लघुकथा : मध्यरातमा बाघ
✍️ मुरारीराज मिश्र,
`बहिनी आउने शुक्रबार सार्वजनिक बिदा परेको छ, यसाे एकरातकाे बसाइ गर्दै जाउँ न कतै घुम्न ! कति घरमै काेच्चिएर बस्ने, के छ बिचार ?´ रमाले छिमेकी उषासंग भनिन् ।
`हुन्छ नि दिदी, म प्रमिला र सुषमालाई पनि भनेर हामी चारजनाकाे जाेडी कुनै रिसाेर्टतिर जाने कार्यक्रम मिलाउँछु ।´ उषाले उत्साहित हुँदै जवाफ फर्काइन् ।
तदनुरुप कार्यक्रम बन्याे । चारदम्पत्ती निर्धारित रिसोर्टमा पुगे । जङ्गल छेउ खाेलाकाे किनारमा रहेको रिसोर्ट रमणीय थियोे । खानपिन, नाचगान भयाे । गर्मिकाे समय भएकाले राति रिसोर्ट कम्पाउण्डमा रहेकाे सिङ्गल टेण्टमा एकएक जना सुत्ने ब्यवस्थापन भयाे । थाकेकाले सबै मस्त निदाए ।
मध्यरातमा आफ्नो टेण्टबाट केही परबाट आईरहेकाे आवाजले रमा ब्यूंझिईन् । जङ्गल नजिकै बसाइ, यदाकदा राति जनावर पनि आउने गर्छन् भन्ने सुनेकोले, उनकाे मनमा हल्का डर पस्याे । निन्द्राकाे लठ्याईले पुरै नछाेडेकाे र आवाज पनि लगातार सुनिन थालेपछि रमाले डराएर श्रीमान्लाई फाेन गर्दै भनिन् `नजिकै चितुवा हाे कि बाघकाे आवाज आएझैं छ । मलाई डर लाग्याे, सबै उठ्नु पर्यो हजुर !´
`कहाँको चितुवा र बाघ हुनु, त्याे उषाकाे बुढाे एकघण्टादेखि घुरेकाे घुर्यै छ´ श्रीमान्ले हाँस्दै भने ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment