लघुकथा : बाटो
✍️ मुरारीराज मिश्र
"ए तपाईंले पनि बाटो मिच्नु भा'काे पाे रैछ त ?"
बाटो बिस्तारकाे क्रममा रमेशकाे जग्गा फेरि एकपटक बाटोमा परेकाेले उ साविक पर्खाल भत्काएर वरतिर सार्दै थियोे । एकाएक पल्लो टाेलमा बस्ने टेकनाथकाे हाँसो मिश्रित प्रश्नले रन्थनियाे र बाेल्याे "हैन, मान्छे पनि कस्ताकस्ता छन् हँ यहाँका ? अरुकाे नाेक्सानीमा रमायाे, बुझ्नु न सुझ्नु बाटो मिचेकाे आराेप लगायाे । याे मेराे हकभाेगकाे पुर्ख्याैली निजी जग्गा हाे बुझ्नुभाे !"
"तपाईं त त्यसै रिसाउनु भाे, मेराे आशय त्यस्तो हैन क्या !" टेकनाथले भने ।
"बाबुकाे आशय जेसुकै भएपनि बाेल्दा चाहिँ ढंग नपुगेकै हाे । हामी सानाे हुँदा यहाँ दुईहाते गाेरेटाे बाटो थियोे, अहिले बीसफिटे भयाे । बाटाे बढेकाे, दुबैतर्फका जग्गावालाकै जग्गाले त हाेला नि ! बाबुजस्ता कसैले जग्गा ल्याएर हालेर यहाँ बाटो बढेको त पक्कै हैन हाेला ! बाटाे पटकपटक बढेको बढ्यै छ, रमेशजस्ता मान्छेका जग्गा भने विना मुआव्जा घटेको घट्यै छ ! एकातिर राज्यले बाटोमा परेकाे जग्गाकाे लगत कटाएकाे छैन, बरु उल्टै बाटोमा परेको जग्गाकाे समेत कर उठाईरहेकाे छ । अर्कोतिर जग्गाधनीहरु बिनाकारण भूमाफियाकाे आराेप खेप्न बाध्य छन् !" दुबैकाे सवाल जवाफ सुनिरहेका एक बृद्धले सुस्केरा हाल्दै भने ।
(उमामहेश्वर मार्ग, का.म.पा.७, कुमारीगाल)
Comments
Post a Comment