लघुकथा : चलन
लघुकथा:
#चलन
✍️ मुरारीराज मिश्र
रमेश विभिन्न संघ संस्थामा आवद्ध थियो । पारिवारिक आर्थिक अवस्था त्यति धेरै सबल नभएपनि उ परेकाे बेला सबैलाई सक्दाे सहयोग गर्ने गर्थ्याे । मिलनसार र सहयोगी भएकैले उ समाजमा प्रिय र परिचित थियोे । एकदिन अकस्मात उनका बृद्ध बुबा थलिए । चेकजाँचबाट क्यान्सर देखियाे । लामाे र जटिल उपचारमा कुनै कसर नराखि धेरै धन खर्चिए पनि अन्ततः उसले बुबालाई बचाउन सकेन ।
घाटमा मलामीहरुकाे भीड लाग्याे । क्रियामा बसेकाे बेलामा पनि उसलाई भेट्न धेरै मानिसहरु आए । भेट्न आउनेहरुले फ्रेममा सजाएर ल्याएका उसको बुबाका तस्बिर, समवेदना-पत्र र फ्लेक्स बाेर्डहरुकाे चाङ नै लाग्याे । याे देखेर वरपरका छिमेकीहरु भन्थे- 'रमेश वास्तवमै पपुलर रहेछ । हेर त, बुबाकाे समवेदनामा आएका तस्बिरहरुले नै काेठा भरिन लाग्यो !'
तेह्र दिनको क्रियाकर्म सकियो । परिवार बसेर भएका खर्चहरुकाे हरहिसाब गर्दा लाखौंको ऋण देखियो । याे सबै हेरिरहेको उस्काे किशाेरवयकाे छाेराेले अनायासै भन्याे - 'क्रियामा मान्छेले ल्याएका दसौं डाेकाे फलफूल कुहिएर फाल्नुपर्याे । काेठाभरी तस्बिरका फ्रेम र समवेदना-पत्रहरु छन्, त्याे तह लगाउन फेरि खर्च गर्नुपर्नेछ । बरु ती अनावश्यक कुराहरु ल्याउनु भन्दा, यस्ताे बेला भेट्न आउनेले खाममा हालेर केही रकममात्रै दिने चलन चलाउने हाे भने त क्रियापुत्रीहरुलाई ऋण नलाग्ने रैछ हगि ड्याडी !'
उ ट्वाल परेर कहिले छाेराकाे मुख र कहिले हिसाबकिताबकाे कागज हेर्न थाल्यो ।
(उमामहेश्वर मार्ग, का.म.पा.-७, कुमारीगाल)
वैजयन्तिमा प्रकाशित
Comments
Post a Comment