सयवटा थुम्काहरु रहेको स्थान - 'शैलुङ´'

सानाे शैलुङ पुगेर आएका साथीभाइहरुबाट त्यहाँकाे बारेमा सुनेदेखि नै शैलुङ जाने ईच्छा पलाएको थियो, तर माैका मिलिरहेकाे थिएन । कुराकानीकाे क्रममा शैलुङ भ्रमणका लागि अकस्मात् आठजनाकाे समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै जुरेकाे रहेछ भन्ने लाग्याे ।

जाने तय भएपछि शैलुङ आउनेजाने गरेका स्कर्पियाे चालकसंग भ्रमणको बारेमा सरसल्लाह हुँदा, बिहान सबेरै निस्केर साँझसम्म फर्कने याेजना बन्याे । जाने अघिल्लो दिन, गाडीमा समस्या आएर ग्यारेजमा बनाउन पठाएकोले आफू जान नसक्ने भन्दै चालकले आफ्नाे सट्टा परिचित साथी चालकलाई पठाउने जानकारी गराए । हामीलाई त जानु नै थियोे, त्यसैले आपत्ति जनाएनाैं । निर्धारित समयमा पाथिभरा दर्शन लेखिएको बा २१ च ९८४८ नम्बरको स्काेर्पियाे गाडी लिएर चालक चन्द्र तामाङ आईपुगे । उनी यसअघि शैलुङ क्षेत्रमा पुगेका रहेनछन् । हाम्राे पनि त्यताकाे पहिलो  यात्रा थियो । तसर्थ, बाटाे साेध्दै भएपनि जाउँला भन्ने आँट लिएर २०७८ चैत्र १२ गते शनिबारका दिन बिहान पाँचबजेतिर घरबाट शैलुङ्गेश्वर जान निस्कियाैं ।

मध्य चैत भएतापनि बिहानकाे माैसम केही चिसै थियाे । साँढे छ बजेतिर जिराेकिलाे भन्ने ठाउँमा पुगि हामीले चियापान गर्‍याैं । यसपछि पुनः यात्रा अघि बढ्दै गयाे । दाेलालघाट हुँदै सुनकाेशी पुल तरेर हामी काेशीपारी उकालो लाग्यौं । त्यहाँबाट निकै माथि चढ्दै डुम्रेटार, सल्लेडाँडाकाे कच्ची तथा ग्राभेलबाटाे पार गर्दै बिहान पाैने नाै बजे काभ्रे, काेशीपारीकाे चाैरी देउराली गाउँपालिकामा पर्ने गुम्पाटीमा हाम्राे चीयापान भयाे । चालकलाई केही नास्ता पनि गरायाैं । यहाँका स्थानीयसंग हामीले शैलुङ जाने बाटो लगायतका बारेमा जानकारी लियाैं र अघि बढ्याैं । मज्जाले घाम लागेको थियोे । वरिपरि विभिन्न हिमाल टल्केका देखिन्थे । गाउँले परिवेश, हरियाली बाताबरण र खेतीपाती नियाल्दै, कच्चीबाटोमा ओरालो झर्दै बिहानको दशबजे तिर काभ्रे जिल्ला पार गरि, चाैरीखाेलाकाे पक्की पुलबाट हाम्रो गाडी रामेछाप जिल्लाकाे दाेरम्बा प्रवेश गर्‍यो ।

यहाँबाट फेरि उकालो चढ्न सुरु भयाे । बाटाे कच्ची थियोे । सुरुसुरुमा बाटामा फाट्टफुट्ट घरहरु देखिन्थे । तर निकै अगाडि पुग्दा कतै पनि घरहरु भेटिएनन् । बाटाेमा मानिस फेलापर्न पनि गाह्राे हुँदा दाेबाटाे आउँदा कतातिर जाने भन्ने दाेधार हुन्थ्यो । ठाउँठाउँमा साइनबोर्डकाे आवश्यकता महसूस भयाे । साँघुरो बाटो भएकाले कदाचित् बाटो भुलिएमा पनि गाडी फर्काउन सक्ने अवस्था थिएन ।

 घनाजंगल बिचकाे बाटाे अन्दाज गर्दै अघि बढ्यौं । बढ्दै जाँदा बाटाे भुलिएझैं लाग्थ्याे, मन आत्तिन्थ्याे । तैपनि संभालिंदै बाटोका दुबैतिर फुलेका लालीगुराँस र प्राकृतिक दृश्य नियाल्दै यात्रा जारी राख्यौं । यसैबेला अगाडिबाट माेटरसाईकलमा दुई युवालाई आउँदै गरेकाे देख्यौं । हतारहतार राेक्दै अगाडिको बाटो साेध्याैं । उनीहरु शैलुङ्गेश्वर पुगेर फर्केका रहेछन् । कम्तीमा बाटो त बिराएका रहेनछाैं भनेर बल्ल ढुक्क भयाैं ।

यसरी, हामी पाैने बाह्रबजे शैलुङ्गेश्वर पुग्यौं । त्यहाँ पुग्दा एउटा बसमा दर्शनार्थीहरु फर्कने तरखर गर्दै थिए । शैलुङ्गेश्वर परिसरमा पुगेपछि समय खेर नफालि हामी उकालो चढ्न थाल्यौं । ढुंगाका सिंढीहरू ब्यवस्थित थिए । छेउमा फलामे रेलिङ्ग हालिएको थियाे । भीरका रुखहरुमा ढकमक्क गुराँस फुलेका देखिन्थे । भुइँमा पनि गुराँसका फूल र भाँचिएका हाँगाहरु छरपस्ट थिए । प्राकृतिक साैन्दर्य नियाल्नु भन्दा पनि मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्याे ।उचाइमा भएपनि गर्मी थिएन । प्राकृतिक साैन्दर्यता नियाल्दै १५ मिनेटमा हामी शैलुङ्गेश्वर महादेव स्थान रहेको गुफामा प्रवेश गर्‍यौं ।

काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पर्ने २२०० देखि ३५०० मीटरसम्मकाे उचाइमा रहेको सानाे शैलुङ भनिने याे भूखण्ड तामाङ र मगर समुदायको बाहुल्यता भएको रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-४, गौश्वार भन्ने ठाउँमा अवस्थित छ । तामाङ्ग भाषामा 'सै' को अर्थ सय र 'लुङ्' काे अर्थ थुम्का हुन्छ । यहाँ सानाठूला गरेर सयवटा थुम्काहरु रहेकाले नै यस स्थानलाई शैलुङ भनिएको हाे । यी थुम्काहरु, परापूर्वकालमा यहाँ सयौँ ऋषिमुनिहरू तपस्यारत हुँदा कलियुग शुरु भएपछि, कलिको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा सबै ऋषिमुनिले समाधि लिएकाले त्यहि स्थानमा उत्पन्न भएको भन्ने किम्वदन्ती छ । 

शैलुङकाे सम्पूर्ण थुम्काहरू दुई जिल्लामा बाँडिएका छन् । शैलुङकाे सबैभन्दा अग्लो टाकुरा अर्थात् ठूलो शैलुङ दोलखा र रामेछापको सिमानामा पर्दछ भने सानाे शैलुङ्ग रामेछापमा पर्छ । बाटाे कच्चि भएकाले बर्षायाममा भने यहाँको यात्रा उपयुक्त हुँदैन । 

रामेछाप जिल्लातर्फ पर्ने सानो शैलुङ एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल हाे । यहाँकाे मुख्य आकर्षणकाे रुपमा शैलुङ्गेश्वर डाँडाकाे गुफामा रहेकाे शैलुङ्गेश्वर महादेव परिसरलाई लिईन्छ । अग्लो चट्टानी पहाडको बीचमा रहेकाे सुरुङभित्र शैलुङ्गेश्वर महादेव स्थानमा प्राकृतिक रुपमा निर्मित शिवलिङ्ग तथा विभिन्न देवीदेवताका आकारका शिलाहरु रहेका छन् । शिव मूर्तिको शिलामाथि गुफामा गाइको थुन आकारको थुप्रै शिला झुन्डिएझैँ देखिन्छन् । साे शिलाहरुबाट शिवलिङ्गमा निरन्तर पानीको थोपा चुहिने गर्दछ । साे पानीलाई हातमा थाप्दा दुधजस्ताे रंगकाे देखिन्छ । पहिले पहिले ती शिलाबाट दूध नै झर्थ्याे रे ! महादेव स्थान रहेकाे गुफाभित्र प्राकृतिकरुपमा निर्मित पापद्वार र धर्मद्वार पनि रहेका छन् । याे  स्थानले हलेसी महादेवस्थानकाे झझल्को दिन्छ । फरक यति हाे कि, हलेसी क्षेत्र जमिन सतहबाट तल छ भने याे डाँडा माथि अवस्थित छ ।

प्राचीनकालमा महादेव स्थलमा पूजाआजा गर्न भक्तजनहरु आउँदा पूजाको लागि आवश्यक पर्ने सबै भाँडाकुँडाहरु त्यही मन्दिरवाटै निस्कने र पूजा सकिए पश्चात् भाँडा माझेर राखेपछि पुनः अलप हुने गरेकाे थियोे रे ! पछि कसैले भाँडा सफा नगरि त्यसै छाेडेका कारणले त्यसबेला देखि पूजाभाँडाहरु निस्कन छाेडेकाे भन्ने अर्को  किंवदन्ती पनि छ । 

सानो शैलुङ विकास समितिबाट महादेवस्थानकाे रेखदेखका लागि खटिएका डम्बरबहादुर मगर आफूले सानै उमेरदेखि यहाँ दैनिक दर्शनार्थीहरु आउने गरेकाे देखेकाे बताउनुहुन्छ । यहाँको आफैं उत्पत्ति भएको शिवकाे प्राचीन शीला/शिवलिङ्ग निकै बर्षअघि चाेरी भएको कुरा पनि उहाँले सुनाउनुभयाे । उहाँका अनुसार यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, पौषपूर्णिमा र शिवरात्रीमा मेला लाग्ने गर्दछ । उक्त मेलामा भक्तजनहरु आफ्ना दिवंगत आफन्तका आत्माको मुक्तिका लागि रातभरी बत्ती बाली जाग्राम बस्ने गर्दछन् ।

महादेव स्थानकाे गुफाभित्र माथि र तल पहाडमा जाेडिएकाे चेप्टो आकारकाे लामाे लाम्चाे ढुङ्गा छ । त्यो ढुङ्गालाई मादल बजाएझै गरि बजाउँदा ठ्याक्कै मादलकाे आवाज सुनिन्छ । अहिलेकाे जस्तो विभिन्न बाजागाजाहरुकाे उपलब्धता नभएको परापूर्वकालमा राति जाग्राम बस्नेहरुले सोही ढुङ्गा बजाएर नाच्ने गाउँने गर्दथे भन्ने स्थानीय बुढापाकाहरुका भनाइ छ ।

यहाँ दर्शन र अवलोकन गरेर हामीले करिव एकघण्टा बितायाैं । तल पुग्दा अर्को एउटा बसमा दर्शनार्थीहरु आईपुगेका भेटिए ।  चाैरमा बसेर हामीले घरबाटै लगेको खाना बाँडेर खायौं र त्यहाँबाट २:३० बजे फिर्ती यात्रा सुरु गर्‍यौं । याे बाटोमा दुबै तर्फबाट बिहान १-१ वटा लाेकल बस पनि आउने र फर्कने गर्दा रहेछन् । आउँदा जस्तो कठिनाइ नब्यहाेरि हामी फर्किन थाल्यौं । यसबीचमा गाडीमा समस्या देखिन थालेकाे चालकले बताए । 

बाटो ओरालो भएकाेले सजिलै तल ओर्लिएर चाैरीखाेला पुल पार गरि काभ्रे छिर्‍याैं । अबको बाटो उकालो थियोे । उकालोमा गाडीले सबै यात्रु तान्न सकेन । २ जना बाहेक हामी ६ जना ओर्लियाैं र गाडी माथि लैजाँदै गर्नु भनेर हिड्न थाल्यौं । गाडी अघि बढ्यो । करिब आधाघण्टाकाे हिंडाई पछि झण्डै ५ बजे गाडी भेटियो, तर थलिएकाे अवस्थामा ! गाडीको क्लचप्लेट पुरै बिग्रेछ । अब मिस्त्री र सामान झिकाएर मात्रै गाडी चल्न सक्थ्यो । तर, फाट्टफुट्ट घर भएकाे अनकण्टार ठाउँमा याे सुबिधा कहाँ पाउनु ! साँझ पर्न थालिसक्याे । के गर्ने कसाे गर्ने भनेर हामी तनावमा पर्‍यौं ।

अलिक माथि ३-४ जना मानिस देखिए । हामीले त्यहाँ पुगि समस्या बतायाैं, सक्दाे सहयोगका लागि आग्रह गर्‍यौं । संयाेगवश ती मध्ये एकजना भाइ स्थानीय चाैरीदेउराली गाउँपालिका वडा नम्बर ३ काभ्रेका वडाअध्यक्ष विनोद घिसिङ रहेछन् । उनले रात बस्नुपर्ने अवस्थामा साे काे ब्यवस्था पनि मिलाईदिने आश्वासन दिए । हामीले सकिन्छ भने अर्को गाडी खाेजिदिन अनुरोध गर्‍यौं । उनले धेरैलाई फाेन गरे । अन्ततः सामान ओसार्ने एउटा बाेलेराे गाडी भेटियो । स्कर्पियाेका चालकभाइले काठमाडौंबाट अर्को गाडी र मिस्त्री मगाउँदैछु पर्खेर त्यसमा जानुस् न भन्दैथिए, तर परिस्थितिलाई दृष्टिगत गरि  काठमाडौंबाट आउने गाडीकाे प्रतीक्षा गर्न उचित ठानेनाैं ।

हाम्रो अनुरोधमा वडाध्यक्ष विनाेदजीले चालकलाई राति आफ्नो घरमा खाना ब्यवस्था सहित राख्ने हुनुभयो । हामीले बिग्रेको गाडीका चालकलाई कबुल गरेकाे पुरै भाडा र थप खाना खर्च समेत दियाैं । एकघण्टाभित्र बाेलेराे गाडी आईपुग्याे । सामान ओसारपसार गर्ने गाडीमा त्रिपाल ओच्छ्याएर हिंड्न लागेका हामीलाई अलिक माथि आफ्नो घरबाट विनाेदजीले गुन्द्री र चकटीहरु दिनुभयाे । विनोदजीकाे सहयोगी र सहृदयी ब्यवहार प्रति आभारी हुँदै हामी उहाँ र चालकसंग बिदा भई फर्कियाैं । 

अहिलेको सवारी बिहान गएजस्ताे सुविधाजनक थिएन, गाडी खर्च पनि थपिएको थियो । तापनि यी सबैभन्दा घर फर्कन पाएकाे खुशीले अन्य सबैकुरा गाैण बनाएको थियाे । गाडीमा बाटोको चिसो सिरेटाे ओढ्दै, यात्राका अनेकौं अनुभव बटुल्दै राति सवा एघार बजे यात्रा पुरा गरेर हामी आ-आफ्नो घर भित्रीयाैं । भाेलिपल्ट दिउँसो २ बजे स्काेर्पियाे चालक चन्द्र तामाङलाई फाेन गरेर साेध्दा, काठमाडौंबाट सामान लिएर मिस्त्री हिंडिसकेकाे र साँझसम्ममा आईपुग्ने खबर पाएकाे उनले बताए । याे कुरा सुनेपछि, अघिल्लो दिन अर्को गाडीमा फर्कने निर्णय गरेर ठीकै गरेछाैं भन्ने लाग्याे ।

अन्त्यमा,

काठमाडौँबाट नजिकै रहेको चिरपरिचित स्थान भएतापनि भौतिक पूर्वाधारको समुचित विकास हुन नसकेकाे तथा आवश्यक प्रवर्द्धनको कमिले गर्दा सानाे शैलुङ्गले अन्य पर्यटकीय स्थानहरूले जति लोकप्रियता पाउन सकेको छैन । धार्मिक आस्थाको केन्द्र एव पर्यटनको रुपमा समेत महत्वपूर्ण रहेको सानो शैलुङ्ग महादेव स्थानको उचित प्रचारप्रसार हुनसके यहाँ बर्सेनि दसौं हजार धार्मिक पर्यटकहरु भित्र्याउन सकिने देखिन्छ । जसबाट यसक्षेत्रकाे सर्वतोमुखि विकासमा दरिलो टेवा पुग्ने थियो ।
 -------------------------- ✍️ मुरारीराज मिश्र

यात्राका सहभागी:
रत्नमाया गाैतम, शारदा थापा, बिष्णु बस्नेत, अनिता बस्नेत, मेधा मिश्र, कल्पना मिश्र, काैशलराज मिश्र र मुरारीराज मिश्र ।


शारदा मासिकमा प्रकाशित ।






याे लेख साहित्यपाेष्ट अनलाइनकाे यस लिंकमा गएर पनि पढ्न सकिन्छ -   https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-travelog/70480/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...