संक्षिप्त महाभारत कथाकृतिका बारेमा ......
✍️ मुरारीराज मिश्र
युवराज न्याैपाने सरसंगकाे मेराे चिनापर्ची करिव तीसबर्ष पुरानाे हाे । उहाँका विद्वताबाट म निकै प्रभावित छु । पेशाले शिक्षक उहाँ एक सुपरिचित कवि तथा साहित्यकार पनि हुनुहुन्छ । निबन्धकाे एउटा र पाँचवटा काव्यकृति प्रकाशित गरिसक्नु भएका उहाँले गत बर्ष २०७८ मा "भक्ति, कर्म र ज्ञानकाे त्रिवेणी: श्रीमद् भगवद् गीता" नामक (पद्य भावानुवाद) पुस्तक प्रकाशन गर्नुभएकाे थियोे । यसपटक उहाँको संक्षिप्त महाभारत नामक पुस्तक प्रकाशन हुँदैछ ।
निश्चय नै, गीता र महाभारत जस्ताे ज्ञानरुपी सागरमा पाैडिदै तिनका सारतत्व निकालेर सबै माझ पस्कनु अत्यन्तै कठिन कार्य हाे । यस्तो दुरुह कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएकोमा उहाँ हामी सबैका बधाईका पात्र हुनुभएको छ । उहाँको प्रेरणाबाट मैले प्रकाशाेन्मुख संक्षिप्त महाभारतका लागि केही शव्द काेर्ने जमर्को गरेकाे छु । लेखनी आरम्भ गर्नु अघि श्रीकृष्णकाे वन्दना गर्दै अघि बढ्ने अनुमति चाहन्छु ।
''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे,
तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।''
नेपाली भावानुवाद
रुप छ सत्य-आनन्द, पालनहार हाै विश्वका ।
उत्पत्ति, स्थिति र संहार, गर्दछाै तिमी सृष्टिका ।।
भक्तका तिनवटै ताप, हर्ने, तिम्रै पर्याैं भर।
सच्चिदानन्द श्रीकृष्ण नमन् हाम्रो ग्रहण गर ।।
(भावानुवाद: मुरामि) `महाभारत´ मानवीय जीवनलाई सत्मार्गतर्फ अग्रसर गराउन प्रेरित गर्ने हिन्दुहरुकाे मुख्य पाैराणिक ऐतिहासिक तथा दार्शनिक धर्मग्रन्थ हाे । यसमा एकलाख दशहजारभन्दा बढी पद्य श्लोकहरु छन् । यसकाे संरचनात्मक स्वरूप अठार खण्डमा विभाजित छ, जसलाई पर्वको संज्ञा दिइएको छ । अठार पर्वहरुमा - १. आदि पर्व २. सभा पर्व ३. वन पर्व ४. विराट् पर्व ५. उद्योग पर्व ६. भीष्म पर्व ७. द्रोण पर्व ८. कर्ण पर्व ९. शल्य पर्व १०. सौप्तिक पर्व ११. स्त्री पर्व १२. शान्ति पर्व १३. अनुशासन पर्व १४. आश्वमेधिक पर्व १५. आश्रमवासिक पर्व १६. मौसल पर्व १७. महाप्रास्थानिक पर्व १८. स्वर्गारोहण पर्व हुन । यीमध्ये सबैभन्दा ठूलो ४७००० श्लोक भएको शान्ति पर्व हो भने सबैभन्दा सानो ३१२२ श्लोककाे महाप्रस्थानिक पर्व हो । यसका प्रत्येक पर्वहरुभित्र पनि सानाठूला गरि एकसयवटा उपपर्वहरु रहेका छन् ।
लिपि कलाको विकास नभएको तत्कालीन समयमा वैदिक ग्रन्थहरूलाई माैखिकरुपमा पुस्तान्तरण गर्दै, कण्ठ पार्दै सुरक्षित राखिने गरिन्थ्यो । तर आफूले रचना गरेकाे विशाल महाकाव्य महाभारतलाई भावी पुस्ताका लागि पनि सुरक्षित राख्ने अठार महापुराण रचयिता एवम् महाभारतका एक प्रमुखपात्र समेत रहेका महर्षि वेदव्यासकाे चाहना बमोजिम स्वयं भगवान गणेशद्वारा यसलाई लिपिवद्ध गरिएको मानिन्छ ।
महाभारतका अठार पर्वहरुमा कौरव पाण्डवका बीचको आपसी वैमनस्यता, छलकपट, प्रेम-सद्भाव, घृणा, तिरस्कार, युद्धलगायतका विविध आख्यान, उपाख्यानहरू वर्णित छन् । महाभारतका प्रायःजसो प्रमुख पात्रहरु पुर्वजन्मकाे कर्मकाे फल भाेग्नका लागि दैविक अंशबाट जन्मिएका देखिन्छन् । यसकाे कथा मुख्यतः पाण्डव र काैरवहरुकाे आपसी सत्ता संघर्षकाे वरिपरि घुमेकाे छ ।
अठार पर्व रहेकाे महाभारतकाे महायुद्ध अठार दिन चलेको थियो । यसमा काैरवतर्फका एघार र पाण्डवतर्फका सात समेत कूल अठार अक्षाैहिणी सेनाकाे (अर्थात् हात्ती ३९३६६० वटा, घाेडा ११८०९८० वटा र मानिस १९६८३०० जना गरि कूल ३५४२९४० प्राणीहरुकाे) मृत्यु भएकाे थियोे । याे युद्ध समाप्त हुँदा, काैरवपक्षका कृपाचार्य, कृतवर्मा र अश्वत्थामा (३ जना), पाण्डवपक्षका श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र सात्यकि (७ जना) गरि जम्मा १० जना मात्रै बाँचेका थिए ! अर्थात् महाभारतले महाविनाश निम्त्याएको थियोे ।
मूलरूपमा महाभारतले मानवलाई, भौतिक जीवनको क्षणिकता, नश्वरता, कर्तव्यपालनको महत्त्व, आध्यात्मिकताको श्रेष्ठता र कर्मको महत्त्व सिकाएकाे छ । अधर्मकाे बाटो हिँड्दाकाे परिणाम देखाएको छ र मानवीय जीवनलाई सत्मार्गतर्फ कसरी अग्रसर गराउनु पर्छ भन्ने मार्गदर्शन समेत गरेकाे छ । समग्रमा महाभारतको मूल सार पनि यही नै हाे ।
अन्त्यमा,
त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितम्...
तिम्रै हाे सब गाेविन्द, तिमीमै छ समर्पित ।
प्रेमले सब स्वीकारी, खुसी हाेऊ् परमेश्वर ।।
निम्ता गर्न म जान्दिन, जान्दछु न बिदाई नै,
पूजा गर्न म जान्दिन, क्षमा देऊ् परमेश्वर ।।
बिधि, मन्त्र म जान्दिन, भक्ति जान्दिन ईश्वर ।
जपादि पनि जान्दिन, क्षमा देऊ् परमेश्वर ।।
कुनै अक्षर, पद, मात्रा, बाेलें हाेला गलत पनि,
ती सबै नै गरि माफ, खुशी हाेऊ् परमेश्वर ।।
शरीर, बाेली अनि इन्द्रियादिले,
साेचाई, बुद्धि अनि स्व-स्वभावले ।
गरें गराएं जति ती सुकर्म,
गर्छु समर्पण बनिदेऊ प्रसन्न ।।
(भावानुवाद्: मुरामि)
******
उमामहेश्वर मार्ग, का.म.पा.–७, कुमारीगाल
email: mrmishra@live.com
मिति : २०७९/०९/२७ बुधबार
Comments
Post a Comment