लघुकथा : चुरा
✍️ मुरारीराज मिश्र,
`हिजाे विद्यालयको वार्षिकोत्सबमा नाचगान गर्न भनेर छात्राहरुले नक्कली गहनाहरु भाडामा ल्याएका थिए । तीमध्ये दुईवटा चुरा र पाउजेवहरु यतै हलमा छाेडेर गएछन् । पसलेले सामान खाेजेर ल्याउ नत्र तिमीहरूले पैसा तिर्नुपर्छ भनेको छ रे ! तपाईंहरुले हलकाे सफाइ गर्दा भेट्नु भयाे कि !´ प्रधानाध्यापक रुक्मिणीसंगै उनको कार्यकक्षमा रहेका लेखापाल रमेशले विद्यालयका सहयाेगीहरुलाई साेधे ।
`ए, त्याे विद्यार्थीले नाच्न ल्याएका गहना पाे रैछ ! पाउजेव त हैन, दुइटा चुरा चाहिँ मैले भेटेर राखेको छु सर । म गएर ल्याईहाल्छु ।´एकजना सहयोगीदाइ अनुहारमा बेग्लै भाव ल्याउँदै काेठाबाट निस्किए । सहयाेगीहरु बाहिरिएपछि प्रधानाध्यापक रुक्मिणीले लेखापालसंग केही भन्न लाग्दै थिईन्, सहयाेगीदाइ चुरा लिएर आईपुगे । प्रधानाध्यापकले हतारहतार चुरा लिंदै भनिन् `हाे यै हाे ! सामान भेटियो, तपाईंलाई धेरै धेरै धन्यवाद दाइ । ल अब जानुस्, आफ्नो काम गर्नुस् ।´
सहयोगी दाइ निस्के । उनी काेठाबाट बाहिरिनासाथ, खुशी हुँदै प्रधानाध्यापकले लेखापाललाई भनिन् `तपाईंले नक्कली गहनाकाे याे तरिका नअपनाउनु भएको भए, मैले हिजाे बिर्सेर छाेडेकाे तीन ताेला सक्कली सुनका यी दुईटा चुराहरु शायद आज नभेटिन पनि सक्थे सर !´
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment