मुक्तकहरु - ३

#मुक्तक

तिम्रा लागि नयाँ फेवा नयाँ रारा बनाई दिन्छु

तिम्रा लागि बेग्लै आकाश जुन तारा बनाई दिन्छु

एकपटक मात्रै भन, प्रेमले मलाई "मेराे राजा"

ताजमहल, रानीमहल, सारा का सारा बनाई दिन्छु



केही छिन फुर्सद निकालेर, सम्बन्धहरु गाेड्नु छ

बगैंचाभरी उम्रेका, झारपातकाे वर्चस्व ताेड्नु छ

जति ढिला गर्‍यो उति, नाश हुने देखियो मलजलकाे

अबदेखि सुगन्धहीन, बिरुवा राेप्ने बानी छाेड्नु छ ।


आफ्नै मान्छे बेकारमा भड्किन सक्छ

खाँदा खाँदै घाँटीमा हड्डी अड्किन सक्छ 

दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै

नभरेकाे बन्दुक पनि अचानक पड्किन सक्छ। 

(वैजयन्तीमा प्रकाशित


झर्काेफर्काे गरेपनि
कर्के आँखा तरेपनि
झन्‌झन् राम्रो लाग्दाे रैछ
रिसाउँदै पर सरेपनि ।


पीरै पीरकाे रापले सुक्नु नपराेस्

देख्छन् कि कसैले भनी लुक्नु नपराेस्

खुशी खुशी बाँच्न पाईयाेस् स्वाभिमानी भै

जिन्दगीमा कसै सामु झुक्नु नपराेस् । (वैजयन्तीमा प्रकाशित)



सहन्छिन् जे परे पनि, धर्ती स्वरुप हुन् आमा

माग्दिनन् कहिल्यै दिन्छिन् संधै वृक्ष स्वरुप हुन् आमा 

शब्द नै पुग्दैन खै के उपमा दिउँ म आमालाई 

चाहे मानिस हाेस् या पशु, देवी स्वरुप हुन् आमा ।


हुतिहाराहरु डराएर लुक्दैछन्

स्वाभिमानीहरु आदरले झुक्दैछन्

मस्त चालमा निर्धक्क भै हिंड्दैछ उ

आरिसेहरु पछि लागेर भुक्दैछन् !


शान्तिपूर्वक बाँच्न पाईयाेस्, कुनै त्रास नहाेस्

राेगब्याधि र कलहकाे, घरमा बास नहाेस्

सहयोग गर्न सकियोस् अरुलाई पेट काटेरै बरु

निहुरिन नपराेस् अरुसँग, कसैकाे आश नहाेस् ।


मनभरी चाहनाहरुकाे रास छैन

भराेसा छ आफैंंमा, कसैको आस छैन

पहिलेको भन्दा राम्रो हाेस् दाेस्राे पाइला

यही छ आकांक्षा, अरु केही खास छैन ।


जब जीवनमा, पीडारुपी थाेपाहरु जुट्छ
असह्य वेदनाले, मनलाई नराम्ररी चुट्छ
सहन सकुन्जेल सम्म, किन पाे रुन्थ्याे काेही!
मुटु नै चर्केपछि मात्रै, मान्छेकाे भक्कानाे फुट्छ !


राप देखिन्न हेर्दा, भित्र आगाे बलेकाे हुन्छ
सहनशीलता र धैर्यता, प्रचुर भरिएको हुन्छ
सुगन्धित पार्छ सम्पूर्ण घर, आफू जलेर पनि
त्यही अगरवत्ती झैं स्वभाव, नारीको पनि हुन्छ ।


जीवनभर अवहेलना झेल्दै, जब उ मर्‍यो
मरेको तेह्राैं दिनमा, नसाेचेकाे चिठ्ठा पर्‍यो
ज्यूंदाेमा, छिंडीकाे चिसो भूईंमा सुताउने छाेराले
बाबुको लागि भनेर, लाखौं पर्ने शैय्या दान गर्‍यो ।


जति धेरै गाली,

उति चर्काे ताली,

जस्ता हाम्रा नेता

उस्तै छाैं नेपाली !


अहमताले धुरी चढिसकेपछि

वचनरुपी छुरी गढिसकेपछि

सामीप्यताकाे के अर्थ हुन्छ हजुर ?

मनभित्रकाे दुरी बढिसकेपछि !(वैजयन्तीमा प्रेषित)


विना कसुर खाेट लगाएर गयाै

काेमल मुटुमा चाेट लगाएर गयाै

जिन्दगीको बगैंचामा फूल उखेलेर 

घृणाकाे बिषालु बाेट लगाएर गयाै


काट्मारकाे कुरा गर्दा, हाैस्याउँछ समाज 

मेलमिलाप गराैं भन्दा, लाछी ठान्छ समाज

परपीडामा रमाउने, बानी परेर पाे हाे कि !

लडेको मान्छे उठाउँदैन्, उल्टै हाँस्छ समाज ।


कहिल्यै काम नलाग्ने ठाँडाे भाे

कार्यकर्ता थन्क्याउने भाँडाे भाे

व्यवहार देख्दा यस्तो लाग्दैछ

संघियता देशकाे लागि घाँडाे भाे !


बलिया हुन् या निर्धा, सबैलाई समान ठान्नुपर्‍यो 

सहभावले जीवन सजिन्छ, याे तथ्य मान्नुपर्‍याे

याैटै हातले त कैल्यै पनि, ताली बज्दैन हजुर !

लिन मात्र होइन उसैगरी दिन पनि जान्नुपर्‍‍याे ।।


बर्षाैंदेखि ठडिएकाे, शालिक ढल्दैछ

लाग्छ, देशमा असन्तुष्टिकाे आगाे बल्दैछ

राजा हटायाैं हामीले, भन्दैथे उनीहरू !

आज फेरि देश, हुकुम प्रमाङ्गीले चल्दैछ ।


न अचानाेले, आफुमाथिकाे प्रहार राेक्न सक्छ

न त तराजुले, आफ्नो ताैल आफैंले जाेख्न सक्छ

पीडा, गुनासो र व्यथा सबैको आआफ्नै छ यहाँ

जति चाहेपनि, न त समुन्द्र कतै बग्न सक्छ !!

 

झुठकाे धरहरा अग्लिन्छ मात्रै, टिक्दैन 

सत्य निकै महँगो छ, बजारमा बिक्दैन 

सुनको मृग खाेज्दा, बिजाेग भयोे रामकाे

याे कुराबाट मान्छेले, किन केही सिक्दैन !

जवानी र सम्पत्तिको मातले मर्नुपर्छ भन्ने बिर्सियाे

उचाइमा संधै रहिन्न तल झर्नुपर्छ भन्ने बिर्सियाे

पारी पुगेपछि, सहारा दिने लठ्ठी फालिदियाे मान्छेले 

जिन्दगीमा फेरि पनि त खाेला तर्नुपर्छ भन्ने बिर्सियाे ।

(सानुराजाजीलाई प्रेषित)


यसपाली त साहुकाे ऋण, तिराैंला भन्ने लागेकाे थियाे

बन्दकी राखेको लालपुर्जा, निखन्ने आशा जागेको थियोे 

तुषारापात भए सबै चाहना, अचानक खडेरी परेर 

जबकि उसले भगवान्‌संग आशीर्वाद पनि मागेको थियोे ।


काेही भन्छन्, झुक्नु हुँदैन हेपाइमा परिन्छ

कमजाेर ठानी त्यस्तालाई भेद्‌भाव गरिन्छ,

झुक्नु खराब पक्कै पनि हुन्न सबै ठाउँमा

इनारमा झुकेपछि नै त बाल्टिन भरिन्छ ।


कसैलाई पीडा हुन्छ, आफ्नै दु:खले 

कसैलाई पीडा दिन्छ, अर्काकाे सुखले 

यसाे हेर्दा, सुखी त भेटिएनन् काेही पनि

चिन्तामै देखिए सबै, चाहे जे भनुन् मुखले ।


कहिले नबाेल्ने ब्यापारी साथी, एक्कासी बाेल्न आयाे,

बाल्यकालका कुराहरु, एकएक गरि याद दिलायाे,

साेचें, कसरी परिवर्तन भयाे साथी, फेरि झट्ट सम्झेँ 

सायद, म भन्सारमा सरुवा भएको उस्ले थाहा पायाे !


मायामा अलिकति लज्जा मिसाएपछि
नजिक डाक्दा आँखा तर्दै रिसाएपछि
स्वर्गकाे चाह पनि हुन्न रैछ हजुर
उनको अङ्‌गालाेमा शिर बिसाएपछि ।


शिरमाथि सिउँदाेमा राताे सिन्दुर भरेपछि

अनेक बहाना बनाएर थाेरै नजिक सरेपछि

नपिए पनि नशा त्यसै मात्तिंदाे रहेछ मन

झन् उसैमाथि ओठ टाेक्दै कर्के आँखा तरेपछि ।



कतै गमलाभरि धान राेपेर, कृषि क्रान्ति गर्दैछन्

बीउ मासेर माला लगाएका रमिते देखा पर्दैछन्

राज्यका हर्ताकर्ता नै नाैटङ्‌कीमै रमाएकाे मेराे देशमा

अरुको पेट भर्ने सच्चा किसान, भाेकभाेकै मर्दैछन् ।


स्वार्थका लागि, प्रशंसाकाे डाेरी बाट्दैछु 

ईमान्दार छु भनि, आफैंलाई ढांट्दैछु 

नैतिकता र सत्यकाे बाटाे चट्टै छाेडी

नेताका पैताला र मलद्वार चाट्दैछु ।


कहिलेकाहीँ अनायासै मात्तिन्छ मन

बिनासित्ति कहिलेकाहीँ अात्तिन्छ मन

आफन्त भनाउँदाहरुका ब्यवहार देखेर

कहिलेकाहीँ त्यसै त्यसै च्यात्तिन्छ मन !!


फाटेकाे मन, अलिकति सिलाउनु थियाे

हिसाब किताब, अलिकति मिलाउनु थियोे

वहानाहरु चाहे जे-जस्ताे बनाए पनि

हाम्रो उद्देश्य, पिउनु पिलाउनु थियोे ।


संधै सहजरूपमा चल्दैन जिन्दगी, बाधाहरु आउने गर्छ

जीवनकाे स्तर कहिले माथि, कहिले निकै तलतिर झर्छ

बाँच्ने कला सिकाउने पाठशाला हुन्, दु:ख र समस्याहरु

परि आउने अवरोधलाई, अवसर बनाउँदै बढ्नुपर्छ  ।


जनताले याे सत्यलाई अब प्रष्ट रुपले जानुन 

हामी प्रहरी, न्यायाधिकारी, अनि हामी नै हाैं कानुन 

द्विविधा राख्नु हुन्न है कसैले हामी नेता मिलेपछि 

हाम्राे बाेली नै फैसला हाे र याे सबैजनाले मानुन ।


खै, कहाँनेर भूल भाे

आँखा, आँसुको मूल भाे

सबैजना पारी पुगे मै माथि चढेर

मेराे जिन्दगी भने, मात्रै एक पुल भाे ।


भाड मे जाए देश, मात्रै सत्ता र कुर्सीमा ममता छ

कुरा एकजनाकाे हाेईन, सबैमा यही समता छ  

नतमस्तक हुनैपर्छ नेताका पाचन शक्तिप्रति

हाँसेरै लाज पचाउने उनीहरुमा अद‌्भूत क्षमता छ !!


याैटै कामको लागि पटकपटक सडक खनिन्छ

शायद, यसैलाई विकास भनेर भनिन्छ !

चुपचाप सहनुपर्छ धुलाे र खाल्डाखुल्डी 

प्रश्न गर्ने मान्छे विकास बिराेधीमा गनिन्छ !!


पेटमा अमृतकुण्ड भएपनि रावण अजम्बरी भएन

कठिन मृत्युशर्त हुँदाहुँदै हिरण्यकशिपु ज्यूंदाे रहेन

यस्तै नियति भाेग्नुपर्‍याे बलशाली कंस कर्ण दुर्याेधनले

बलवान् छ समय यस्काे सामु कहिल्यै कसैको जाेर चलेन ।


जाे नमान्नुपर्ने छ उसलाई गुरु मान्छ

मान्नुपर्ने मान्छेकाे झुक्याएर खुट्टाे तान्छ

ए हजुर ! सबै आआफ्नो विवेककाे कुरा हाे

चाेरले त चन्द्रमालाई पनि शत्रु ठान्छ !


निराश मनभरी आशाको फूल फुलाउँछ

पीरकाे बेला भराेसाकाे पिङमा झुलाउँछ

अचूक ओखती हाे मन्द-मन्द मुस्कान तिम्राे

दिनभरिकाे मेरो पीडा, थकान भुलाउँछ !

(प्रहरीमा प्रकाशित २०८१ असार-साउन)



मातिएकाे छ शासक, बाेलेमा जिब्रो थुतिदिन सक्छ

केही सुनाैं त, षड्यन्त्र भन्दै कान थुनिदिन सक्छ

मान्छे संधै त्रासमा हुने, खै कस्तो समय आयो कुन्नि 

यिनका नग्न नृत्य, नहेराैं त आँखा फाेडिदिन सक्छ ।


एउटाको पीडाले अर्काेलाई छुँदैन
आफैं रुनुपर्छ अरु कसैले रूँदैन
सुन्दा मात्रै राम्रो हाे मानवताका कुरा
अप्ठ्यारो समयमा काेही आफ्नो हुँदैन ।


खै, किनकिन मुटुको धड्कन बढ्याे

लाग्छ, समय एकाएक टक्क अढ्याे

याे माैसमकाे असर हाे कि तिम्रो साथकाे, 

नपिए पनि मनभित्र नशा चढ्यो !!


एकातिर नदीकाे उर्लँदाे भेल, अर्कोतिर ठूलो भिर छ

'किन बनेन खाेलामा पुल', यही कुराले मन अधिर छ

हेलिकप्टर चढेर गाउँ पस्छन् चप्पलछाप नेताहरु

छाेराछाेरी नफर्कलान् कि घरमा, जनतामा यही पीर छ ।

रहस्य साप्ताहिक २०८०-०१-२१


महँगो हुँदैछ मानवता, सस्ता छन् घातहरु

कष्टकर उज्यालो भन्दा, प्यारा भए रातहरु

बिरामी हुँदा सहयोगमा, जुट्दैनन् काेही पनि

समवेदना लेख्न भने, हतारिन्छन् हातहरु ।।


उज्यालो पार्न नसकेपनि जुनकीरी बल्न छाेड्छ र !

बादलले जति ढाकेपनि सूर्य उदाउन छाेड्छ र !

असल कार्य गर्दै जानुस् कसैले साथ नदिएपनि

रुखले, हाँगा काटे भनेर अक्सिजन दिन छाेड्छ र !!

(प्रहरी २०८० पाैष-माघमा प्रकाशित)


लामा-लामा लाग्न थाले, अचेल रातका प्रहर पनि

के भएको हाे खै मनभित्र, केही छैन जाँगर पनि

बस्तीकै बिचमा छु, मान्छेहरु पनि बस्छन् समिपमा

तैपनि खै किन-किन, शून्य-शून्य लाग्दैछ घर पनि !!

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...