लघुकथा: "प्यास"

        ✍️ मुरारीराज मिश्र,

पूर्वनिर्धारित कार्यक्रम अनुसार केही दिनकाे तीर्थयात्राकाे हामी छब्बीस जनाकाे टाेली घरबाट निस्कियाैं । यात्रा ब्यवस्थापकले पानीको ब्यवस्था आ-आफैं गर्नुस् भनेकाे सम्झी मैले बाटोमा बस राेक्न लगाएर दस कार्टुन पानी किनें । `धर्म गर्न हिंडेकाे मान्छे, कहाँ तपाईंको मात्रै खानु बाबुु ? म पनि किन्छु ।´ भन्दै छिमेकी दिदीले अर्को दस कार्टुन पानी थप्नुभयाे ।

`लाै बधाई छ, पानी खुवाएर तपाईंहरुले सबै धर्म लुट्ने भईहाल्नु भाे ।´ एकजना सहयात्रीले हाँस्दै भने । `माैका आईहाल्छ, त्याे बेला तपाईं पनि लुट्नु हाेला नि त !´ म‌ैले जवाफ फर्काएँ ।

बातावरण हल्का गर्मी भएकाले पानीको ब्यवस्थाबाट सबैलाई राहत मिल्याे । यात्रा अघि बढ्दै गयाे । निश्चित ठाउँमा खानाको लागि राेकियाैं । बस चढ्न लाग्दा खाना खाएको ठाउँको वरिपरि आधा पानी भएका बाेतल यत्रतत्र देखिए । बसकाे भूइंमा पनि आधा पानी भएका बाेतल त्यसरी नै छरिएका थिए । मैले छरपस्ट बाेतल उठाएर जम्मा गरें । तर जुठाे हुन्छ भनेर त्याे कसैले खाएनन् । प्यास लाग्दा उनीहरू पुन: भरिएकै बाेतल झिक्थे र अलिकति खाई बाँकी त्यतिकै छाेडिदिन्थे ।

सहयात्रीहरुकाे याे ब्यवहार मलाई पटक्कै मनपरेन । यात्रा ब्यवस्थापक दाइले मलाई नियालिरहेका रहेछन्, उनले नजिकै आएर मसंग बिस्तारै भने `मैले यात्रामा पानीको ब्यवस्था गर्न छाेडेकाे यही कारणले हाे हजुर, आधाभन्दा बढी पानी त यसरी नै बेकारमा खेर जान्छ !´

जथाभावी फालेपछि कति टिक्थ्याे र ! सुरुमा किनेकाे पानी सकिएकाेले चाहिंदा आफैंले किन्नुपर्ने भयाे । चिया खाँदै गर्दा ब्यवस्थापक दाइले मलाई हाँस्दै भन्नुभएकाे थियोे `मानिसमा प्यास भन्ने कुरा कस्ताे हुन्छ भन्ने अब पाे देख्नुहुन्छ तपाईंले !´ नभन्दै यसपछि भने रमाइला दृश्य देखिन थाले ! दिनमा कैयौंपटक पानीका सिङ्‌गै बाेतल खाेल्नुपर्ने मानिसहरुकाे हातमा साँझसम्म पनि बिहान किनेकै एकलिटरका बाेतल रहेको देखिन्याे र त्याे पनि पानी नसकिएको अवस्थामा !
(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...