लघुकथा: प्रायश्चित

✍️ मुरारीराज मिश्र

पुराना नेता र पार्टीका ब्यवहारबाट आजित भएकाे उ यसपटकको स्थानीय निर्वाचनमा भने खुलेरै स्वतन्त्र युवा उम्मेदवारकाे पक्षमा लागेको थियोे । जुन कुरा ठूलै पार्टीका वडाध्यक्षका उम्मेदवार उस्काे छिमेकीलाई पटक्कै चित्त बुझेकाे थिएन । 

यसअघि आफ्नो पक्षमा मत माग्दै हिंड्ने उस्लाई स्वतन्त्रकाे पक्षमा नलाग्न छिमेकीले लाेभ-लालच र घुमाउरो किसिमले धम्की पनि नदिएको हैन, तर उ आफ्नो अडानमा अडिग रह्यो । फलतः स्वतन्त्र उम्मेदवार अत्यधिक मतले वडाध्यक्ष पदमा बिजयी भयाे । छिमेकीले हारे पनि बाँकी चार सदस्यमा भने उस्कै प्यानलका पार्टी उम्मेदवारहरुले जित हासिल गरे ।

समय बित्दै गयाे । तर बर्ष दिन पनि नबित्दै वडाध्यक्षले राजिनामा गरेकाे खबर फैलियो ! त्यसै साँझ छिमेकीले उसलाई सुनायाे - 'तपाईंले स्वतन्त्रलाई जिताएर के-के न पुरुषार्थ गरें भन्नुहुन्थ्यो नि ! खै त त्यसले केही गर्न सकेन ! वडामा हाम्रो बहुमत भएकाेले हामीले वडाध्यक्षलाई हरेक कुरामा असहयोग गरेर आखिर राजिनामा दिन बाध्य पार्‍याैं ! यसपालि मलाई नजिताएर तपाँईहरुले ठूलाे गल्ती गर्नुभयो !' 

त्याे सुनेर उस्ले हात जाेडेर छिमेकीलाई भन्याे- 'हाे हजुर, हामीले एकजना स्वतन्त्रलाई जिताएर ठूलै गल्ती गरेछाैं ! बल्ल थाहा भयाे, एउटाले जितेर केही हुने रहेनछ ! आइन्दा यस्ताे गल्ती दाेहाेर्‍याउने छैनाैं । अबको निर्वाचनमा वडाध्यक्ष मात्रै हैन पुरै टिम स्वतन्त्र उम्मेदवार जिताएर हामी यस गल्तीको प्रायश्चित गर्ने नै छाैं ।'

*****

(उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७)

मधुपर्कमा प्रेषित 

https://www.nepalesediaspora.com/archives/18183 नेपाली डायस्पाेरामा प्रकाशित ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...