श्रीकृष्णद्वारा कुमालेलाई मुक्ति प्रदान
पाैराणिक कथा
गाेपिनीहरुबाट दिनहुँजसो बाल श्रीकृष्णकाे बारेमा गुनासो सुन्दा-सुन्दा दिक्क हुनु भएकी यशाेदा माता कृष्णजी प्रति क्राेधित हुँदै, अब त यसलाई बदमासीकाे सजायँ नदिई भएन भनेर लठ्ठी समाति कृष्णजी तर्फ जाईलाग्नु भयो । आमा लठ्ठी लिएर आफूतिर आएको देखेर लठ्ठीबाट बच्न श्रीकृष्ण दाैड्न थाल्नुभयाे भने यशाेदा माता पनि पछिपछि लखेट्न थाल्नुभयाे ।
दौड्दै गर्दा श्रीकृष्ण एक कुमालेकाे घरमा पुग्नुभयाे । कुमाले माटोको भाँडा बनाउनमा व्यस्त थिए । कृष्णजीलाई आफ्नो अगाडि देखेर उनी निकै खुशी भए । कृष्णजीले कुमालेलाई भन्नुभयो - "कुमाले काका, आज मेरी आमा मसँग धेरै क्रोधित हुनुभएकाे छ । उहाँ लठ्ठी लिएर मेरो पछि पछि आउँदै हुनुहुन्छ । कृपया, मेरी आमाले नदेख्ने गरि मलाई कतै लुकाउनुहोस्" । कृष्णजीकाे यस्ताे आग्रह सुनेर कुमालेले कृष्णजीलाई ठूला घैटाहरुकाे मुन्तिर लुकाए ।
केही क्षणमै यशोदा त्यहाँ आउनु भयाे र कुमालेलाई सोध्नुभयाे - "कुमाले भाइ, तिमीले मेरो कन्हैयालाई कतै देख्यौ कि ?" कुमालेले भने - "छैन माता, मैले कन्हैयालाई देखेको छैन ।" कृष्णजीले घैंटाे मुनिबाट यी सबै कुरा सुनिरहनु भएको थियाे ।जब यशाेदा त्यहाँबाट जानु भयाे तब कृष्णजीले कुमालेलाई भन्नुभयाे - "कुमाले काका, आमा जानुभयो, त्यसैले घैंटाहरु हटाएर अब मलाई यहाँबाट निकालिदिनुस् ।
कुमालेले भने - "होइन प्रभु ! पहिले मलाई चौरासी लाख जुनीको बन्धनबाट मुक्त गर्ने वचन दिनुस् ।" कृष्णजी मुस्कुराउनुभयो र भन्नुभयो - "ठीक छ,"म तपाँईलाई चौरासी लाख जुनीकाे बन्धनबाट मुक्त गर्ने वाचा गर्छु" अब मलाई बाहिर निकाल्नुहोस् । कुमालेले फेरि भन्न थाले - "म एक्लो छैन, प्रभु ! त्यसैले मेरो परिवारका बाँकी सबै मानिसहरूलाई पनि चौरासी लाख जुनीको बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुभयो भने म तपाँईलाई बाहिर निकाल्छु । कृष्णजीले तिनीहरुलाई पनि चौरासी लाख जुनीहरुको बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुभयाे र भन्नुभयो - "अब त मलाई बाहिर निकाल्नुहोस् ।" तब कुमाले भन्छन् - "प्रभु !अझै एउटा अनुरोध छ, त्यो पनि पूरा गर्ने वाचा गरेमा म यहाँलाई निकाल्छु।"
श्रीकृष्णले भन्नुभयो - "अब के भन्न चाहनुहुन्छ ? लाै भन्नुस्" कुमाले भन्न थाले - "हे प्रभु ! तपाईं जुन भाँडाकाे मुनि लुक्नुभएकाे छ, त्यो माटो मैले मेरो गोरुमाथि बाेकाएर ल्याएको हुँ, त्यसैले यी गोरुहरूलाई समेत चौरासीको बन्धनबाट मुक्त गर्ने वचन दिनुहोस् ।" कुमालेको कुराले प्रसन्न भई भगवानले ती गोरुहरूलाई पनि चौरासीको बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुभयो । अनि हाँस्दै भन्नुभयो - "अब त तपाईंका सबै मनोकामना पूरा भयो हाेला नि ! ल मलाई बाहिर निकाल्नुहोस्।'
कुमाले भन्छन् - "अहिले होइन भगवान ! एउटा अन्तिम इच्छा छ, हामीबीचको यो संवाद जुन प्राणीले सुन्नेछ, उसलाई पनि चौरासीको बन्धनबाट मुक्त गराउनेछु भन्ने वचन तपाईंले दिनुपर्छ, त्यसपछि भने म पक्कै तपाँईलाई यी घैंटाहरु पन्छाएर यहाँबाट निकाल्नेछु।" कुमालेका प्रेमले भरिएका वचन सुनेर भगवान श्रीकृष्ण निकै खुसी हुँदै कुमालेकाे यो इच्छा पनि पूरा गर्ने प्रतिज्ञा गर्नुभयाे । कुमालेले कृष्णजीका पाउमा प्रणाम गरे, चरण पखालेर चरणामृत पिए, आफ्नो पूरै कुटीमा चरणामृत छर्के र भगवानलाई अँगालो हालेर प्रेमविह्वल भई यति रोए कि रुँदारुँदै ऊनी भगवानमा विलीन भए ।
एकचोटि सोच्नुहोस् त ! त्यस्ता बालक श्रीकृष्ण जसले सातकोस अग्लो गोवर्धन पर्वतलाई आफ्नो एक औंलामा उठाए, माटाेका जाबाे एक-दुई घैंटाहरु पन्छाएर उनी बाहिर निस्कन सक्दैन थिए हाेलान् त !!! याे त केवल प्रभुकाे लीला थियो । कृष्णजी प्रेमले भेटिनुहुन्छ । यज्ञ, अनुष्ठान, दान, भजन, पूजा, पाठ, भक्ति जेजति गरेपनि जबसम्म मनमा प्राणीप्रति प्रेम हुँदैन, तबसम्म भगवान श्रीकृष्णलाई पाउन सकिँदैन । 🙏
भगवान श्रीकृष्ण भन्नुहुन्छ ;
`सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।।´
अस्तु ।
Comments
Post a Comment