लघुकथा : एक्ली छाेरी
✍️ मुरारीराज मिश्र,
विजयाकाे दाजुको छाेराकाे विहेकाे लागि केटीको प्रस्ताव आएको थियोे । त्यस प्रस्ताव माथि छलफल र छिनोफानो गर्न आज उनकाे माइतीमा पारिवारिक जमघट डाकिएको थियो ।
कुराकानीकाे क्रममा लमी बाजेबाट केटीकाे घरपरिवार, पढाइ, उमेर, रुपरंग, जागिर लगायतका बारेमा सबै कुरा सुनिसकेपछि केटा लगायत केटापक्षका प्रायःजसो सदस्यहरु विवाहका लागि सहमत भए । तर विजयाले अरुभन्दा नितान्त फरक धारणा राखिन् । उनले दाजुलाई भनिन् - "केटी बाबुआमाको एक्लो सन्तान रहिछन् । उनका बाबुआमाकाे शेषपछि माइती, मावली र ससुराली जाने बाटो नै रहन्न । त्यसैले याे प्रस्ताव त्यति उचित लागेन मलाई त !"
उनकाे यस भनाइले बातावरण एकाएक गम्भीर बन्याे । एकछिन सबै चुपचाप भए ! के भन्ने के, नभन्ने कसैले मेसै पाएनन् । त्याे माैनतालाई ताेड्दै विजयाकी छाेरी सुलक्षणाले विजयातर्फ हेर्दै भनिन् - "आमा, कम्तीमा तपाईंले त यस्तो साेच राख्न नपर्ने हाे नि ! मेराे र बहिनीकाे घरपरिवारले पनि त्याे बेला यस्तै साेच राखेको भए हाम्रो विवाह कसरी हुन्थ्यो ! हाम्रो पनि त सहाेदर दाजुभाइ छैनन् नि !!"
अब चुप लाग्ने पालाे विजयाकाे थियाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७ )
Comments
Post a Comment