शमी र मन्दार वृक्षबारेको पाैराणिक प्रसंग

✍️ मुरारीराज मिश्र
कुनै समय ओैरव नाम गरेका विद्वान ऋषि थिए । तपाेवलले गर्दा उनी देवता समान शक्तिशाली थिए । उनकी शमी नाम गरेकी एक अत्यंत सुन्दरी पुत्री थिइन । सात बर्षकी हुँदा ऋषिले शमीको विवाह धौम्य ऋषिका पुत्र मन्दार संग गरिदिए । त्यसबेला मन्दार शौनक ऋषिकाे आश्रममा बसेर शिक्षा प्राप्त गर्दै थिए । अतः विवाह पछि शमीलाई उनको माइतीमा छोडेर मन्दार आफ्नो शिक्षा पुरा गर्न शौनक ऋषिकै आश्रममा फर्के ।

जब शमी जवान भईन् तब मन्दारले शमीलाई उनकाे माइतीबाट विदा गराएर पुनः शौनकाश्रममा तिर फर्किए । बाटोमा तपस्वी भृशुण्डी ऋषिकाे आश्रम पर्थ्याे । ती ऋषि भगवान गणेशकाे आशिर्वादले आफ्नो निधारबाट चाहिएको बेला गणेशजीकाे जस्तै सुँढ निकाल्न सक्थे । जब शमी र मन्दार भुशुण्डी ऋषिकाे आश्रम नजिकै पुगे, त्यसबेला ऋषि गणेशजी जस्तै सुँढ निकालेर ध्यान गर्दै थिए । त्याे देखेर दुबैजना ऋषिलाई उल्याउँदै बेसरी हाँस्न थाले । उनीहरुको यस्तो ब्यवहारबाट ऋषि क्रुद्ध भए र दुबैजनालाई श्राप दिए - 'तिमीहरू तुरुन्तै वृक्ष बन्नेछाै, यस्तो वृक्ष कि जसकाे नजिकमा पशु-पक्षी समेत आउने छैनन् ।' फलस्वरूप मन्दार यस्तो वृक्ष बने जस्काे पात कुनै पनि पशुले खाँदैनन् र शमी पनि त्यस्तो वृक्ष बनिन् जसमा काँडाकाे अधिकता हुने भएकाेले कुनै पन्छी बस्दैनन् ।

पत्नी लिएर चाँडै फर्कन्छु भएर गएका आफ्ना शिष्य धेरै दिन भईसक्दा पनि आश्रम नफर्के पछि शाैनक ऋषि उनीहरूकाे खाेजमा निस्के । पहिले उनी औरव ऋषिकाे घर गए । त्यहाँ नभेटेपछि साेध्दै खाेज्दै ओैरव ऋषिसंगै भृशुण्डीकाे आश्रममा आईपुगे । यहाँ आएर सबै जानकारी पाएपछि उनीहरुले भृशुण्डी ऋषिसंग दुवैलाई श्रापमुक्त गरिदिन आग्रह गरे । तर भृशुण्डी ऋषिले आफूले अब त्यस्ताे गर्न नसक्ने जनाउँदै उनीहरूका लागि भगवान गणेशलाई प्रसन्न गर्न कठिन तपस्या प्रारम्भ गरे ।

ऋषिको तपस्याबाट खुशी भई गणपति प्रकट हुनुभयो । उहाँले वरदान माग भन्दा, ऋषिले आफ्नो श्रापबाट वृक्ष बनेका शमी र मन्दारलाई शापमुक्त गरिदिन अनुरोध गरे । तर भगवान गणेश श्राप व्यर्थ पारेर आफ्ना परम भक्त भृशुण्डीकाे अवहेलना गर्न चाहनु हुन्न थियाे । त्यसैले त्यस वरदानको बदलामा 'दुबै वृक्ष तीनै लाेकमा पूजनीय हुनेछन्,भगवान शिव तथा स्वयं मेराे पूजा पनि यिनीहरूकाे उपस्थिति बिना पूर्ण हुने छैनन् र यी बृक्षमा मेराे पनि बास रहनेछ' भन्ने वरदान दिएर अंतर्ध्यान हुनुभयो । याे घटनापछि शाैनक ऋषि आश्रम फर्के भने ओैरव ऋषिले त्यहीँ आफ्नो शरीर त्याग गरे । उनकाे तेज अग्निकाे रूप भएर शमीकाे वृक्षमा स्थिर हुन पुग्याे । यसैले भनिन्छ शमीकाे काठहरु आपसमा रगेड्दा आगाे निस्कन्छ ।

आज पनि शिव र गणेशकाे हवन गर्दा शमीकाे दाउरा (अर्थात् समिधा) रगडेर अग्नि प्रज्वलित गर्ने चलन छ । मन्दार पुष्प र शमी पत्र बिना शिवजी र गणपतिकाे पूजा पूर्ण मानिन्न ।


मन्दार भनेकाे आँक हाे । आँक शिवजीकाे प्रीय फूल हाे ।
शिव आराधनामा मन्दार शब्द यसरी जाेडिएकाे पाईन्छ:
मन्दार पुष्प बहुपुष्प सुपूजिताय,
तस्मै म काराय नम: शिवाय ।....  
मन्दार माला कुलितालकाय,
कपालमालांकित शेखराय।
दिव्यांबराय च दिगम्बराय,
नम: शिवाय च नमः शिवाय ।....
प्रस्तुति: © मुरामि


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...