लघुकथा: प्रेसरकुकर
✍️ मुरारीराज मिश्र
`आमा-आमा, ठूलाबा बित्नुभयाे रे !´ छाेरा सुनिलले आत्तिएकाे स्वरमा भान्छामा आएर खबर सुनायाे । `हैन के भन्छ याे ?´ प्रेसरकुकरमा चल्दै गरेका जमुनाका हात एक्कासी राेकिए ।`गाउँबाट भर्खरै सुनिता दिदीले फाेन गरेर भन्नुभएकाे क्या आमा !´ भन्दै छाेरा तल ओर्लियाे ।
आज बिदाको दिन, मज्जाले खाउँला भनेर खसीको दुई किलाे मासु ल्याई पकाउँदै थिईन् उनी । प्रेसर कुकरकाे बिर्काे लगाउनै लाग्दा आईपरेकाे अवस्थाले जमुना के गराैं कसाे गराैं काे स्थितिमा परिन् । जुठो परिसक्याे, अब पकाउनु पनि कसरी ? खान मिल्ने हाेईन् ! त्यत्रो पैसा परेकाे छ, फालाैं पनि कसरी ! कसैलाई दिउँ भने जुठो परेको घरकाे अरुले खाँदैनन्, त्यसमाथि मासु !! न गाईको थुनमा न बाच्छाकाे मुखमा भने झैं अब मासु खेरै जाने भाे ! उनी साेचमग्न बनिन् ।
केही पर माइती थियोे । उनले भाउजुलाई फाेन गरि समस्या सुनाईन् । `आफ्नाकाे जुठाे परेको छ, राम्रोसँग बार्नु पर्छ है ! नत्र पितृले पिर्छन् । अनि सुन्नुस् त नानी, त्यत्रो पैसा परेको कुराे किन फाल्नु र ! म छाेरालाई पठाउँछु, मासु सहित प्रेसरकुकर यता पठाईदिनु हाेला !´ फाेनमा भाउजुकाे प्रफुल्ल आवाज सुनियो ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment