लघुकथा : प्रमाण

 लघुकथा

#प्रमाण                                                                    ✍️मुरारीराज मिश्र

केही अघिकाे कुरा हाे । आफ्नो घर मूलबाटाेमा जाेडिएकाेले, टाेलका मानिसहरूले घर अगाडि बाटोमा फालेका फाेहाेरकाे दुर्गन्धले कुमारलाई निकै असहज हुन्थ्यो । यसका बिरुद्ध आवाज उठाउँथ्याे र सामाजिक सञ्जालमा लेख्थ्याे पनि । बाटाे कुरेर भएपनि उ लुकेर फाेहाेर फाल्न आउनेलाई गाली गर्थ्याे । तर याे सबैमा उसले छरछिमेकीबाट साथ पाएन । फाेेहाेर फाल्ने मानिस पत्ता लगाउनु पर्‍यो भनि सहयोग खाेज्दा छिमेकीहरु हाँसेर टारिदिन्थे । उनीहरूकाे हाउभाउबाट - 'तँ किन जान्ने भएकाे भनेर उसलाई राेक्न खाेज्दैछन्' भने झैं लाग्थ्यो ! सबैकाे साथ नपाएकोले त्यहाँ फाेहाेर फाल्ने काम उस्काे प्रयासबाट मात्र राेकिन सक्ने सम्भावना नै थिएन र राेकिएन पनि !


आफ्नै घर सामुन्नेकाे यस्ताे नियमित दृश्यले दिक्क भएको उसलाई एकदिन बिहान बाहिर बाटोमा निस्कन लाग्दा आफ्नो ढाेकाकै आडमा फाेहाेरकाे पाेका राखिएको देखेर थप आक्राेशित बनायो । उ सरासर घरभित्र पस्याे । हातमा पञ्जा लगायाे र निस्किएर फाेहाेरकाे पाेकाे खाेतल्न थाल्यो । झाेलामा नाम चलेकाे एउटा सुपर मार्केटकाे नामांकित थियोे । फाेहाेरकाे प्रकृति हेर्दा सामान्यतया उच्च वर्गीय परिवारले प्रयाेग खालका सामानहरुका देखिन्थ्यो फाेहाेर ! उस्ले फाेहर खाेतल्दै गयाे । अन्ततः झाेलाबाट बैंकमा माेटै रकम जम्मा गरेकाे सक्कल भाैचर र एउटा निमन्त्रणापत्र समेत 'प्रमाण' फेला पर्‍याे । बैंक भाैचर र निमन्त्रणापत्रमा एकै ब्यक्तिकाे नाम उल्लेख थियोे । जुन ब्यक्ति साेही टाेलका गण्यमान्यमा गनिन्थे ।


कुमारले वरिपरिका छिमेकीहरुलाई बाेलाएर दुबै कागज देखायाे । सबै जिल्ल परे ! तत्पश्चात सब‌ैजना हल्ला गर्दै ती स्वनामधन्य गण्यमान्यकाे घर पुगेर ढाेका ढकढक्याउन थाले । सुरुमा झ्यालमा देखिएका गण्यमान्य भित्र पसे, निस्केनन् । घरायसी सहयाेगी केटाे सहित निजकी श्रीमती ढाेकामा आएर, किन भीडभाड गरेर ढाेका ढकढक्याएकाे भनि जंगिन थालिन् । कुमारले फाेहाेर कहाँ फाल्नु हुन्छ भनेर साेध्याे । उनले जवाफ दिन नपाउँदै सहयोगी केटाेले 'हामी कण्टेनरमा फाल्छाैं' भन्नासाथ भीडमध्येको एक ब्यक्ति 'तिमीहरूको कण्टेनर भनेकाे बाटाे र ब्यक्तिकाे ढाेका अगाडि छ हैन ? अब त्याे सबै फाेहाेर तिमीहरूकै घरमा ल्याएर फालिदिन्छाैं' भनी करायाे, केटाे हच्कियाे । कुमारले कागज देखायाे । श्रीमतीले आफ्नाे सहयोगीबाट भएको गल्ती स्वीकारेर माफि माग्दै सजायँ भाेग्न तयार भएको बताईन । छिमेकीहरुले अगाडि बाटोमा थुप्रिएकाे फाेहाेर आफ्नै खर्चमा उठाएर सफाइ गरे एकपटकका लागि माफ गर्ने बताए । सहमति पालना भयाे । यस घटनाले समाजमा सचेतना जगायाे ।  बाटाेघाटाेमा फाेहाेर फाल्न लगभग छाेडिए । बेवारिसे फाेहाेरकाे पाेका भेटिएमा अचेल पनि त्यहाँका मानिसहरु फाेहाेर खाेतल्न तम्सिहाल्छन । 

(उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...