लघुकथा : बरखी
✍️ मुरारीराज मिश्र,
बुबाको बार्षिकी सकेको छ महिना नपुग्दै जयरामले आफ्नी आमालाई पनि गुमायो । परिवारकाे कान्छाे छाेराे र आमाबाबुको प्याराे भएकाले पनि हाेला उसले निकै निष्ठापूर्वक बुबाको बरखी बारेको थियोे । यसपटककाे आमाको बरखीमा पनि "सेताे लुगाकाे" मान राखेर आफ्नो दैनिकी चलाएकाे थियो । घरबाहिरकाे खानपिन पुरै बर्जित गरेको थियोे उसले ।
यसको ठिक बिपरित उसको दाजुले भने, "समाजलाई देखाउनका लागि मात्रै सेताे लुगा किन लगाउनु, मलाई फिल्डमा गइरहनु पर्छ" भनेर कपडा र खानपिन फुकाएका थिए । बरखीकाे समयमा गर्न नहुने भनी मानिदै आएका कुनै पनि कुराकाे पालना उनले गरेका थिएनन् ।
यसपटक आमाको बरखीमा जयराम नराम्ररी थलियाे । अस्पताल भर्ना भएर दसौं दिनकाे उपचार पछि घर फर्कंदा उ शारीरिक र आर्थिक दुबै रुपले निकै कमजोर भएको थियोे । उसको राेगकाे बारेमा घरमा भेट्न आउने मानिसहरुका अनेकौं अड्कलबाजी हुन्थे । एकदिन बिरामी भेटने क्रममा मसंगै गएका एक छिमेकीले कुरै कुरामा "बरखीमा गर्न नहुने केही काम गर्नु भएर पाे बाबु यस्तो बिरामी पर्नुभएकाे हाे कि ?" भन्ने आशंका जयरामकी श्रीमती सामु राखे ।
"खै हजुर ! उतातिर, सासुआमाकाे पितृकार्य गर्नेे अधिकार पाएका जेठा छाेरा (जेठाजु) लुगा र खानपिन समेत फुकाएर संधै मस्त छन् । यतातिर, सबै कुरा राम्ररी बार्नेकाे भने यस्तो बेहाल छ ! संस्कार र परम्परा जाेगाउनुपर्छ तर शरीर नै कमजाेर पारेर हैन, भनेर भन्दा कानमा बतास लगाएनन् मेरा बुढाले ! के गर्नु, पितृले पनि नबार्नेलाई सजायँ र बार्नेलाई पुरस्कार नदिने रैछन् त !!" जयरामकी श्रीमतीले तितो पाेखिन् ।
म भने उनकाे कुराभित्र रुमल्लिएँ ।
*****
Comments
Post a Comment