उ भित्रभित्र !
मन्दिर कथा,
पण्डाको मस्ती
भोकै देवता !
भयो नजाती,
अचानोजस्तै
चिरियो छाती !
कोईली जन्म्यो
आफ्नो गुंडमा,
काग जिल्लियो !
पोगटो धान,
अन्न विनाको
भो संविधान !
मात्रै भाषण,
बढ्यो विकृति
खै, सुशासन !!
यो कस्तो दाउ,
स्वार्थका लागि
गधा नै बाउ !
सबैका दाउ,
नछाडौं केही
लुटेरै खाउँ !
जाली छन् पूरा,
बोलीले राम
गोजीमा छुरा !
कुर्सी गाेठाले,
सत्ता नभेट्दा
भए चाेथाले !
कुर्सीकाे आश,
नजाने रैछ
छुट्दा' नि सास !
पात्रको शीत
उषाकाे लागि
सन्ध्याकाे प्रीत !
पुर्खाकाे रीति, श्राद्धकाे दिन,
पुत्रकाे कर्म - श्रद्धाले तिराैं
पितृकाे तिथि ! पुर्खाकाे ऋण !
आफन्त माथि,
टाँसिदा तक्मा
लजायाे छाती !
याैटै कहानी,
मुखमा आगाे
बाँकी खरानी !
मात्रै भाषण ?
बढ्यो विकृति
खै, सुशासन !!
श्रद्धाकाे काम,
शास्त्रले भन्छन् -
श्राद्ध हाे नाम !
दैलाे चाहारे,
कार्यकर्ताले
नेता बिगारे !
बनेर गाेटी,
नाङ्गिनु किन
हरेक चाेटी !
फाटेकाे मन,
खाेजेकाे जाेड्न
च्यातिन्छ पाे झन् !
हाँस्याै मसक्क,
घाेच्याे मुटुमा
भयाे चसक्क !
सबैका दाउ,
नछाडाैं केही
लुटेरै खाउँ !
**
जाली छन् पूरा,
बाेलीले राम
गाेजीमा छुरा !
छाडेर गति,
भेडै देखिए
नेता छन् जति !
थुनियाे चरी नाङ्गाकाे बस्ती,
काटियाे प्वाँख, डुब्ने भाे पेशा
उडाेस् कसरी ? बिचरा धाेवी !
घुमेकाे घुम्यै
घडीको सुई,
जहाँको त्यहीं !
घुमेकाे घुम्यै
घडीको सुई,
पुग्दैन कहीं !
गिद्ध हेर्दैनन्
फक्रेकाे फूल,
सिनाे नै ताक्छन् !
हुँदैनन् पूरा
बाेलेका कुरा,
सबै अधुरा !
गीताकाे मर्म,
निष्काम कर्म
त्यागाैं अधर्म !
७
नेपाली पारा, व्यर्थैकाे ठाँट
जे हुन्न भन्यो देखिन्न राम्रो
त्यै गर्छन् सारा ! नेताका छाँट !
गफाडी बानी,
'मैले पारेकाे'
भन्दैथे पानी !
स्वार्थका कुरा
जब'भाे पुरा
घाँटीमा छुरा !
हुँदैछ गाह्रो
फूलले पनि
घाइते पार्यो !
फेर्याैं ब्यवस्था
सुध्रेन केही
उस्तै अवस्था !
झुके नजर
कामे अधर
बिते प्रहर !
मनमा हरि
हुन् संधैभरी
नचलाेस् छुरी !
शब्दका जाल
जनता ढाँट्ने
नेताका चाल !
पुरुष-नारी
घिउ र आगाे
यै हाे चिनारी !
देखियो यस्तै
देश नेताका
दाईजो जस्तै !
जीवन पाटाे
काँडाकाे यात्रा
कठिन बाटाे !
ज्यूंदाेमा लात
मरे घ्यू-भात
मान्छेको जात !
बर्षाकाे याम
बिकासे काम
कमाऊ दाम !
कठै ! याे देश
बृद्ध छन् शेष
युवा बिदेश !
प्रेम उत्कर्ष
पुष्पकाे व्यूह
थुनियाे भृङ्ग !
नाैनी खाएर
माेटायाे ठेकी
मदानी जिल्ल !
पात्र फेरिने
प्रबृत्ति उस्तै
देश दुहुने !
आकासे छाना
भाेका उदर
चिसा अगेना !
जीवन यात्रा
केही मलामी
सकियो जात्रा !
अगाडि चाट्ने
पछाडि काट्ने
मान्छेकाे बानी !
नेताकाे जाल
सकुनी चाल
देश बेहाल !
चाँदनी रात
प्रीयाको साथ
छर्लङ्गै रात !
पिंध तात्दैन,
बिंड तात्दैमा
केही पाक्दैन !
नहुने मेल
संधै नै झेल
कुर्सीकाे खेल !
मुखमा बुद्ध
मनमा युद्ध
मान्छेका पारा !
टुपीमा पुग्दा
धोतीका जुम्रा
रवाफै बेग्लै !
मै मात्र ठूलो
अरु कमिलो
वाह ! घमण्ड !!
जीवन सादा
तनाव आधा
सुख छ ज्यादा !
मान्छेकाे जात
गर्दछ घात
कस्ताे कुजात !
स्वार्थको मेल,
देशको सत्ता -
पुतली खेल !
माैका नछाडि,
मान्छेले हान्छन्
छुरा पछाडि !
सही हाे कुरा,
आजका मान्छे
जिब्रो छ छुरा !
Comments
Post a Comment