लघुकथा: समुद्रीफल
लघुकथा: समुद्रीफल
✍️ मुरारीराज मिश्र
न्वारानकाे परम्परागत पूजादि कार्य सकिएकाे थियोे । खाना पाक्ने क्रममा रहेकाले पुरेतबाजे सहित परिवारका सदस्य तथा निम्तालुहरु चिया पिउँदै गफ गर्दै थिए । गफकाे बिषयवस्तु राजनीति देखि धर्मसम्म, देश-बिदेश, साकाहार-मांसाहार लगायत सबै थियोे । पुरेतबाजेले धर्म, दर्शन र साकाहारकाे पक्षमा दह्रो तर्क राख्नुभयाे । उहाँले कसैले पनि मासांहार गर्न नहुने, अझ ब्राह्मणले त मासु छुनै नहुनेसम्म भन्न भ्याउनुभयाे । सबैजना पुरेतबाजेकाे कुरा चाख मानेर सुन्दै थिए ।
यसै बेला भान्साबाट खाना तैयार भएकोले खान आउने जनाउ आयाे । पुरेतबाजेलाई अघि लगाएर गफ गर्न बसेका मानिसहरु भान्सामा पसे । पुरेतबाजे अरुले नछाेईने गरी अरुभन्दा छुट्टै ठाउँमा बस्नुभयाे । खाना खाने र थप्ने क्रम चल्दै थियोे । घरकी आमैले माछाकाे परिकार बाँड्दै गर्दा पुरेतबाजेले `दुई टुक्रा माछा यता हाल्नुस् त आमै´ भनेर आफ्नो थाल थाप्नुभयाे । त्याे देखेर छाेराेले आश्चर्य मान्दै भन्याे `गुरु, तपाईंले त मासु खान्न भन्नुभएकाे हैन र ?´
`हाे बाबु म खसीको मासु खान्न, तर माछा त`समुद्रीफल´ हाे, यसलाई `पानी तरुल´ पनि भनिन्छ ! त्यसैले माछा चाहिँ खान्छु´ पुरेतबाजेले मुस्कुराउँदै भने ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)
Comments
Post a Comment