लघुकथा : हड्डी
लघुकथा : हड्डी
✍️ मुरारीराज मिश्र
किशाेरजी खानाकाे एकदमै शाेखिन । माछामासुका परिकार उनको प्रीय थियो । घरमा प्राय: खसी, कुखुरा र माछा पाक्ने भएतापनि श्रीमतीजीले ल्याउन नदिने भएकाले घरमा ठूलो खसी (राँगा) काे मासु भने पाक्दैनथ्याे ।
विद्यालयमा जाडाेकाे बिदा भएको थियोे । छाेराछाेरीले मामाघर जाने इच्छा गरेकाले छाेराछाेरी सहित केही दिनकाे लागि श्रीमतीजी माइती गएकाेले किशोरजी घरमा एक्लै थिए । उनकाे मनमा साथीहरुसंग बसेर घरमा खानपिन गर्ने मुड चल्यो । आज, मज्जाले ठूलो खसीको मासु पकाउनु पर्यो भनेर उनी बजारतर्फ लागे । नजिकैको पसलमा मासु किन्दा पछि श्रीमतीले थाहा पाउने डरले उनी घरभन्दा अलि परकाे पसलमा पुगेर एक किलाे मासु मागे । यत्तिकैमा ''ओहाे, मलाई त थाहै थिएन, किशाेरजी पनि ठूलाे खसीको मासु खानुहुँदाे रैछ !" भन्दै एक परिचित टुप्लुक्क पसल अगाडि आइपुगे ! श्रीमतीले थाहा पाउने डरले किशाेरजीले "हैन, घरमा पालेको कुकुरको लागि हाे" भनेर फ्याट्ट उत्तर फर्काए ।
त्याे संवाद सुनेर मासु पसलेले "ए, कुकुरको लागि हाे भने त यी एकझाेला हड्डीहरुपनि छन्, संधै लैजाने मान्छे आएन आज, भैगाे तपाईं नै लैजानुस् । कुकुरलाई हड्डी एकदमै मनपर्छ" भनेर झाेलामा हालिदियाे । धर्मसंकटमा परेका किशाेरजीले केही पनि नबाेली पैसा तिरेर झाेला समाते ।
~*~
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment