भजनहरु ९
#प्रार्थना
कृष्ण भगवान, प्रभु कृष्ण भगवान ।
अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।।
उठ्यो खायो चुठ्याे दाैड्याे, संधै कामै काम ।
घर फर्क्याे फेरि खायो, सुत्याे लम्बेतान ।।
कृष्ण भगवान, प्रभु कृष्ण भगवान ।
फुर्सद छैन सासै फेर्ने, कैले गर्नु ध्यान !!
धनसम्पत्ति नातागोता, सबै सान-मान ।
संगै लान्छु जस्ताे गर्छ, मनले अभिमान ।।
कृष्ण भगवान, प्रभु कृष्ण भगवान ।
मुर्ख मनलाई नाङ्गै जान्छस्, भन्ने देऊ ज्ञान ।।
सधै झुठो बाेल्छ मुखले, लिन्न तिम्रो नाम ।
कमाउने रमाउने, मात्रै भयाे काम ।।
कृष्ण भगवान, प्रभु कृष्ण भगवान ।
कैले गर्नु प्रभु तिम्राे, नामामृतकाे पान !!
कृष्ण भगवान, प्रभु कृष्ण भगवान ।
अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।।
~~~~~~~~~~~~~~
सेवा गराैं दुखीकाे, ठानेर नित्य कर्म ।
भन्छन् पुराण-शास्त्र, 'याे नै हाे खास धर्म' ।।
भेटिन्न मुक्तिमार्ग, धाएर मात्र तीर्थ ।
आँसु पुछे दुखीकाे, सन्तुष्टि मिल्छ भित्र ।।
धाउनु हुन्न मन्दिर, मनमा लिएर स्वार्थ ।
देखावटी गरेमा, हुनेछ धर्म व्यर्थ ।।
गर्छाैं स्मरण प्रभुकाे, पर्दछ दु:ख जैले ।
भज्ने गराैं सुखैमा, पर्दैन दु:ख कैले ।।
***************
सकल सृष्टिका तिमी हाै दाता
तिमी विना अपुराे छाैं हे माता
लिन्छाै जति नै, लेऊ परीक्षा,
दर्शन पाऊँ, माग्दछु भिक्षा
जन्म जन्मकाे नाता हाम्रो
हामी सन्तति माता तिम्राे
रुपैयाँ पैसा कति कमायाैं
दान गरेनाैं ब्यर्थ उडायाैं
जिन्दगीबाट पायाैं शिक्षा
छ अब खाली, याैटै ईच्छा
दुखीजनकाे सेवा गर्ने
उनकै लागि बाँच्ने मर्ने
धर्म रहेछ पराेपकार
मनकाे दम्भ फालि बिकार
आशा नगरी केही फलकाे
कर्म गर्नु नै मुक्तिमार्ग हाे
***************
#नाम_संकीर्तन
सीताराम सीताराम, जपाैं सीताराम ।
शुद्ध मनले जपनाले, पूर्ण हुन्छ काम ।।
राधेश्याम राधेश्याम, जपाैं राधेश्याम ।
यीनै सारा देवता हुन्, हाम्रो मुक्तिधाम ।।
रावणादि दुष्ट संहार, गर्ने प्रभु राम ।
बृन्दावनमा बंशी मीठो, बजाउने श्याम ।।
सीता अनि राधाजीकाे, प्रीय राम-श्याम
राम-श्याम याैटै नै हुन्, बिष्णु भगवान् ।।
कलियुगमा पर्दैन केही, गर्न ठूलाे काम ।
माेक्ष मिल्छ सम्झे केवल, प्रभुजीकै नाम ।।
भजाैं राधेश्याम, जपाैं सीताराम ।
उनले चाहे नहुने त, के नै छ र काम !!
भजाैं राधा नाम, भजाैं सीता नाम ।
भजाैं सबले कृष्णजी र, रामजीकाे नाम ।।
शुद्ध मनले जपनाले, पूर्ण हुन्छ काम ।
यीनै सारा देवता हुन्, हाम्रो मुक्तिधाम ।।
***********************
मानिसको जीवन हाे - अचम्मको कहानी ।
फेरिए जस्तै ऋतु, फेरिन्छ जिन्दगानी ।।
हाँसो-पीडा र चिन्ता, दिन-रात, घाम-पानी ।
आगाे, चिता, खरानी, यै रैछ जिन्दगानी ।।
छाेटाे छ बाल्यवस्था, छाेटै छ याे जवानी ।
जन्म्याे, बढ्याे र बित्याे, यत्ति हाे जिन्दगानी ।।
तेरो र मेराे गर्दै, संसारै आफ्नो ठानी ।
माकुरीजाल भित्र, बित्दै छ जिन्दगानी ।।
माया र माेह त्यागी, ईश्वर नै सत्य मानी
सत्कर्मतर्फ लागाैं, सप्रन्छ जिन्दगानी
***********************
#प्रार्थना
मुठ्ठी कसेर आयाैं जगमा, जानु छ मुठ्ठी फुकाई ।
गर्नु छ ब्यर्थ तेराे मेराे, लानु के छ र भाइ !!
शिक्षालय हाे जीवन हाम्रो, चल्छ नित्य सिकाइ ।
`मै हुँ ज्ञानी मै हुँ जान्ने´ घमण्ड ब्यर्थ छ भाइ ।।
कलुषित मनले धर्म कमिन्न, दिनहुँ मन्दिर धाइ ।
परपीडा नै पाप कर्म हाे, बिर्सनु हुन्न है भाइ ।।
प्रेमभावले बाेलाैं सबसंग, यही हाे ठूलाे कमाइ ।
अरुको मनमा स्थान बनाइ, जानु पर्दछ भाइ ।।
पूर्वजन्मकाे पुण्यकर्मले, मानव चाेला पाइ ।
`कर्म´ लिएर पर्दछ जानु, जीवन यै हाे भाइ ।।
सेवा गर्दै दीन दुखीकाे, दिन बिताेस् रमाइ
`जति छ शेष, त्यै हाे विशेष´, जीवन बुझ है भाइ ।।
चाैरासीकाे चक्र पुरा गरी, मानव चाेला पाई ।
ब्यर्थ नफालाैं जीवन आफ्नो, मर्नु पर्दछ भाइ ।।
✍️ मुरामि
#प्रार्थना
छ नै के र मेराे, गराैं के म अर्पण !
सबै हाे याे तिम्रै, तिमी मै समर्पण ।।
म जान्दिन केही, पकाउन मीठो ।
त्यसैले चढाएँ, प्रभाे, जल र पिठो ।।
मीठो मानी खाऊ, खुशीले रमाइ ।
कृपादृष्टिले, हेरिदेऊ् हामीलाई ।। छ नै के र...
रुखा ती कनिका, पकवान मानी ।
चढाएँ तिमीमा, महाभाेग ठानी ।।
सबै प्रेम घाेलेर, अर्पें चरणमा ।
ग्रहण गर्दिनुस्, हे प्रभु छु शरणमा ।। छ नै के र...
न सक्छु चढाउन, बैजयन्ति माला ।
न कस्तुरी चन्दन, न ता बाघ छाला ।।
तथापि चढाएँ, प्रभाे भाव-भक्ति ।
म निर्धाे मनुवा, यति नै छ शक्ति ।। छ नै के र...
लिई नाम तिम्रो, जति जे जुटाएँ ।
नमीठा चढाएँ, मीठा आफू खाएँ ।।
गरि लाेभ भाे, भूल जानीनजानी ।
दयानाथ राख, कृपा पुत्र ठानी ।। छ नै के र...
भएँ धेर आशक्त, तृष्णा र धनमा ।
म छु पूर्ण भन्ने, थियाे दम्भ मनमा ।।
रहेछु म रित्तो, गरुँ के समर्पण !
गरें भावले प्रेमका पुष्प अर्पण ।। छ नै के र...
✍️ मुरामि
#प्रार्थना
जग हाे, केवल भ्रमकाे छाया ।
छुट्न सकेन जत्ति गरे पनि,
मनकाे माेह र माया ।
जग हाे, केवल भ्रमकाे छाया ।।
तीर्थ पुगें अनि, मन्दिर धाएँ,
गरें दान र ध्यान ।
कण्ठ पनि गरें, वेद र गीता,
आएन मनमा ज्ञान ।।
त्याग्न सकेन, मूढ याे मनले,
बिषयभाेगकाे माया ।
जग हाे, केवल भ्रमकाे छाया ।।
तेरो मेराे, गरि गरिकन,
केही सम्पत्ति जाेडें ।
धनले गर्दा, बढ्यो अहमता,
आफ्नालाई ताेडें ।।
हण्डर खाई, बल्ल बुझें प्रभु,
याे सब तिम्रै माया ।
जग हाे, केवल भ्रमकाे छाया ।।
✍️ मुरामि
#भजन
शास्त्रहरुकाे सार खिचेर, भन्नुहुन्छ ऋषि ब्यास ।
`ठूलो धर्म हाे पराेपकार, परपीडा हाे पाप´ ।।
प्राणीमात्रको हित चिताई, शुद्ध बनाई चित्त ।
परसेवामा लाग्नु उचित छ, मानवहरुले नित्य ।।
परपीडामा मल्हम लगाउनु, ठूलो धर्म हाे खास ।
मुक्ति पाउने मार्ग यही हाे, भन्नुहुन्छ ऋषि ब्यास ।।
जति गरेपनि पाठ-पूजा र, दान-ध्यान अनि तीर्थ ।
मनमा लाेभ र क्लेश लिएमा, सबै हुनेछन् व्यर्थ ।।
जाओैं शरणमा उनै प्रभुकाे, बनाै उनैको दास ।
कर्म यही हाे धर्म यही हाे, भन्नुहुन्छ ऋषि ब्यास ।।
धर्महरु हुन हाम्रा आँखा, शास्त्रहरु हुन् ज्याेति ।
मानवता नै कल्पवृक्ष हाे, यसमै फल्दछ माेती ।।
मनमन्दिरमा हुन्छ संधैभरी, परमेश्वरको बास ।
पाप कर्महरु त्याग भनेर, भन्नुहुन्छ ऋषि ब्यास ।।
✍️ मुरामि
Comments
Post a Comment