लघुकथा: आडम्बर
'आडम्वर'
✍️ मुरारीराज मिश्र
मेरा छिमेकी समाजसेवा र यस्तै कार्यमा विशेष अभिरुचि राख्थे । फाेहाेरमैला, यसले गर्ने हानी, स्वस्थ्य जीवनयापन गर्न पाउने मानवकाे नैसर्गिक अधिकार उनका रुचिका बिषय थिए । समाजमा बसेपछि देखाउनु पर्ने मानवीय ब्यवहार, सभ्यता, नैतिकता, सामाजिक कर्तब्य लगायतका बारेमा उनी प्रशिक्षण पनि दिने गर्थे । यसै क्रममा आफूले कतै दिएकाे प्रवचन, साे बारे छापिएको समाचार र दिएका अन्तर्वार्ता आदिका फाेटाे, भिडियोहरु फेसबुकमा राखेका रहेछन् । हेरें, साह्रै राम्रो लाग्यो । अनि, त्यस्ता बिद्वान् र सज्जनकाे छिमेकी हुन पाएकामा गर्व महसुुस गर्दै लाईक र कमेण्ट गरें । साेचें, यस्तो कार्यमा हाैसला दिनुपर्छ तसर्थ, भाेली बिहान उनलाई भेटेरै बधाई दिन्छु ।
रातकाे खाना खाईवरी सुत्ने तर्खर गर्दै थिएँ । बत्तीको लाईन गएकाे थियोे । यस्तैमा, बाहिर बाटोमा हल्लाखल्ला सुनियाे । छतबाट हेरें, केहि पर मानिसहरूकाे भिड देखियो । बुझ्ने रहर लाग्याे, मनले मानेन र बाहिर निस्किएँ । भिड नजिकै पुगेर एकजनालाई 'त्यहाँ के भएकाे हो भनेर साेधें' ! उनले 'आफ्नाे घर कम्पाउण्ड र बाटाेमा फाेहाेर फाल्ने कार्यबाट आजित भएका स्थानीयले आज फाेहाेर फाल्ने ब्यक्तिलाई रंगेहात (फाेहाेर सहित) समातेछन्' भने ।
उत्सुकता जाग्यो, नजिकै गएर हेरें, फाेहाेर फाल्ने मानिस घाेसेमुण्टाे लगाएर बसेका थिए । देखें, आखा तिर्मिराए । उनी त मेरा त्यै फेसबुकवाला समाजसेवी छिमेकी पाे रहेछन् !
(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.- ७)
दायित्वमा प्रकाशित
Comments
Post a Comment