लघुकथा : ज्याेतिष
✍️ मुरारीराज मिश्र,
"यसाे छाेरा-छाेरीकाे चिना टिपन देखाउँ कि भनेर आएको, पसल सबै भद्रगोल छ त गुरु ! के भयाे ?" रमेशले माेटरसाईकल राेक्दै भन्यो ।
"के हुन्थ्यो हजुर, गरि खान नदिने भए ! नगरपालिकाबाट आएकाे डाेजरले टहराकाे सटर भत्काएर गयाे । सबै सामान हटाएर टहरा १ फिट पछाडि सार्नु भनेका छन् ।" पूजासामाग्रीकाे पसल चलाउँदै आएका ज्याेतिषकाे काम समेत गर्ने प्रकाशगुरुले भुत्भुताउँदै भने ।
"टहराले बाटो मिचेकाे जस्तो त देखिन्न ! किन भत्काएछन् त !" भन्ने रमेशकाे जिज्ञासामा गुरुकाे भनाइ आयाे "आफ्नै जग्गामा बनाएकाे हाे नि । बाटाेकाे मापदण्डअनुसार ३ फिट जग्गा छाेड्नुपर्नेमा २ फिटमात्र छाेडियाे रे ! सक्नेले खाेलाकाे बगर, बाटो र सार्वजनिक जग्गा मिचेर बिल्डिङ ठडाएका छन्, हामी निर्धाले भने आफ्नै जग्गा पनि भाेगचलन गर्ने नपाउने । याे कस्तो मत्स्य न्याय हाे खै, क्यै बुझिएन हजुर !"
प्रकाश गुरुकाे भनाइपछि, निजकी पत्नी निर्मला, जाे यतिबेलासम्म सामान मिलाउँदै चुपचाप दुबैकाे सम्वाद सुनिरहेकी थिइन्, उनले पतिको मुख हेर्दै भनिन् "सरकारले ठाउँ ठाउँमा घरटहरा भत्काउँदैछ । हाम्रो टहरा पनि भत्किने हाे कि भनेर मैले त केही पहिलेनै भनेको हाे नि, तर हाम्रो केही हुन्न भनेर तपाईंले कानमा बतास लगाउनु भएन ! बेलैमा साेचेकाे भए अहिले यस्तो क्षति व्यहोर्नुपर्ने त थिएन ! खुबै ज्याेतिषी हेर्दै अर्काको भविष्य बताउनु हुन्थ्यो नि, आफ्नै भविष्य चाहिँ आफैंले थाहापाउनु भएन छ त !!"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं- ७)
Comments
Post a Comment