लघुकथा : #मापदण्ड
✍️ मुरारीराज मिश्र,
हैन काका, के काे छलफल हाे ? सबैलाई चिन्तित देख्छु त ! सबैजना बसिरहेको ठाउँमा पस्दै दिनेशले साेध्याे ।
दशा आइलाग्याे क्या दिनेश बाबु ! छँदाखाँदाकाे घर भत्काउनु पर्ने भाे, बाह्रफिटे बाटो बढेर चाैबीसफिटकाे हुने भाे रे यहाँको ! घनश्याम काकाले भने ।
ए, ठूलै समस्या पाे परेकाे रैछ त ! उसाेभए बाटोकाे सेण्टरबाट दुबैतर्फ छ-छ फिट बढ्दा त तपाईहरु अठार-बीसजनाकै घर/काेठा जाने देखिन्छ ! अब के गर्ने सल्लाह भयो त काका ?
खै बाबु, के गर्ने गर्ने ? हामी त अन्याैलमा पाे छाैं । बाबु यहाँको चल्तापूर्जा मान्छे, अब तपाईंले नै राम्रो सल्लाह दिनुपर्यो !
त्यो त ठीकै छ काका, म प्रयास गरिहाल्छु नि ! भन्दै उसले काकालाई अलि छेउमा लगेर केही साउती गर्यो । काकाकाे मुहारमा चमक आयाे । त्यसपछि उनी छिमेकीहरु तर्फ गए र केहिबेर फुस्फुसाउँदै सल्लाह गरे ।सबै गाउँले हर्षित देखिए । सहमतिस्वरुप टाउको हल्लाए । याे सल्लाह गाेप्य रहाेस् नि काका भन्दै दिनेश फर्कियाे ।
हप्ता दिनपछि बाटाे बिस्तारकाे काम सुरु भयाे । डाेजर ल्याईयाे । सडकको सीमामा जाेडिएकाे सार्वजनिक चाैरमा ढुंगे पर्खाल लगाउने काम गरियो । मापदण्डअनुसार चाैबीसफिटे बाटो बन्यो । सडकपारीका घरहरु उस्तै रहे ! घनश्याम काकाहरुबाट दिनेशले कराेडाैं रकम उठाएर भागशान्ति गरेकाे गाँईगुईँ केही समय चल्याे ।
(उमामहेश्ववर मार्ग, कुमारीगाल, का.म.पा-७)
Comments
Post a Comment