लघुकथा: परिवन्द
✍️ मुरारीराज मिश्र,
`याे लेखाइ म चिन्छु । याे त रमेशकाे अक्षर हाे´ कमल सरले भने ।
याे सुनेर प्रधानाध्यापक लगायत सबैकाे अनुहारमा प्रश्न वाचक भाव देखियोे ।
`पक्कै हाे र सर, कसरी चिन्नु भाे ?´ प्रधानाध्यापकले साेधे ।
`उ मेराे छिमेकी भाइ हाे । उसले लेखेका धेरै साहित्यिक रचनाहरु मैले पढेकाे छु । त्यसैले मलाई पक्का छ, याे लेख्ने रमेश नै हाे सर ।´ कमल सरले ठाेकुवा गरे ।
कमल सरकाे यस्तो कुरा सुनेपछि, आफूलाई कसैले प्रेमपत्र दिएकाे भन्ने कक्षा १० की छात्राकाे उजुरीका बारेमा शिक्षकहरुसंग छलफल गर्दै गरेका स्थानीय विद्यालयका प्रधानाध्यापकले सहायक प्रधानाध्यापक रामेश्वर र कमल सरलाई आफूसँग आउन अह्राएर रमेशकाे घरतिर लागे ।
घरमा पुगेर कमलले रमेशकाे दाजुलाई आफूहरू आउनुको कारण बताए । रमेशलाई डाकियाे । प्रधानाध्यापकले रमेशलाई गाली गरे ।
`तपाईंले भन्नुभएको केटीलाई म चिन्दिन सर, र मैले उसलाई पत्र लेखेको पनि छैन´ रमेशले प्रतिवाद गर्यो ।
प्रधानाध्यापकले पत्र देखाए । आफूले लेखेको प्रेमपत्र देखेपछि रमेश एकछिन जिल्ल पर्यो । केही सम्झियाे अनि हाँस्दै भन्याे `ए, त्याे लन्ठु श्यामेले मलाई लेख्न लगाएको प्रेमपत्र त्यता दिन पाे रहेछ ! माफ गर्नुस् सर, याे प्रेमपत्र मैले लेखेको त हाे, तर आफ्नो लागि चाहिँ हाेईन है ।´
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)
Comments
Post a Comment