लघुकथा: सन्तानकाे माया
✍️ मुरारीराज मिश्र
एक विदेशी कम्पनीसंग राम्रो सेवा सुबिधा सहित तीनबर्षे अवधिका लागि काम गर्ने सम्झाैता सम्पन्न भएकाले दीपक खुशी देखिन्थ्यो । भीसा लगायतका काम पनि कम्पनीकै पहलमा समयमै सकिएकाे थियोे । जानुपर्ने समय छाेटाे भएकोले उ आफूले लाने सरसामानकाे जाेरजाममा व्यस्त थियोे ।
छाेरी विदेशमै रहेको र साथमा रहेको छाेराे पनि विदेश गएपछि एक्लो बस्नुपर्ने खिन्नता भएतापनि छाेराकाे सुखद भविष्यलाई सम्झेर उसका बाबुआमाले पनि मन बुझाएका थिए ।
यसैक्रममा एकदिन घरमा छाेरा नभएकाे बेला पारेर उस्की आमाले पतिसंग भनिन् - "घरमा हामी दुईजना मात्रै हुने भयाैं । साथमा छाेराछाेरी नहुँदा साह्रै शून्य हुन्छ अब । यस्तै सम्झेर खिन्न हुन्छु म त !"
"यसरी दिक्क मान्नु हुन्न । हेर, उसकाे प्रगति गर्ने बेला हाे याे । हामीलाई खिन्न देखेर उसलाई पनि नराम्रो लाग्छ नि ! यही सम्झेर मैले कुनै पीर गरेकै छैन, तिमीले देखेकै छाै नि !" पतिले सम्झाउँदै भन्याे ।
"त्यै त, तपाईंलाई दुख लागेकै रैनछ नि ! हिजाे छाेराकाे काेठामा पसेर, आँखाभरी आँसु पार्दै भीसा लागेको पासपोर्ट हेरेर टाेलाउनु भएकाे चाँही मैले देखेकाे छैन है बुढा !" पत्नीले रुञ्चे हाँसाे सहित जवाफ फर्काईन् ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment