मुक्तकहरु २
घाउ गाेडामा छ, पाखुरामा मल्हम दल्दैछन्
लाग्छ सबै विद्वान्हरु, रिमाेटबाट चल्दैछन्
खै, याे प्रभाव राजनीतिकाे हाे वा माैसमकाे
घिराैंलाकाे बाेटभरी, तितेकरेला फल्दैछन् !!
एकातिर टाठाबाठाहरु, सत्ताकाे आडमा माेजमस्ति गर्छन्
अर्कातिर सर्वसाधारणहरु, सिटामाेलै नपाएरै मर्छन्
प्राथमिकतामा `अस्पताल´ कहिल्यै पनि परेन याे देशमा
नेता भने भ्यूटावर र शालिक, बनाउन मात्रै अघि सर्छन् !
संघर्ष हाे जीवन, काेही हार्छन् कसैले बाजि मार्छन्
काेही काेकाेहाेलाे गरि बस्छन्, काेही मन शान्त पार्छन्
आखिर एउटै त हाे नि, पीडा र वेदना सबैकाे
फरक यै छ - कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !!
आशाको डाेरी समाऊ,
आँखाकाे आँसु लुकाऊ,
खुच्चिङ् भन्ला समाजले
ढाेका खाेल्दा मुस्कुराऊ ।
प्रजातान्त्रिक भनिने, संस्कार खै कता गाे ?
सबैतिर, टीके र हुकुमी प्रथा हावी भाे !
पाउँदा चुप, नपाए मात्रै रुने हुन् सबै
अलिकति भएनि, लाज त लाग्नै पर्ने हाे !
कतै दिएर, कतै नदिएर, विधाताले मन जाँचेकाे छ
सहयोगी भावना सबैमा आउने, उस्ले आशा साँचेकाे छ
भनिसाध्यै छैन, कति सन्तुष्टि मिल्छ, कसैकाे व्यवहारले
त्यस्तै मान्छेका कारण नै त, धर्तीमा मानवता बाँचेको छ ।
समय आफू अनुकूल हुँदा, सबै ठीकठाक चल्छ
थाेरै मात्रै प्रतिकूल हुन गयाे भने, नाैनाडी गल्छ
नपत्याए हेर्नुस्, त्याे मैमत्त बनि हिँडेको नेतालाई
चुनावमा कति नम्र बन्दै, मतदाताकाे पाउ मल्छ !!
कतै विधाताकाे क्रुर कहर,
कहीँ पुरा हुन्छन् सबै रहर,
समानता कैले हुने खै यहाँ ?
बडाे बेइमान छ याे सहर !!
श्रीखण्ड चन्दन अनि फूल पातमा भेटिन्न,
बिहान, दिउसो वा अँध्यारो रातमा भेटिन्न,
बाहिर होइन मनभित्र खाेज उसलाई,
ईश्वर कुनै सम्प्रदाय र जातमा भेटिन्न ।
(प्रहरी २०८० पाैष-माघमा प्रकाशित)
आसामी कम, अधिक साहुहरु छन्
खुराफातीका अनेक, दाउहरु छन्,
एक्लाे चन्द्रमा कतिन्जेल उदाउला !
आकाशमा जताततै, राहुहरु छन् ।।
संगै हुँदा महान, छुट्टिएपछि गालीगलाैज
यही बन्याे परम्परा, यस्तै भईरहेछ राेज
छेपारेहरुकाे जमात, बढ्दैछ याे समाजमा
आयाराम गयारामकाे नै, यहाँ संधै छ माेज !
ओठमा लाली, सिउँदाेमा सिन्दुर भरेपछि
बिस्तारै मुस्कुराउँदै, कर्के आँखा तरेपछि
हाेसमा नै छु भनेर कसरी भन्न सक्छु म ?
जब त्याे माेहिनी रुपले, याे मन हरेपछि ।
समय, परिस्थिति र मौसम, जस्ताेसुकै हाेस् लड्नै पर्छ
जिन्दगीमा हरेस नखाई, निरन्तर अघि बढ्नै पर्छ
समस्यारुपी पहाड, जतिसुकै विकराल भएपनि
शिखरमा पुग्ने आँट राखि हाैसलापूर्वक चढ्नै पर्छ ।।
गरीबी र जिम्मेवारीबाेधले संधै ढाड भाँचेकाे छ,
कुनै बेला त दिन फर्केला मान्छेले आशा साँचेकाे छ,
सम्पत्तीलाई नै सर्वस्व मान्ने मात्रै छैनन् समाजमा
यस्तै मान्छेकै कारणले यहाँ मानवता बाँचेको छ ।
खेल हारिने त्रासले, खेलाडीहरुकाे मन जल्दैछ
कतै म्याच फिक्सिङ्ग त, कतै भुसभित्र आगाे बल्दैछ
रमाइलो मानी हेरिरहेका छाैं, हामी जनताहरु
अैले देशमा, राष्ट्रपति कप रनिङ्ग शील्ड चल्दैछ !
पहिले मात्तिएर छिछि-दुरदुर गरियो,
आफ्नै आसेपासेहरुकाे विश्वासमा परियो,
पछुतो भयाे सबै गुमाउनु पर्दा अहिले,
त्यसैले लत्रिएर उनकै शरण परियो !!
कहिले घटाउ त कहिले जाेडमा छ जिन्दगी,
थाेरै सजिलो धेरै कठिन माेडमा छ जिन्दगी,
जति संघर्ष गरेपनि केही हुँदाे रहेनछ !
तापनि, नहारी उँभाे लाग्ने हाेडमा छ जिन्दगी ।।
(प्रहरीमा प्रकाशित
नेताहरू अझै ढाँट्दैछन्
जनताको घाँटी काट्दैछन्
भेडा बनेर कार्यकर्ता
उनकै तलुवा चाट्दैछन् !
श्रमजीवीहरु स्वदेशभित्रै अनेकन सास्ती पाउँदैछन् ।
ऋण काढि बिदेश जानेहरु बाकसमा फर्कि आउँदैछन् ।
चप्पल पड्काउँदै राजनीति गर्ने मालामाल भई सके,
जनता झनै गरीब बन्दै चप्पल सिलाएर लाउँदैछन् ।।
जहाँ मानिस हरेक कुरामा ढाटिन्छन्
माया गरेझैं गरि च्वाट्ट घाँटी काटिन्छन्
भेटियाे भने त्यहाँ आफ्नो मन् मिल्ने काेही
पशु नै किन नहाेस् सुखदुख साटिन्छन् ।
कसैले माया गरेझैं गरि, फलामे किला गाडेको छ
हत्केलामाथि प्रेमले राखि, सुर्ती जसरी माडेकाे छ
अनेकौं बहानामा खनिने, सडकजस्तै भाे याे छाती
जतिसुकै पीडामा पनि, हिजोआज दुख्न छाडेको छ !
स्वार्थको राेटी पनि सेकिने
जस्तो हाेस् इतिहास लेखिने
सञ्जिवनी बुटी रै'छ सत्ता
बृद्ध पनि जवान देखिने !
सादा जीवन राेज्नेहरु भड्किलो तर्फ लागेपछि,
माया-माेह त्याग्नेहरुमा धनकाे भाेक जागेपछि,
नैतिकता भन्ने कुरा कहाँ बाँकी रहन्छ हजुर !
साधु-सन्तहरुले नै जब हीरा-माेती मागेपछि ! पाइला पाइलामा बगरे भेटिन्छन्,
मानिसका मन नराम्ररी रेटिन्छन्,
आफ्नो इतिहास बनाउने दाउमा
अरुकाे याेगदान खुर्केरै मेटिन्छन् !
'पराई भो बरु आफ्नो, आफन्त शत्रु तुल्य भो',
यस्तो भयो भने सम्झ, आफ्नाको शून्य मूल्य भो ।
कुटोस् नै बरु शत्रुले, दुःख लाग्दैन क्यै रती,
आफ्नाका शब्दले घाउ, पार्दछ पोल्छ भत्भती ।।
कतै माछा समात्न जाल थाप्दैछन् !
अँध्यारो काेठामा खिचडी पाक्दैछन् !
भुङ्ग्राेमा राप नभएरै त हाेला !
सबैजना बलेकै आगाे ताप्दैछन् !!
हिड्न खाेजे छिर्के हानी लडाउछन्
उड्न खाेजे जमिनमै सडाउछन्
ज्यूंदाेमा धर्धरी रुवाउने मान्छे,
रुँदै लासमाथि फूल चढाउछन् !!
उहिले शालिक ताेडिए
इतिहास अन्तै माेडिए,
अहिले स्वार्थ हावी भयाे
उनै सामु हात जाेडीए !
जब मुसाे र विरालाेकाे विच कार्यगत एकता हुन्छ,
न त कुंडेकाे दुध न भकारीकाे धान नै बाँकी रहन्छ !
त्यस्तो अप्ठ्यारो परिस्थिति जब-जब आउँछ घरभित्र!
बिरालाेकाे गु र मुसाकाे लिंड साेर्दै मान्छे हैरान हुन्छ !!
दुर्लभ भए जित, हावी हुँदैछन् हारहरु
भत्किंदैछन् बिस्तारै, जिन्दगीका आधारहरु
जिन्दगी भयाे सडकमा गाडिएको खम्बा झैं
सर्वत्र जेलिएका छन्, समस्याका तारहरू !
माैसम चिसिएपनि, देशकाे राजनीति तात्तिएकाे छ
बाैलाएकै त किन भनाैं र, नेतृत्वबर्ग मात्तिएकाे छ
जनता कठ्याङ्ग्रिएकाछन्, के मतलब उनीहरुलाई
पद र शक्ति गुम्ने डरले नेताका मन अात्तिएकाे छ !! चर्चा छ बलेको आगाे ताप्नेहरुकाे
सत्ता-सारथीका काेठा नाप्नेहरुकाे
साेझासाझा नै त मर्कामा पर्ने हुन् नि
संधै उन्नति छ च्याँखे थाप्नेहरुकाे !!
निर्वाचन, सत्तामा पुग्ने सय मिटरको रेश हाे
सत्तामा पुगेपछि, पैले आफू अनि मात्र देश हाे
सत्ता हात पार्न पनि, सांसद बन्नुपर्छ हजुर
त्यसका लागि याेग्यता नै, भरिएको ब्रिफकेश हाे ! पहिले, आफू अनि नाताकाे पालाे
त्यसपछि, नगद दाताको पालाे
यी सबैलाई पुगि बाँकी रहेमा
बल्ल, पार्टीका कार्यकर्ताकाे पालाे !! मेराे शाेकलाई उत्सव बनायाै,
समवेदना, फ्रेममा हालि ल्यायाै !
यसलाई कहाँ सजाउनु मैले ?
याे घटिया चलन किन चलायाै !! तिमीभन्दा महत्त्वपूर्ण, केही नै छैन अरु
आऊ बसेर, प्रेमका रमाइला कुरा गराैं
एकान्त ठाउँ छ, मादक छ याे माैसम पनि
दुरी राखि कति बस्ने, आऊ अलि वर सराै । कहिले पद त कहिले सम्पत्तिको अहंकार
कहिले स्वार्थका लागि शत्रु सामु धनुष्टंकार
अरुलाई झुकाएर रमाउने छन् धेरैजसो
आफू झुकेर रमाउन त हुनुपर्छ संस्कार । खेतबारी बाँझै छन् गाउँमा
सुकुम्बासी जाेडेर नाउँमा
काठमाडौं भित्र चारआना
हामी छाैं कुम्ल्याउने दाउमा !
निरन्तर प्रेम झरिरहने धारा हाै तिमी,
जीवन-आकाश उज्यालो पार्ने तारा हाै तिमी,
किन भन्छन् मान्छे, कमजाेर हुन्छन् नारीहरु ?
मेराे हर कठिन क्षणकाे सहारा हाै तिमी ।।
सुन्दरताकाे प्रतीक `ताज´ हाै तिमी
मन छुने प्रेमकाे `आवाज´ हाै तिमी
न लुकाउन न देखाउनै सकिने
मुटुभित्र गुम्सिएकाे `राज´ हाै तिमी ।
क्षमता हुँदाहुँदै पनि चाकडीका लागि अघि सर्छन्
थाेरै फाइदा र स्वार्थका लागि नेतृत्वका पाउ पर्छन्
नेताका अन्टसन्ट बाेलीमा हाैसिदै ताली पड्काउँछन्
अचम्म लाग्छ, जब उनीहरू `विवेक´का कुरा गर्छन् !
काेही आफूले जितेर खुशी छन्
काेही आफ्नाले जितेर खुशी छन्
काेही भने आफूले हारेपनि
अरुलाई हराएरै खुशी छन् !
प्राणका लागि रक्तदान ठूलाे
देशका लागि मतदान ठूलाे
भन्नेले जे सुकै किन नभनुन्
नेतामा लागि अनुदान ठूलाे !
म त केवल शब्द हुँ,
तिमी शब्दको अर्थ ।
के अस्तित्व छ र मेराे ?
तिमी बिना म व्यर्थ ।।
माया भरिएको मीठो जाम हाै तिमी
स्वर्गीय आनन्द दिने धाम हाै तिमी
मुटुमा लुकाएर हिड्छु याद तिम्रो
मेराे जिन्दगीको दाेश्राे नाम हाै तिमी ।
प्रहरीमा प्रकाशित २०८१ असार-साउन)
कि त पैसाको साथ चाहिन्छ,
कि आफन्तकाे हात चाहिन्छ,
नत्र त उन्नति तेस्तै नै हाे
उल्टै नराम्रो लात पाइन्छ ! 'गर्छु भन्न लाई´, शायद केही बाँकी छैन
बाेलिदिने मात्रै त हाे नि, सिन्काे भाँच्ने हैन
आकाशमा पनि, बस्ती बसाल्छन् कुराले त
यस्ता हावादारीका, अब कुनै काम छैन । जीवनका पीर-व्यथा एकआपसमा मिलेर साट्नुपर्छ
समस्यालाई सल्टाउन पनि हामी दुईले नै आँट्नुपर्छ
सहानुभूति दिनेहरू त क्षणिकका रमिते मात्र न हुन्
जिन्दगी त मैले तिमीसंग र तिमीले म संग काट्नुपर्छ ।
मुक्तक
नाङ्गिदैंछन् बिस्तारै मानिसका चरित्रहरु
अनाैठा देखिन थाले मित्रताका चित्रहरु
फाइदाका लागि कहिले यता कहिले उता
सूर्यमुखी फूलजस्तै लाग्न थाले मित्रहरू !
(प्रहरीमा प्रकाशित
मुक्तक
न त छ रुप, न कुनै रङ्ग
न केही सिप, न कुनै ढङ्ग
जान्दछन् खाली, चाकडी मात्रै
मपाई बन्दै, आफैं छन् दङ्ग !
मुक्तक - भैंसीलाई रुखमाथि चढाउने रे
खाेलालाई आकाशमा उडाउने रे
खाेई, कस्काे पाे पत्याउनु कुराहरु
घाेषणापत्रमा त यस्तै मात्र छ रे ! मुक्तक-
जाे-जाे ठानिन्थे राजनीतिमा आशा लागेका पात्र भनि,
एकै ड्याङ्का मुला देखिए फरक लागेनन् काेही पनि
आफ्ना कुरा मात्रै राखेर मत माग्न नमिल्ने नै हाे र !
`गाली शास्त्र´मा डिग्री नगरेका भेटिएनन् याैटै पनि !!
#आँसु
दुखले अठ्याउँदा पनि झर्छ
खुशीले लठ्याउँदा पनि झर्छ
सुख-दुख दुबैमा साथ दिने
आँसुको यै स्वभाव मनपर्छ ।
#मुक्तक
सबैमा हुन्छ रमाइलो गर्ने, खुशी हुने चाहना
चाडपर्व, रीतिरिवाजहरु त्यसैका हुन् बहाना
झुपडी देखि महलसम्म पूरा हुन् ईच्छा सबैका
मंगलमय हाेस् बडादशैं सबैमा शुभकामना ।
मुक्तक काेही आतुर छन् सत्ताकाे लागि
काेही `व्याकुल´ छन् भत्ताकाे लागि
सर्वसाधारण शाेकाकूल छन्
मात्रै सिटामाेल पत्ताका लागि ! मुक्तक
जनताको पक्षमा काेही बाेल्दैनन् प्रष्ट
कुनै ठाउँ चाेखाे छैन सर्वत्र छन् भ्रष्ट
जन-पीडा बुझ्नुपर्ने त सर्कारले हाे
तर उ त आफैं बनेकाे छ धृतराष्ट्र ।
Comments
Post a Comment