दर्शनीय धार्मिक स्थल: हलेसी महादेव

✍️ मुरारीराज मिश्र


विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय स्थानीय सामाजिक संस्था उमामहेश्वर महिला समूहले, खाेटाङस्थित हलेसी महादेवकाे मन्दिरमा २०७९ बैशाख २६ गतेका दिन आफ्ना सदस्य परिवारहरुबाट सामुहिकरुपमा पूजाआजा, हवन र सवालाख दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको थियोे ।

कार्यक्रममा सहभागी हुन ईच्छुकहरुकाे नाम संकलन हुँदै रहेछ । समूहकाे सचिवकाे नाताले घरबाट श्रीमतीजीकाे त जाने तय भईसकेकाे थियोे । यसअघि एकपटक पुगिसकेको स्थान भएतापनि मेराे मनमा पुनः जाने लाेभ पलाएकाेले नाम लेखाएँ ।


यातायात, खाना र बसाइकाे व्यवस्थापन गर्ने जिम्मा हरिशरण तीर्थयात्रा समितिका प्राेपाइटर माेहनप्रसाद अधिकारीदाइले लिनु भएकाे रहेछ ।  सबै मिलेर पूजा, हवन र सवालाख दीप बाल्न आवश्यक सामाग्री जुटाएर, चालक र ब्यवस्थापन टीमका ६ जना, पुराेहित दुईजना सहित ५२ जना यात्रु गरि जम्मा ५८ जनालाई लिएर २०७९ बैशाख २५ गते आइतबार बिहान २ वटा बस कुमारीगालबाट हलेसीतर्फ प्रस्थान गर्‍याे ।

बिहानीकाे समय बाताबरण हल्का चिसाे थियो । बाटोमा दुईदिने यात्राको लागि आवश्यक पर्ने खानेपानी किन्ने र चियापान गर्ने काम भयाे । बसमा सुमधुर भजन बजिरहेको थियोे । प्रकृतिको सुन्दरता नियाल्दै हामी अघि बढ्यौं । बाटो कटेकाे पत्तै भएन । करिब १० बजे, काठमाडौँबाट १८ कोश पूर्वमा पर्ने सिन्धुलीको दुम्जामा अवस्थित धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आदिलिङ्ग कुशेश्वर महादेवस्थानमा पुगेर हामी राेकियाैं । माेहनदाइले आफ्ना सहयाेगीहरुलाई खाना पकाउन लगाएर हामीलाई दर्शन गरेर आउँदा खाना तैयार हुने जानकारी गराउनु भयाे । हामी मन्दिरतर्फ लाग्यौं । 


कुशेश्वर महादेव हिन्दुहरुकाे प्रसिद्ध प्राचीन धार्मिक तीर्थस्थल हाे । महादेवकाे उत्पत्तिबारे विभिन्न किम्बदन्तीहरू पाईन्छन् । परापूर्वकालमा काठमाडौँ जाने-आउने पूर्वका अधिकांश बटुवाहरु दुम्जाहुँदै हिँड्ने गर्थे । बास बस्ने क्रममा एउटा गाडिएको ढुङ्गो भएको ठाउँमा दुईवटा अरु ढुंगा राखेर चम्का बनाई भात पकाउँदा, गाडिएको ढुङ्गो हल्लिएर भात पोखिएछ । बटुवाले रिसाएर पन्युले ढुंगामा हिर्काउँदा ढुंगा चोइटिएर रगत बगेछ । त्यसपछि खनेर हेर्दा शिवलिङ्ग देखेर महादेव रहेछन् भनी पूजा थालेको एउटा किम्बदन्ती पनि छ । शिवलिङ्गको माथिल्लो भाग केही काटिएको जस्तो देखिने कुरालाई पुष्टि गर्न याे किंवदन्ती सहयोगी बनेको छ । पहिले घना कुशकाे घारी रहेकाे यस क्षेत्रमा फेला परेको शिवलिङ्ग भएकाले कुशेश्वर नाम रहेको पनि स्थानीयकाे भनाई छ ।

हिमवत्खण्डका अनुसार संसारभर ६४ वटा प्रसिद्ध शिवलिङ्गहरु छन् । त्यसमध्ये कुशेश्वर महादेव, ब्रम्हाले श्रृष्टि हेतु तपस्या गर्दा उत्पन्न भएको आदिलिङ्ग भएकाले ६४ लिङ्गहरुमध्ये सबैभन्दा पहिला यहाँकाे दर्शन गर्नुपर्ने मान्यता  । कुशेश्वरनाथको पूजा, दर्शन र हवन तथा पितृहरूको श्राद्ध गरेमा २१ पुस्तादेखिको सबै पापबाट मुक्त भईन्छ भन्ने पनि हिमवत्‌खण्डमा उल्लेख छ । यस क्षेत्रकाे सुनकोसी किनारमा ब्रम्हर्षि विश्वामित्रले तपस्या गरेको गुफा पनि रहेको छ । यहाँ शिवरात्री, वालाचतुर्दशी, तीज, ठूलो एकादशी, रामनवमी, कृष्ण जन्माष्टमी, पाैषे ओैंशी लगायतका पर्वहरुमा मेला लाग्छ ।

करिब एकघण्टाकाे पूजाआजा, दर्शन र अवलाेकनपछि हामी फर्कियाैं । खाना तैयार थियाे । सबैले खाना खायौं । खानापछि एकछिन आराम गरेर हामी आफ्नो गन्तव्य हलेसीतर्फ जान अघि बढ्यौं । 


काठमाडौंबाट हलेसी पुग्न धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, घुर्मी हुँदै करीब २ सय ३० किलोमिटरको यात्रा तय गर्नुपर्छ । हलेसीतर्फ जाने प्रायःजसो यात्रुहरु सुनकोसी किनारमा अवस्थित (सिन्धुली, उदयपुर, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको साझा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएकाे) घुर्मी बजारमा नास्ता, खाना, चियाखाजा गरेर हलेसीतर्फ लाग्छन् । हाम्राे टाेलीबाट पनि धुर्मीमा  चियाखाजा गर्ने काम भयाे ।

हलेसी पुग्न केही समय बाँकी हुँदा अकस्मात् मुसलधारे पानी दर्कन थाल्याे । ठाउँ ठाउँमा बाटाे साँघुरो र केही खराब थियोे । पानीका कारण चिप्लने डर पैदा भयाे । अन्ततः साँझपर्नु अघि नै हलेसी पुग्यौं । यहाँ आईपुग्दा पानी निकै कम भयाे । हामीले बसाइकाे लागि ताेकिएकाे हाेटेलमा सामान बिसायाैं । हलेसीमा पुगेर दर्शन र आरतीमा सहभागी भयाैं । भाेलि बिहानकाे हवन र दीप प्रज्वलनकाे लागि मन्दिर परिसरमा स्थान निश्चित गरि फर्केर खाना खायौं । भाेलि सबेरै मन्दिर पुग्नुपर्ने भएकाले साे काे लागि तैयारी गरि खाएर राति १० बजेतिर सुत्याैं । 

भाेलिपल्ट बिहान, राम्ररी निन्द्रा नै नपुग्दै माेवाइलकाे अर्लाम बज्याे । ३ बजे नै उठेर स्नानादि नित्यकर्म सकेर बिष्णु बस्नेत, बालकृष्ण पाैडेल गुरु र याे पंक्तिकार लगायतका ब्यक्तिहरु हलेसी मन्दिर पुगेर त्यहाँको सत्तलमा हवनकाे तैयारीमा जुट्याैं । राति यहाँ प्रायः बिजुली बत्ती नहुने रहेछ । अँध्यारोमा हवन व्यवस्थापनमा अलिक कठिनाइ भयाे । उज्यालो भएपछि सबैजना आउनुभयो । सवालाख बत्ती प्रज्वलन र हवन सम्पन्न गरि मन्दिर दर्शन र अवलाेकन गरियाे । फर्केर खानपिन भयाे । आजै फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेकाेले ढिला नगरि हामी काठमाडौंतर्फ प्रस्थान गर्‍यौं ।

पूर्वको पशुपतिनाथ, दोस्रो लुम्बिनी, आदिम भूमि लगायतका नामबाट चिनिने हलेसी महादेव धाम खाेटाङ जिल्लामा अवस्थित नेपालको एक प्रसिद्ध हिन्दु एवं बौद्ध तीर्थस्थल हो । समुद्री सतहदेखि झण्डै ४ हजार ८ सय फिट उचाइमा बाक्लो जंगलले ढाकिएको एउटा थुम्कोमा रहेको याे स्थान, विभिन्न आकृतिका चट्टानहरुमा प्राकृतिकरुपमा निर्मित अनाैठा पत्थर संरचना र अचम्मलाग्दा ठूलाठूला गुफाहरुका कारण देशकै चर्चित र दर्शनीय धार्मिक स्थलहरुमध्ये पर्दछ ।

जमिनको सतहबाट ८०/८५ फिट तल गुफाभित्रको समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । दक्षिणतर्फको भित्तामा पार्वतीस्थान र उत्तरी कुनामा धर्मद्वार, पापद्वार रहेकाे छ । त्यस द्वारबाट धर्मात्माहरू मात्रै छिर्न सक्ने किंम्वदन्ती छ । यहाँ जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्त्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत रहेका छन् । गुफाको सतहसम्म जानको लागि मानव निर्मित खुड्किलाहरू बनाइएका छन् । गुफाका छत र भित्तामा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् । ती प्राकृतिक आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ ।

महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर अर्को एउटा ठूलो गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र-बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय फिटजति भित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । त्यहाँबाट माथितिर हेर्दा चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ । धार्मिक मान्यता अनुसार यी गुफाहरू महादेवले भस्मासुर राक्षसबाट बच्नको लागि बनाएका हुन् भनिन्छ ।   


किम्वदन्ति अनुसार, एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले 'जसको थाप्लोमा म हात राख्छु त्यो खरानी होस' भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्तु भनी वरदान दिएछन् । तर भस्मासुरलाई यो वरदान पूरा हुनेमा शंका लागेछ र जाँच्नका लागि महादेवकै थाप्लोमा हात राख्न खोजेछन् । त्याे देखेर महादेव डरले भागेर हलेसीको चट्टानै फोडी जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई अल्मल्याउन्जेल  महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी यहाँ दुइवटा गुफा बनेको जनविश्वास छ ।

भष्मासुरबाट जाेगिन यस गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्केका हुनाले याे गुफालाई बसाहा गुफा पनि भन्ने गरिन्छ । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्ता चुच्चा आकृतिका पत्थरहरू छन् । त्यसबाट चुनमिश्रित चौलानी रंगको पानी चुहिने गर्दछ । भक्तजनहरू त्यस पानीलाई दूध मानेर 'दुध देउमाई’ भन्दै हातमा थाप्ने गर्छन् । यस गुफाको भित्तामा एउटा अचम्मको प्वाल रहेको छ, जसमा मुख जाेडेर फुक्दा शंख बजेकाे आवाज आउँछ ।

नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ । श्रीस्वस्थानी व्रत कथामा सतिदेवीकाे दाहिने कुहुनो पतन भई त्यहाँ हलेश्वर महादेव उत्पति भएकाे उल्लेख छ । बताइन्छ । राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूलाे मेला लाग्ने गरेको छ । साे मेलामा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

अन्त्यमा,
हलेसी क्षेत्रमा पानीको अभाव छ । हाेटेल/लजहरुकाे सिमित संख्यामा छन् । त्यसैले हाेला, व्यवसायमा केही सिन्डिकेट चलेझैं लाग्छ ! यसै कारणले यहाँको हाेटेल बसाइ अन्यत्रकाे तुलनामा अलिक महंगो देखिन्छ । सामान्यतया प्रायः बर्षभरी नै पुग्न सकिने हलेसी क्षेत्रमा, पर्यटक मैत्री बाताबरण बनाएर आवश्यक सरसुविधा थपिने हाे भने त्यसबाट पर्यटन प्रवर्द्धन हुन गई यसक्षेत्रकाे विकासका निकै ठूलो टेवा पुग्न जाने देखिन्छ ।
अस्तु ।


(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

यात्राका सहभागीहरु;

१. बिष्णु बस्नेत २. अनिता बस्नेत

३. रमिला ४. उत्तम  ५. सानु

६. रमिला मार्फत  ७. उत्तम मार्फत 

८. सरस्वती रिसाल ९. भवानी अधिकारी

१०. सरिता अधिकारी ११. विमला बस्नेत

१२. नारायणराज मिश्र १३. शर्मिला मिश्र

१४. यमनराज मिश्र १५. प्रमिला न्यौपाने

१६. कल्पना मिश्र १७. मुरारीराज मिश्र

१८. सती सिलवाल  १९. पार्वती उपाध्याय 

२०. राधा खरेल २१. इन्दिरा खरेल

२२. मनिषा खरेल २३. रमा खरेल

२४. कल्पना कंडेल  २५. गोमा आचार्य

२६. अमृता मिश्र २७. कल्पना अर्याल

२८. मीना अर्याल २९. अनु अधिकारी अर्याल

३०. अजन्ता अधिकारी  ३१. पूजा रेग्मी 

३२. अनिता खड्का  ३३. रमिला घिमिरे 

३४. मीठु पौडेल ३५. अम्बिका पौडेल

३६. सुशीला कोइराला ३७. सुभद्रा पौडेल

३८. लक्ष्मी कट्टेल ३९. सरस्वती कट्टेल

४०. मीना कट्टेल ४१. अञ्जन कट्टेल

४२. बिना पण्डित ४३. केमुना  ४४. कमला गौतम

४५. शिवानी घिमिरे  ४६. सुनिता पाण्डे

४७. सानुदेवी सेंढाई  ४८. जानकी

४९. वाशु कट्टेल  ५०. कल्पना कट्टेल

५१. बालकृष्ण पौडेल  ५२. गुरु

यात्रा व्यवस्थापक: हरिशरण तीर्थयात्रा समितिका

प्राेप्राईटर : माेहनप्रसाद अधिकारी 


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...