लघुकथा: जन्ती
✍️ मुरारीराज मिश्र
`छाेराकाे बिहे छ, तपाईं त जसरी पनि जन्ती जानैपर्छ है !´ छिमेकी सुन्दरले यसरी नै पटकपटक गरेको आग्रहलाई टार्न नसकेर जन्ती जान तयार भईयाे । पूर्वतर्फ निकै टाढाकाे यात्रा थियोे । त्यसैले दुईवटा बस र एउटा कारमा गरी दुलाहा सहित करिव पचपन्न जना जति हामी बिहान सबेरै निस्कियौं ।
जन्तीमा दुईचारजना छिमेकी बाहेक अधिकांश दुलाहाका आफन्त र नातेदार नै थिए । हामी अघि बढ्दै गयाैं । बिहान आठबजेतिर एउटा हाेटेलमा चियानास्ता गराउन बस राेकियाे । `नास्ता अर्डर गर्नुपर्यो, तपाईंहरु चियासंगै के-के खाने´ सुन्दरले जन्तीलाई साेधे । एक त जन्ती त्यसमा पनि आफन्त नातेदार के चाहियाे ! बसबाट ओर्लेर हाेटेलमा भएको सामानहरु माग्दै ईच्छा भाेजन गर्न थाले । कसैले त चिया लगत्तै काेकफेन्टा समेत पिउन भ्याए भने कतिले दिउसाेकाे लागि जाेगाड समेत गरे । म जिल्ल परेर लखनाैं लुट हेरिरहें । सुन्दरले असहज मान्दै रकम तिरे ।
`अब त खाना खाने बेला भयाे है, राम्रो हाेटेल हेरेर बस राेकाैं´ नास्ता गरेको दुईघण्टा नै नबित्दै दुलाहाकाे फुपाजु कराए । केही पर बस राेकियाे । यहाँ पनि जन्तीकाे चाला फेरिएन । माछामासु लगायत जे-जे पाईन्छ लिएर खान थाले । सुन्दर हाेटेलमा हिसाब गर्दै थिए, उनकाे सालाे आएर `ज्यादै गर्मी छ भिनाजु, दिउसो सबैलाई प्यास लाग्न सक्छ´ भन्दै फ्रुटी र पानी पाँचपाँच दर्जन बसमा हाल्न लगायाे । यसै माैकामा उसले `बिजुली पानी´ का केही बाेतल पनि हाल्न भ्याएछ । सुन्दरले रुञ्चे हाँसाे हाँस्दै रकम तिरे ।
यस्तै प्रकारले दिउसो खाजा खाने काम भयाे । त्यसपछि पनि पटकपटक चियापान र साँझमा राम्रै नास्तापानी भयाे । बेहुलीकाे घर आउन अब करिव दुईतीनघण्टाकाे बाटो बाँकी थियो । `भाेक लाग्याे, भात खाने´ भन्दै सुन्दरकाे भतिजो करायाे । धेरैले हाे मा हाे मिलाए । संगै सिटमा बसेकाे मैले सुन्दरकाे मुख हेरें । उनले लामाे सुस्केरा हाल्दै मेराे कानमा साउती गर्दै भने `हेर्नुस् त, आफन्त र नातेदारका चाला ! कसरी ब्यवहार गर्दैछ हाेला भनेर सक्दाे सहयोग गर्नु त परै जाओस्, कहिल्यै खान नपाएजस्तो गरी खानै मात्र परेको छ यिनलाई ! के गर्नु,नातागोता चिढाउन भएन ! आफ्नाकाे पहिचान यस्तै बेलामा हुने रहेछ !´
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment