लघुकथा : माइतीकाे साँचो
✍️ मुरारीराज मिश्र
दराजमा सामान मिलाउँदै गर्दा सुजयाकाे आँखा एउटा साँचाेमा पर्यो । साँचाे हातमा लिँदै गर्दा उनकाे अगाडि आधा महिना अघिमात्र बित्नुभएकाे आमाका यादहरु झल्लली आउन थाले ।
"तिमीहरू दिनभरि घरमा हुन्नाै, काेही आएर बाेलाए पनि म कान त्यति नसुन्ने र हिंड्न नसक्ने भएकाले ढाेका खाेल्न सक्दिन । त्यसैले, मूलढाेका र भित्री रेलिङ गेटकाे एकएक वटा साँचो बनाएर सुजया दिदिलाई दे है बाबु ।" सुजयाकी आमाले आफ्नो छाेरा सुनिललाई यसरी अह्राएपछि भाइले साँचो बनाएर दिएकाे थियाे । जसले गर्दा चाहेको बेला आमालाई भेट्न सजिलो भएको थियाे ।
याे कुरा स्मृतिमा आउनासाथ उनको मनमा माइतीकाे ममता उर्लेर आयाे । साेचिन्, बाह्राैं दिनमा आमाको क्रियाकर्म सकेर फर्केकाे । माइतीकाे न्यास्राे लागेको छ । भाइबुहारीसंग भेटघाट भएपछि न्यास्राे पनि मेटिन्छ । आजसम्म भाइकाे क्रियाबिदा नै भएकोले गएर भाइलाई भेट्छु । ढाेकाकाे साँचाे पनि दिनु छ ।
माइतमा पुग्दा मूलढाेकामा ताल्चा लागेको थियो । उनले भाइलाई फाेन गरिन् । उसले आफू बाहिर गएकाे र फर्कन एकघण्टा जति लाग्ने बतायाे । "ठीकै छ भाइ, म संग साँचो छँदैछ, त्यतिन्जेलसम्म ताल्चा खाेलेर बस्दै गरुँला नि ।" सुजयाले साँचाे सुम्सुम्याउँदै भनिन् । उताबाट भाइकाे जवाफ आयाे - "दिदी, के पर्ला कसाे पर्ला भनेर हामीले ढाेकाकाे ताल्चाहरु फेरिसक्याैं त !"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment