लघुकथा: "बुबा"
✍️ मुरारीराज मिश्र
हामी मध्यमवर्गीय परिवार । बुबा सामान्य जागिरे । आमा गृहिणी । म परिवारकाे एक्लो छाेराे । पढाइमा टाठै थिएँ । आमाबुबाले मेरालागि सबै कुरा पुर्याइ दिनुभएको थियाे । मलाई राम्रो स्कुल कलेजमा पढाउनु भएको थियाे । कलेज जानथाले पछि सजिलोका लागि स्कूटर किनिदिनु भएकाे थियोे । पेट्रोल र पकेट खर्चका लागि बुबाले नै साेध्नुहुन्थ्याे । मैले ईच्छा गरेपछि बुबाले कुनै कुराकाे लागि पनि सामान्यतया नकार्नु हुन्नथ्यो ।
मेराे कलेजमा ड्रेस अनिवार्य थिएन त्यसैले म दैनिक पाेशाक फेरेर लगाउथें । बजारमा आएकाे नयाँ फेसन मेराे राेजाइमा हुन्थ्यो । कुनै विवाह, व्रतबन्ध, पार्टी, पिकनिक आदिमा एकपल्ट लगाएर गएकाे लुगा, शायदै दाेहाेर्याएर लाएँ हाेला मैले ! संक्षेपमा भन्दा, बुबाले आफ्नोतर्फबाट गुनासाे गर्ने माैका कहिल्यै दिनुभएको थिएन मलाई ।
स्नातकतहकाे अन्तिम परीक्षा सकिएको थियोे । घरमा एक्लै थिएँ । आफ्ना पुराना पुस्तकहरु मिलाउने मुड चल्याे । यसै क्रममा एउटा पारिवारिक फाेटाे एल्बम भेट्टाएँ । किताब मिलाउन छाेडेर एल्बम हेर्न थालें । धेरैपछि बाल्यकाल देखिका फाेटाेहरु देख्दा रमाइलो लाग्याे । मानपटलमा पुराना दृश्यहरु ताजा हुन थाले । एल्बम लगभग सकिन लाग्दा अचम्मित हुँदै गएँ ! म फेसनकाे शाैखिन तर बुबा दशाैं बर्ष अघिदेखि अहिलेसम्मकाे फाेटाेहरुमा प्रायः एउटै लुगामा देखिनुभयाे । मनमा के-के साेचाइ आयाे, बुबालाई सम्झेर अकस्मात् भक्कानिएँ !
(कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment