लघुकथा "प्रश्न"
✍️ मुरारीराज मिश्र,
"तिमीले गाउँमा एउटा क्रियापुत्री भवन बनाउनका लागि सहयोग जुटाउन सकिन्छ कि भनेर भनेका थियाै नि, मैले त्यसबारेमा मेराे कम्पनीको बाेससंग कुरा गरेकाे थिएँ । उनीबाट त्याे भवन बनाउन सहयोग गर्ने वचन पाएकाे छु । सानैमा केही महिना नेपालमा बसिसकेकाले पनि नेपालीका लागि केही गर्ने बाेसकाे साेच रहेछ । हामी त्यही कामका लागि अर्को हप्ता नेपाल आउँदै छाैं है !"
विदेशबाट साथी रमेशले पठाएको उक्त व्यहाेराकाे इमेल प्राप्त गरेपछि दिनेश उत्साहित भयाे । उसले तत्कालै गाउँको टाेल विकास समितिलाई जानकारी गरायाे । टाेलमा छलफल भएर क्रियापुत्री भवन बनाउन सहयोग गर्न चाहने विदेशीलाई स्वागत र निर्माणकार्यमा सहजीकरण गर्न भनेर दिनेशकै अध्यक्षतामा एक्काईस सदस्यीय सर्वपक्षीय समिति बन्याे ।
निश्चित दिनमा रमेश र उसको कम्पनीको बाेसकाे आगमन भयाे । समितिले विदेशी दातालाई भवव्य स्वागत गर्यो । समितिका अध्यक्षकाे नाताले दिनेशले दातालाई समितिका सदस्यकाे एकएक गर्दै परिचय दिंदै भने - उहाँ एमालेकाे प्रतिनिधि, उहाँ काँग्रेसकाे, उहाँ माओवादीकाे, उहाँ राप्रपाकाे, उहाँ रास्वपाकाे, उहाँ जनमाेर्चाकाे, उहाँ ........!"
झिंझाे मान्दै सबैकाे परिचय सुनिसकेपछि विदेशी दाताले रमेशलाई हेर्दै सबैले सुन्नेगरि भने - "मैले पार्टी बिशेषका लागि नभई, नेपाली जनताकाे परम्परागत संस्कृति र रीतिरिवाजकाे संरक्षण गर्नमा पाे सहयोग गर्न खाेजेकाे हुँ ! तर मैले यहाँ पार्टीका मान्छे मात्रै देखें ! वास्तविक नेपाली जनता चाहिँ कता छन् त खै रमेश !"
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment