लघुकथा: कन्जुस छिमेकी

   ✍️ मुरारीराज मिश्र

रामेश्वर गाँउकै प्रतिष्ठित र सम्पन्न ब्यक्ति । वरिपरि समाजमा उनको बाेलि बिक्थ्याे । घरमा नाेकरचाकर, गाडी सबै भएका र हुनेखाने ब्यक्ति भएकाले हाेला उनकाे व्यवहारमा केही अहम्‌ता देखिन्थ्यो । उनी अरुलाई हेपेर बाेल्थे ।

छिमेकी दिवाकर, रामेश्वरलाई मन नपर्ने पात्रमध्येका एक थिए । दिवाकर आफ्नो घरकाे धारा, बत्ती, ढल लगायत स-साना मर्मतसंभार र घरायसी काम आफैं गर्थे । उनले काम गरेको देख्दा रामेश्वर भन्थे - "कति कन्जुस्याइँ गरेकाे हँ ? यसरी सबै काम तिमीले नै गरेपछि, बिचरा कामदारले के खान्छन् ! पैसा बचाएर के गर्ने, मरेपछि संगै लान मिल्दैन क्यारे !"  उनी दिवाकरकी तडकभडक मन नपराउने पत्नीलाई पनि पार्टी/जमघटमा भेट्दा "गहना किन नलगाएकाे, दिवाकरले किनिदिएनन् कि क्या हाे ?" भनेर खिसी गर्न पछि पर्दैनथे । तर, रामेश्वरले जतिसुकै हाेच्याएपनि जवाफ फर्काउनुकाे सट्टा दिवाकर दम्पती पटकै पिच्छे फिस्स हाँसेर टारिदिन्थे ।

एकदिनकाे कुरा हाे, देश दशैंकाे माहोलमा थियाे । नवमीकाे राति रामेश्वरलाई अकस्मात् हृदयाघात भयाे । परिवारले अस्पताल लगे । आपतकालीन अपरेसन गर्नुपर्ने देखियाे । अस्पतालले दशलाख धराैटी जम्मा गरेपछि मात्रै अपरेसन सुरु गर्ने बतायाे । दशैंकाे बिदा, बैंक लगायत सबैतिर बन्द, यत्रो रकम तुरुन्तै कहाँबाट ब्यवस्था गर्ने रामेश्वरकाे परिवार तनावमा पर्‍यो । रकम जाेरजामका लागि हारगुहार चल्याे । आफ्ना ठानिएकाहरु कुनै न कुनै बहाना देखाएर रकम दिनबाट पन्छिए ।

भाग्यवश कसैगरि रकमकाे जाेरजाम भयाे । अपरेसन सफल भयाे । रामेश्वर तङ्ग्रिदै गए, उनलाई घर ल्याईयाे । घर ल्याएपछि दिवाकर पनि आफ्नी श्रीमती सहित रामेश्वरलाई भेट्न भए । हालचाल साेधे । "मानिसको शरीर हाे, कहिलेकाहीँ राेग लागिहाल्छ नि ! चिन्ता नलिनुस् सबै ठीक हुन्छ ।" भन्ने सान्त्वना दिएर फर्के ।

रामेश्वरकाे मुखाकृतिबाट उनलाई दिवाकरकाे आगमन मन नपरेको प्रष्ट देखिन्थ्यो । उनले नजिकै रहेकाे छाेरालाई "त्याे कन्जुस दिवाकर मलाई अर्ती दिन पाे आयाे त ! म बाँचेर आएकोमा त्यसलाई पीडा भएजस्तो छ !" भनेर तीतो पाेखे ।

बाबुको यस्तो कुरा सुनेर उनको छाेराले "भन्यो बुबा, यत्रो उमेर भयाे तर अझैसम्म पनि तपाईंले मान्छे चिन्न सक्नु भएको रहेनछ ! आपतकाे बेला सबै आफन्त तर्किए । तर, मेराे कुरा सुन्ने बित्तिकै आफ्नी छाेरीकाे विहेकाे लागि जम्मा गरेकाे रकम लगेर दिवाकर अंकलले त्यो दिन अस्पतालमा डिपाेजिट नगरि दिनुभएको भए, सायद आज हामी टुहुरा हुन्थ्याैं हाेला !!"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

दायित्वमा प्रकाशित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...